|
फाइल फोटो

काठमाडाैं : मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की २ बाट निर्वाचित नेकपाकी सांसद विद्या भट्टराई अधिकारीको मंगलबार पद तथा गोपनीयताको शपथ हुने भएको छ। विद्याले मंगलबार (भोलि) संसदको कृषि तथा प्राकृतिक स्रोत साधन समितिको सभाहलमा बिहान ११ बजे उपसभामुख शिवमाया तुम्बहाम्फेबाट शपथ ग्रहण गर्नेछिन्। 

‘भोलि विद्या भट्टराई अधिकारीज्यूलाई उपसभामुखज्यूले शपथग्रहण गराउने कार्यक्रम तय भएको छ,’ प्रतिनिधिसभाका सहायक सूचना अधिकारी दशरथ धमलाले भने।

सभामुख नभएको बेला कसले शपथ ग्रहण गराउने भन्‍ने विवाद भइरहेको बेला उपसभामुखले पहिलो पटक प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउन लागेकी हुन्।  संसदको शपथबारे नेपालको संविधानको धारा ८८ मा स्पष्ट उल्लेख छ।

 ‘संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुनबमोजिम  शपथ लिनुपर्ने छ,’ धारा ८८ मा उल्लेख छ। संसदका सदस्यलाई सभामुखले शपथग्रहण गराउने व्‍यवस्था छ।

तर, संविधानको धारा ९१ (४) मा रहेको सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता उपसभामुखले गर्ने  व्यवस्थालाई टेकेर शपथ खुवाउन लागिएको हो।   
गत मंसिर १४ मा देशका ५२ ठाउँमा उपनिर्वाचन भएको थियो।

उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित विद्या भट्टराईबाहेक अन्य ठाउँबाट निर्वाचित सबैले पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। नेपालको संविधानमा संघीय संसदका सदस्यले सदनमा त्यससम्बन्धी कुनै पनि समितिको औपचारिक बैठकमा भाग लिन शपथग्रहण अनिवार्य हुनुपर्ने उल्लेख छ।

आगामी पुस ४ गतेदेखि प्रतिनिधिसभा संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ।    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.