|

दाङ : सरकारले भव्य रूपमा नेपाल भ्रमण वर्ष २०२० मनाउन लागेको छ। नेपाल २० हजार पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले नेपाल भ्रमण वर्ष मनाउने तयारीमा जुटेको छ। 

भ्रमण वर्षलाई थप सार्थकता दिनका लागि नेपालको कला, संस्कृति, धर्म, रहन-सहन, प्राकृतिक सौन्दर्यता लगायतको नेपाली पहिचान झल्कने खालको बनाउनसमेत आग्रह गरेको छ। त्यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिकाले पनि घुम्न जाउँ अभियान शुरु गर्न लागेको छ। तर दाङमा यस्ता पर्यटन स्थल छन्।

ती स्थलहरू अहिले पनि विकास र प्रचार प्रसारको कारणले ओझेलमा परेका छन्। यस्ता स्थलहरू मध्ये तुलसीपुर ४  मुलकोटको चमेरे गुफा पनि एक हो।पर्यटकीय सम्भावना र ऐतिहासिक महत्व बोकेको मुलकोट सामुदायिक वन क्षेत्रमा रहेको चमेरे गुफा विकास र प्रचार प्रसारले ओझेंलमा परेको छ।

तुलसीपुर बजारदेखि करिव २५ किलोमिटर अर्थात् एक घण्टाको दूरीमा रहेको चमेरे गुफामा पुग्नका लागि उपयुक्त बाटो नहुँदा समस्या भएको छ। 

ऐतिहासिक महत्वसँगै विभिन्न देवीदेवताको आकृति देख्न सकिने गुफाको प्रचार प्रसारसँगै राम्रो बाटो नहुँदा पछि परेको थियो। चमेरे गुफाका चौकीदार सिताराम पुन मगरले बताए। उनले भने बाहिरको त कुरा छाडौं कतिपय तुलसीपुरका नागरिकलाई समेत चमेरे गुफा थाहा छैन गुफा आउनका लागि दाङ-सल्यान सडकअन्तर्गत हर्नेटीबाट आउनुपर्छ तर कतिपय यात्रु बाटो थाहा नपाएर कपुरकोट पुग्ने गरेका छन्।

चौकीदार सिताराम पुनका अनुसार यदि चमेरेलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने हो भने यहाँ बाटो, विद्युत्, पिउने पानी जस्तामा सुविधामा ध्यान दिनु पर्ने देखिन्छ।गुफाको भित्तामा विभिन्न देवीदेवताका आकृतिसँगै ठूलो संख्यामा रहेका चमेरा देख्न सकिन्छ। गुफाभित्र प्रवेश गर्ना साथ प्राकृतिक विविधताले भरिपूर्ण मनोरम दृष्यका साथै चिसो अनुभव गर्न सकिन्छ।

चमेरे गुफा २०५६ सालमा पत्ता लागेको थियो। तर संकटकालमा त्यस गुफा ध्वस्त पार्ने पनि धेरै कोसिस गरिएको थियो। त्यस अवस्थामा पनि गुफा बचाउन धेरै संघर्ष गर्नु परेको गुफा संरक्षण समितिका अध्यक्ष भुपबहादुर पुनले बताए। त्यसैगरी उनले गुफामा आउने पर्यटकस्थल बनाउनका लागि झण्डै ९८ करोड रूपैयाँको डिपिआर तयार भएको बताए। उनले डिपिआर अनुसार नै काम भयो भने यो दाङ कै एक नम्बर पर्यटकीय स्थल हुने पनि बताए। 

चमेरेमा विगतको भन्दा अहिले धेरै विकास भएको छ। यहाँ आउने पर्यटकका लागि बस्न र खानाको लागि होम स्टे संचालन गर्न लागेको उनले बताए। त्यसैगरी उनले चमेरा गुफामा पहिलेको तुलनमा भन्दा चमेरा बस्न छाडेकाले चमेरा अनुसन्धानको लागि केन्द्र बनाउन लागेको पनि बताए। निकै विकट क्षेत्रमा रहेको र स्थानीयले प्रचारप्रसार भन्दा गाउँमा सडक, खानेपानी, शिक्षार विद्युत लगायतका पूर्वाधार आवश्यक रहेका कारण यो प्राथमिकतामा पर्न सकेको छैन। 

गुफासम्म पुग्नलाई बाटो छैन, थोरै बजेटबाट बाटो खोल्न सकिने अवस्था पनि छैन। त्यो भन्दा आवश्यक सडक, खानेपानी, शिक्षा, विद्युत लगायतका आवश्यकता छ त्यसले गर्दा आफ्नै ठाउँमा रहेको गुफाको प्रचारप्रसार हुन सकेको छैन।  

गुफाभित्र बत्ती नभएको र केही ठाउँ खतरा भएको सिँढी राम्रोसँग मर्मत नभएका कारणले अवलोकन गर्न अलि असहज भएको गुफा हेर्न आएका तुलसीपुरका १३ का राम लखन चौधरीले बताए। उनले भने,' म पहिलो पटक गुफा हर्ने आएको हुँ। तर यहाँभित्र बत्तीको ब्यवस्था भए झन् राम्रो हुने रहेनछ। त्यसैगरी गुफासम्म आउनका लागि पनि वाटो राम्रो रहेनछ आउन धेरै कष्ट भयो।' 

त्यस्तै अर्का तुलसीपुर १३ का सुनिल चौधरीले पनि गुफा एकदमै राम्रो भएता पनि भित्र लाइट र सिडी राम्रो नहुँदा दुर्घटनाको जोखिम भएको बताए। त्यसैगरी गुफा भएको ठाउँमा खाना र बस्नको व्यवस्था भए अझ राम्रो हुने उनले बताए।

'टाढाबाट आएका पर्यटकले केही खाम भने पनि त्यसको व्यवस्था रहेनछ',उनले भने। पर्यटकीय सम्भावनाका रुपमा रहेको चमेरे गुफाको प्रचार-प्रसारसँगै विकासका लागि विभिन्न निकायबाट कुरा उठाएको भए पनि यसको सुनुवाई भएको छैन।उनले भने,' ऐतिहासिक एवं पर्यटकीय सम्भावना बोकेको गुफाको विकास गर्नुपर्छ भनेर विभिन्न निकायसँग कुराकानी भएको छ। तर यसक्षेत्रबाट प्रतिनिधित्व गर्ने नेता र सबै क्षेत्रबाट हुन्छ भन्ने आश्वासन भएको छ। तर काम नगर्ने प्रवृत्तिका कारण खासै विकास भएको छैन।'

त्यसैगरी गुफाको विकासको लागी पहिलो पटक गत वर्ष प्रदेश सरकारले २० लाख दिएको र त्यसले डिपिआर तयार पारेको र अहिले पनि प्रदेश सरकारले ५० लाख बजेट बिनियोजन गरेको तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सूर्य डाँगीले बताए।

यो गुफालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न तुलसीपुर उपमहानगरपालिकाको ध्यान केन्द्रित रहेको समेत प्रवक्ता प्रवक्ता डाँगीले बताए। त्यसैगरी उनले चमेरे गुफालाई तुलसीपुरको पहिचान र चिनारीको रुपमा विकास गर्न लागेको पनि बताए। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.