|

इलाम : थ्रीस्टारका भरपर्दा मिडफिल्डर रुपेश केसीले भारतको अरुणाञ्चलमा भएको स्वतन्त्रता कप २०१९ मा स्थानीय क्लबबाट खेल्दै उपाधि दिलाए। भारतमा गएर प्रतियोगिता खेल्ने उनको रहर हैन बाध्यता हो।

सामाजिक सञ्‍जालमा स्टाटस पोष्ट गर्दै दुखेसो पोखे। 'नेपालमै खेल्ने वातावरण भइदिए यसरी असुरक्षित लाहुरतिर किन आउँथे होला र! थोरै भए पनि बधाई हामीलाई अब केही महिना धानिन्छ होला कि?' उनको स्टाटसको आशय थियो खेलाडीहरु बाँच्ने आधार भनेकै यस्तो प्रतियोगिता हो।

लिग लिडर मनाङ मस्याङदीबाट शहिद स्मारक लिग खेलेका इटहरीका प्रवेश दनुवार यतिबेला नेपाल पुलिस क्लबबाट शहिद स्मारक लिगमा छन्। मनाङबाट फुकुवापछि दैनिक चलाउन उनी छिमेकी भारतमा हुने प्रतियोगिता र मोफसलमा हुने स–साना प्रतियोगितामा समेत मैदानमा उत्रिए। २ महिने लिगपछि धेरै खेलाडीको बाँच्ने आधार भनेकै खेप हो।

खेप के हो?

खेप भन्ने शब्‍द विशेष गरेर भारतमा चल्ने गर्छ अर्थात् खेल पारिश्रमिक। जसले धेरै राम्रो खेल्न सक्छ उसले धेरै कमाउन सक्छ। जसले खेल्ने सक्दैन उसको कमाई थोरै।

पूर्व-राष्ट्रिय खेलाडी एवं मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल खेलाडीको बाँच्ने आधार नै खेप भएको बताउँछन्। उनी भन्छन्– ‘यो विशेष गरेर सीमावर्ती दार्जिलिङ, सिक्किम र मिरिक आसपासको क्षेत्रमा बोलिने भाषा हो। जहाँ टिम त हुन्छ तर सेटको हुँदैन छासमिसे खेलाडीहरु मिलाएर खेल्नुपर्दा खेप भन्छन्।’ खेपमा प्रत्येक खेलबापत खेलाडीलाई निश्चित रकम तोकिएको हुन्छ उनीहरूको स्तरअनुसार।

‘भारतमा दैनिकजसो खेल हुन्छ आज एउटाबाट खेल्यो भोलि अर्कोबाट खेल्यो गर्दै जीवन धानेका छन् झापा आसपासका खेलाडीहरुले’ प्रवेश भन्छन्, ‘सीमा क्षेत्रभन्दा टाढा काठमाडौंका खेलाडीहरुको सहभागिता खेपमा कम मात्र हुन्छ। तर, झापाका खेलाडीको बाँच्ने आधार नै खेप हो भन्दा फरक नहोला ’

खेपले बाँचेका खेलाडी

नेपाली फुटबलमा व्यवसायिकताको कमी र नियमित रुपमा लिग नहुँदा खेलाडीको बाँच्ने आधार भनेको मोफसलको गोल्डकप र भारतमा हुने प्रतियोगिताको खेप नै हो। तर, नेपालमा प्रतियोगिता आयोजनाको कुनै टुंगो छैन। गत वर्ष एन्फाले पुस २१ गतेबाट वैशाख २१ गतेसम्म २५ वटा गोल्डकप फुटबलको मिति तय गरेकोमा विभिन्न कारण देखाउँदै आधाले मात्र प्रतियोगिता सम्पन्न गरे।

विभागीय बाहेकका 'ए' डिभिजनका क्लबहरुले प्रतियोगिता दौरान खेलाडीहरुलाई खेल पारिश्रमिकअनुसार सहभागी गराउँछन्। एउटा प्रतियोगितामा एउटा क्लबमा देखिएको खेलाडी अर्को प्रतियोगितामा अर्को क्लबबाट खेलेको भेटिन्छ। मोफसलको सफल क्लबको रुपमा रहेको झापा–११ ले सबै खेलाडी अनुबन्धन गरेको छैन।

खेपकै भरमा खेलाडी

पूर्वको मोरङ, सुनसरी र झापाका खेलाडी खेपका भरमा चलेका छन्। विशेष गरी झापाका खेलाडीले कोलकाता, असाम, पश्चिम बंगाल क्षेत्र, कालिम्पोङ, दार्जिलिङ र सिक्किम लगायतका शहरमा हुने फुटबल प्रतियोगितामा खेप खेल्दै आएका छन्। नेपाली राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर देवेन्द्र तामाङ, विशाल राई, एञ्जल गुरुङ, निरोज बस्नेत, दिलेन लोक्ताम, योगेश गुरुङ लगायतका खेलाडीहरु फुटबलमा खेपकै कारण टिकेका छन्। ‘लिग सम्पन्न भएपछि क्लबले अनुवन्ध फुकुवा गर्छ त्यसपछिको बाँच्ने आधार नै खेप हो’ दनुवार गुनासो गर्छन्।

  झन्डै ५ वर्षपछि लिग भयो त्यसपछि प्रतियोगिताको निरन्तरताको सम्‍भावना न्यून रहँदा खेप नै फुटबलमा टिक्ने आधार रहेको खेलाडीहरु बताउँछन्। खेपले आर्थिक पाटोमा मात्र समर्थन गरेको छैन, उनीहरूको खेल जीवनलाई पनि निरन्तरता दिएको छ। तर, सानासाना प्रतियोगिता दौरान भएका इन्जुरीले भने ठूला र प्रतिष्ठित प्रतियोगिताका लागि समस्या सृजना गर्दै आएको छ। खेपकै कारण झापाका कर्ण लिम्बूको जीवन चलेको छ।

फुटबलमा भविष्य नदेखेर दैनिकजसो खेलाडी पलायन हुँदै गए पनि कर्णले फुटबल खेलेर सानो भए पनि घरसम्म बनाउन सकेका छन्। एक समय कर्णले पनि विदेश भासिने सोच नबनाएको भने होइन तर पछिल्लो समयमा उनी खेप प्रतियोगितामा नै व्यस्त रहन्छन्।

सन् २०१४ पछि राष्ट्रिय टोलीमा स्थान बनाउन नसकेका कर्णको ध्यान नेपाल टिमबाट खेल्नेभन्दा पनि खेप प्रतियोगितातर्फ नै छ। नेपाल र भारतमा हुने फुटबल प्रतियोगिताबाट मात्र वार्षिक पाँच लाख कटाउने गरेका छन्।

वर्षभरि नेपालमै खेल्ने वातावरण चाहियो

व्यावसायिक रूपमै खेल खेलिरहेका खेलाडीहरुको जीवन त शहिद स्मारक लिगपछि खेपकै भरमा चलेको छ। उनीहरूको परिवार धान्ने माध्यम नै खेप हो भन्दा फरक पर्दैन। ‘लिग नहुँदा खेपको भर हो, यसको विकल्प भनेको कि त पेसा परिवर्तन गर्नुपर्यो कि विदेश हानिनुपर्‍यो।’ प्रशिक्षक कटुवाल गुनासो गर्छन् ‘वर्षभरि खेलेर बाँच्ने वातावरण कहिले आउँछ।’ एन्फालगायत खेल सम्बद्ध संस्थाले वर्षभरि खेलेर बाँच्ने वातावरण बनाइदिनुपर्ने उनको माग छ।

देशका २ दर्जनभन्दा बढी गोल्डकप प्रतियोगिता आयोजना हुन्छन्। तर, धेरैजसो प्रतियोगिताको मिति जुध्दा खेलाडीहरुलाई समस्या पर्ने गरेको छ। नेपाली राष्ट्रिय टोली टोलीका एक सदस्यले भने।

‘वर्षभरि प्रतियोगिता खेल्न पाए स्वास्थ्यमा समेत असर पर्ने थिएन होला? झन्डै २/३ महिनाको दौरान सहभागी हुनुपर्ने प्रतियोगितामा इन्जुरी समस्या निम्तिने भएकाले त्यसको असर राष्ट्रिय टोलीमा पर्छ।’ एन्फाले गतवर्ष तय गरेको मितिका कारण प्रतियोगिता आयोजकहरु नै तनावमा परेका थिए। मिति तय भएका कतिपय प्रतियोगिता आयोजना नै भएनन्। कटुवाल भन्छन्, ‘प्रतियोगिताको मिति जुधाउनुभन्दा पनि सहमतिमा तय भए वर्षभरि नेपालमै खेलेर बाँच्थे कि खेलाडी।’

गत वर्षबाट लिग पुन सुचारु भएपछि खेलाडीरु बाँच्न सक्ने सम्भावना देखिएको हिमालयन शेर्पाका बिजेन्द्र पुडासैनी बताउँछन्। ‘एन्फाले गोल्डकपको आयोजनाका मापदण्डहरु तय गरिदिनाले मिति जुध्ने सम्‍भावनासमेत न्यून हुने देखिन्छ’ उनले भने, ‘एउटा क्लबले ३ भन्दा बढी गोल्डकपमा सहभागी हुन नपाउने प्रावधानका कारण सबैजसो 'ए' डिभिजनका व्यावसायिक क्लबले मोफसलको प्रतियोगितामा सहभागिताको अवसर पाउने देखिन्छ।’

नेपालको प्रतियोगितामा मनाङ मर्स्याङदी, थ्रीस्टार र ३ वटा विभागीय टिमको दबदबा थियो। ती ५ क्लबमध्ये कम्तीमा पनि ४ वटा क्लब नभई प्रतियोगिता आयोजना हुन्थेन। त्यसपछि आयोजक, मोफसलको १ टिम र विदेशी टिम समावेश गरेर अधिकतम १० वटा नभए ८ वटा बनाएपछि प्रतियोगिता हुन्थ्यो। त्यसबाहेकका अन्य क्लबहरूले खेलाडीलाई फुकुवा गर्नुको विकल्प हुन्थेन।

अहिले आयोजनाको वर्ग विभाजनमा पुरस्कार राशिसहित क्लबहरूको सहभागितालाई समेत आधार मानेपछि 'ए' डिभिजनका १४ वटै क्लबका खेलाडीहरुले प्रतियोगितामा सहभागिताको अवसर पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.