|

काठमाडौं : समयमै योजना कार्यान्वयनमा आएको भए काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्गमा यतिबेला गाडी गुडिसकेको हुन्थ्यो तर निर्माण कम्पनीले ५ वर्षसम्म पनि लगानी जुटाउन नसकेपछि सुरुङमार्ग निर्माण कार्य अघि बढ्न सकेको छैन। नेपाल पूर्वाधार विकास कम्पनीले सुरुङमार्ग निर्माणको जिम्मा लिएको छ।

सन् २०१२ मा सरकारसँग भएको सम्झौताअनुसार कम्पनीले १ जनवरी ०१७ मै सुरुङमार्ग निर्माण सम्पन्न गर्नुपर्ने थियो। कम्पनीले पाँच वर्षमा सुरुङमार्ग सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो। तर, यस अवधिमा कम्पनीले लगानीसमेत जुटाउन सकेको छैन।

कम्पनीसँगको सम्झौता अवधि सकिएपछि सुरुङमार्ग निर्माणको जिम्मा उसैलाई दिने कि नदिने भन्ने अन्योलमा सरकार रहेको भौतिक, योजना तथा यातायात व्यवस्था मन्त्रालयका निर्माण महाशाखा प्रमुख माधव कार्कीले बताए। उनले भने, ‘सुरुङमार्ग निर्माणको म्याद सकियो, तर प्रगति शून्य छ।’ म्याद थप गरिए पनि कुन ‘मोडालिटी’ अपनाउने भन्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए।

पूर्वाधार निर्माण तथा सञ्चालनमा निजी लगानीसम्बन्धी ऐन, २०६३ अन्तर्गत जनसमुदाय, सार्वजनिक–निजी साझेदारी मोडेलमा बनाउने भनिएको सुरुङमार्गको सम्पूर्ण लगानी निर्माण कम्पनीले नै व्यवस्थापन गर्ने सम्झौतापत्रमा उल्लेख छ। लगानी व्यवस्थापन भएपछि त्यसको स्वीकृति भने सरकारको भौतिक, योजना तथा यातायात व्यवस्था मन्त्रालयले दिनुपर्छ।

निर्माण कम्पनीका अध्यक्ष लालकृष्ण केसीले सुरुङमार्ग निर्माणमा खासै प्रगति नभएको बताए। उनले भने, ‘सुरुङमार्ग निर्माण सम्झौताको अवधि सकियो। म्याद थपका लागि पहल भएको छ।’ कम्पनी निरन्तर लगानी व्यवस्थापनको प्रयासमा रहेको उनले बताए। ‘अबको केही दिनभित्रै बस्ने कम्पनीको बैठकले निर्णय गर्नेछ। यसको प्रगतिबारे अहिले नै भन्ने बेला भएको छैन,’ उनले भने ।
 

–नयाँ पत्रिकाबाट

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.