|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। आज (सोमबार) १ बजेको लागि डाकिएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी नहुने भएपछि बस्दै नबसी स्थगित भएको हो।

यस गत बिहीबार र आइतबार भने पौडेल पक्ष सहभागी नभए पनि सभापति शेरबहादुर देउवाले पेलेरै बैठक चलाएका थिए। सभापति देउवाले एकलौटी ढंगबाट केही एजेण्डाहरू समेत प्रस्तुत गरेका थिए।

देउवा पक्षले गत बिहीबार र आइतबार पेश गरेको एजेण्डाहरू सहमतिकै आधारमा पारित गराउने भन्दै सोमबारको बैठक स्थगित गरेको दाबी गरेको छ। 

‘दुवै पक्षले विवादित विषयलाई हल गर्न सहमतिको लागि समय माग गरे त्यसैले दुई दिनको लागि स्थगित भयो’, कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले भने।

असन्तुष्ट रहेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कार्यसमितिको बैठकमा आगामी १४ औँ महाधिवेशनको कार्यतालिका पहिले ल्याउनुपर्ने सर्त राखेको छ। उता, सभापति देउवा पक्षले भने सांगठानिक संरचना निर्माणपछि महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने भन्‍ने रहेको छ। 

असन्तुष्ट रहेका पौडेल समूहको तर्फबाट वरिष्ठ नेता प्रकाशमान सिंह र सभापति देउवाको पक्षबाट उपसभापति विमलेन्द्र निधिले छलफलको नेतृत्व लिएर विवादको समाधानको प्रयास गरिरहेका छन्। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालयमा पत्रकारसँग कुरा गर्दै अर्को बैठक पुस २ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको बताए। उनले पार्टीभित्र हुने विवाद स्वाभाविक र लोकतान्त्रिक भएकाले छलफल गरी सहमति तथा प्रकृयामार्फत टुंगोमा पुर्‍याउने उद्देश्यले बैठक स्थगित गरिएको  पनि जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.