|

काठमाडौं : विश्वविद्यालयको दीक्षान्त समारोहमा मन्त्रीलाई प्रकाश विश्वकर्माले मुक्का प्रहार गर्छन्। मन्त्रीको भाषणमा सुनेर सुन्दर भविष्यको कल्पना गर्दै ताली पिटिरहेका विद्यार्थीमाझ प्रकाशले हानेको मुक्काले खैलाबैला मच्चिन्छ।

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा बिहीबारदेखि मञ्चन भएको नाटक 'दिक्षान्त' को दृश्य हो यो। घिमिरे युवराजको निर्देशन र डा. शिव रिजालको लेखन रहेको नाटकले समाजमा लामो समयदेखि चलिरहेको जातीय भेदभावलाई मञ्चमा उतारेको छ।

नाटक सुदूरपश्चिमको पहाडी भेगबाट  उच्च शिक्षा अध्ययनका लागि शहर आएको दलित युवाको विद्रोहमा केन्द्रित छ। जातीयताका आधारमा भइरहेको विभेद र जातीयताका आधारमा दिइने आरक्षणले युवामा पार्ने प्रभावलाई नाटकले बहसको विषयका रुपमा उठान गर्छ। 

नाटकको मुख्य पात्र प्रकाश भन्छ, 'सरस्वती पूजाका दिन घरबाट पूजासामाग्री लिएर स्कुल जान्थ्यौ। तर सबैले मन्दिरमा सरस्वतीलाई ढोग्दा हामीलाई छुट्टै राखिन्थ्यो,' उनी भन्छन्, 'मन्दिरमा पस्न नदिँदा मलाई त भगवानसँग विद्या माग्‍ने अधिकारसम्म छैन।' विश्वविद्यालयको पढाइ सकेपछि प्रकाश झन् विद्रोही बन्छ। मन्त्रीलाई उसले हानेको मुक्काले उसको विद्रोही स्वभाव दर्शाउँछ।

निर्देशक घिमिरे युवराज भन्छन्, 'जातीय विभेद र रङ्गभेद आजको सभ्य मानिएको समाजको डरलाग्दो कुरुप अनुहार हो। समाज विकासका अनेकौं अभ्यासपछि पनि हामी यो कमजोरीबाट मुक्त हुन सकेका छैनौं,' उनले नाटकको विषयबारे भने, 'यिनै विभेद र लाखौं हेपिएका मानिसहरूको कथा यस नाटकमा छ।' उनले नेपाली समाजमा विद्यमान घटनामै नाटक आधारित रहेको बताए।

नाट्य समीक्षक तथा त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरिरहेका लेखक शिव रिजालको यो पहिलो नाटक हो। 'नेपालमा विद्यमान जातीय विभेदलाई विशुद्ध राजनीतिक, धार्मिक र आर्थिक तहमा मात्र व्याख्या गर्न हुन्‍न भन्‍ने मेरो तर्क हो,' नाटकका विषयमा उनी भन्छन्,' बौद्धिक शक्ति महत्त्वपूर्ण कुरा हो। युगौदेखि हराउन नसकिएका सामाजिक प्रथालाई तर्कले जित्न सकिन्छ।'

नाटक विश्वविद्यालयमा हुने विद्यार्थी राजनीतिमा मात्रै केन्द्रित छैन्। यसले सुदूरपश्चिमको पहाडी भेगको संस्कृति, भाषा र रहनसहनलाई कलात्मक ढंगले पर्दा उतारेको छ। सुदूरका देउडा र ठाडीभाकाको प्रयोगबाट त्यहाँको परिवेशलाई जीवन्त देखाउने प्रयास गरिएको छ।

नाटकमा जीवन बराल, पवित्रा खड्का, सविन कट्टेल, विप्लाद, नमराज, मातृका, झकेन्द्र विसी, संगीता, लगायत कलाकारले अभिनय छ। विप्लव प्रतिकले नाटकका लागि गीत लेखेका छन् भने न्ह्यू बज्राचार्यले संगीत भरेका छन्। नाटक मंगलबार बाहेक माघ २९ गतेसम्म चल्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.