सरकारले गतिलो काम नगरेको भन्दै तीव्र आलोचना

|

काठमाडौँः सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा गुट-उपगुटको मुद्दा प्रमुख बनेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीलाई गुटले समस्या पारेको उल्लेख गरेका थिए। अध्यक्षले नै गुट-उपगुटको समस्या औँल्याएपछि सोमबारदेखि बोलिरहेका नेताहरुले यसबारेमा पटक पटक प्रश्न उठाएका छन्। 

दुई ठुला कम्युनिष्ट पार्टी मिलेर बनेको नेकपालाई गुट उपगुटले नछाडेको नेकपाको स्थायी समिति सदस्य देव गुरुङले बताए। 'पार्टीको सांगठनिक क्रियाकलापमासमेत गुट हावी हुने गरेका छ', उनले भने। नेकपामा प्रतिनिधिसभाको सभामुख चयनमा पनि गुटको विवाद सतहमा आएको छ। 

अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमा चुनौतीकारुपमा गुटको कुरा आएपछि पार्टीका स्थायी समिति सदस्यहरुले बोलिरहेका छन्।  'बैठकमा समीक्षा भइरहेको छ,’ स्थायी समिति सदस्य गुरुङले भने, ‘गुट-उपगुटको समस्या अन्त्य गर्न नसके जस्तोसुकै ठूलो पार्टी भए पनि त्यो सकिनुको विकल्प छैन।’

गुट मेट्न नसकेमा नेकपाको भविष्य पनि राम्रो नभएको उनको ठम्याई छ । पार्टी सफल हुनका लागि गुट अन्त्य गर्नुपर्ने उनले धारण राखे। ‘गुट हुनु सामान्य हो। तर, पार्टी र जनताको पक्षमा गर्नुपर्ने काममा पनि असर पुगिरहेको छ। त्यसैले यो बैठकपछि गुट-उपगुटको नारा रोकिन्छ भन्‍ने विश्वास लिएको छु,’ उनले भने, ‘पार्टी र गुट भनेको आगो र पानी जस्तै हो । त्यसैले पार्टी बनाउन गुटको न्यूनीकरण गर्नुपर्छ ।’

पार्टी भित्र देखिएको गुटको समस्यालाई समाधन गर्ने नै पार्टीको रणनीति भएको अर्का स्थायी समिति सदस्य छविलाल विश्वकर्मा बताउँछन्। ‘अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीभित्र समस्या भएको देखाएका छन्। जुन ययार्थ हो, त्यसलाई छलफलको माध्यमबाट समाधान गर्न लाग्नुपर्छ,’ उनले भने ।

प्रतिवेदनमाथि मिश्रित टिप्पणी

स्थायी समितिको बैठकमा नेताहरुबाट मिश्रित टिप्पणी आइरहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। ‘बैठक आज १५ जना नेताहरुले भनाई राखेका छन्, उहाँहरुबाट मिश्रित प्रतिक्रिया आइरहेको छन्', उनले भने, ‘पार्टीको आगामी रणनीतिबारे छलफल गर्ने महत्वपूर्ण प्रतिवेदन भएकाले त्यसमाथि नेताहरुले गम्भीरतापूर्वका आफ्नो भनाई राख्नुभएको छ।’

आइतबार अध्यक्ष दाहालले प्रस्तुुत गरेको राजनीतिक प्रतिवेदनमाथि सोमबार छलफल भएको हो। पार्टी सञ्चालन र सरकारको समीक्षा, सीमा सुरक्षाको बिषयमा पनि बैठकमा छलफल भएको छ। बैठक भोलि (मंगलबार) ११ बजेको लागि बोलाइएको छ ।

बामदेवले दिए लिखित जवाफ

अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि बामदेव गौतमले लिखित जवाफ दिएका छन्। उनले सोमबारको बैठकमा लिखित जवाफ दिएका हुन् । गौतमले पार्टीभित्र अनिवार्य रूपमा संगठित हुनुपर्ने माग राख्दै लिखित जवाफ दिएका हुन्।

नयाँ रणनीति अनुसार पार्टीको आगामि योजना तयार पार्दा सदस्यताको बिषयमा पार्टीभित्र नै विवादित भइरहेको छ। सदस्यताको बिषयलाई लिएर पार्टीमा विभिन्‍न खालका प्रतिक्रिया आइरहेको स्थायी समिति सदस्य बेदुराम भुषालले बताए। प्रतिवदेनमाथि अधिकांश नेताहरुको लिखित जवाफ आइरहेको उनले जनाए ।

उनले सरकारले आलोचना, पार्टीको समस्या र हालै सम्पन्‍न उपनिर्वाचनको बिषयमा पराजय हुनको कारण समेत पार्टीले राम्रोसँग समीक्षा गर्न नसकोको आरोप लगाए ।

नेकपाले उपनिर्वाचनमा आफ्नैल गढ मानिएको भक्तपुर, धरान, चितवन लगायतको क्षेत्रमा पराजय व्यहोरेको थियो। यस बिषयमा यसअघि दुई पटक बसेको सचिवालय बैठकमा छलफल गरेको भए पनि पराजय हुनुको कारण पत्ता लागाउन सकेको छैन। 

सरकारको आलोचना

स्थायी कमिटिको बैठकमा नेकपाका नेताहरुले सरकारको आलोचना गरेका छन्। सरकारले सोचेअनुरुप काम गर्न नसकेको भन्दै आलोचना भएको हो। 

सरकारले विकास निर्माणलगायतको काम साचेअनुरुप काम गर्न नसकेकोमा स्थायी कमिटिको बैठकमा आवाज उठेको नेकपाका स्थायी समिति सदस्य गुरुङले बताए।

‘बैठकमा सरकारको थोरै समीक्षा गर्ने भनिएको थियो, त्यही अनुसार भएको समीक्षामा सरकारको कामको आलोचना भएको छ’, उनले भने, ‘सरकारले विकास निर्माणलगायतको काममा सोचजस्तो भूमिका निर्वाह गर्न नसकेको भन्दै नेताहरुबाट आलोचना भएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.