|

काठमाडौं : भारतबाट आउने जहाज काठमाडौंमा रोकिनु परे त्यहाँ रहने एयर मार्सललाई बासको व्यवस्था गरिदिन भारतले आग्रह गरेको खुलासा भएको छ। भारतले हालै दुई देशका पर्यटन तथा नागरिक उड्डयनका उच्च अधिकारीहररूको बैठकमा यस्तो आग्रह गरेको हो। 

हवाई ट्राफिक तथा नयाँ रुटबारे पुस ५ गते नयाँ दिल्लीमा भएको बैठकमा भारतीय टोली नेता अरुण कुमारले काठमाडौंका लागि उड्ने जेट एयरवेजमा आउने ‘इन–फलाइट सेक्युरिटी अफिसर’ (एयर मार्सल) लाई यदि रात्रि बिश्राम गर्नुपरे काठमाडौंका होटलमा बस्न कठिनाइ हुने गरेको बताएको उक्त वार्तामा सहभागी एक अधिकारीले बताए। 

यो विषयलाई दुई मुलुकका अधिकारीले गरेको सैद्धान्तिक सम्झौतापत्रमा पनि लेखिएको छ। ७ पृष्ठ लामो सम्झौतापत्रको ५ नम्बर बुँदामा भारतबाट काठमाडौं आउने जेट एयरवेजको विमानले राति काठमाडौंमै बास बस्नुपर्ने अवस्था आइपर्दा जहाजमा खटिएका एयर मार्सल विमानस्थलबाट बाहिरिन नसक्ने अवस्था रहेको उल्लेख छ।
बिहीबार बसेको संसदको विकास समिति बैठकमा सभापति रविन्द्र अधिकारीले यो विषयबारे सहसचिव सुरेश आचार्यलाई सोधेका थिए। बैठकमा सहसचिव आचार्यले आफ्नो नेतृत्वमा भारत गएको ८ सदस्यीय नेपाली अधिकारीको टोलीले वार्ताको एजेण्मै नरहेको विषयलाई ‘काउन्टर एजेन्डा’ का ररूपमा भारतीय अधिकारीले राखेपछि चकित परेको अनुभव सुनाए। 

‘एयर मार्सल पूर्व निर्धारित सूचीमै थिएन, भारतीय अधिकारीले काउन्टर एजेण्का रुपमा एयर मार्सलको विषय राखेपछि अप्ठ्यारो अवस्था आइपर्‍यो,’ परराष्ट्र र कानुन मन्त्रालयका सरकारी अधिकारीसहित भारत पुगेका सहसचिव आचार्यले भने, ‘हामीले वार्ता विफल हुने र केही पनि उपलब्धि नहुने देखेपछि यो विषय उच्च राजनीतिक तहको भएको बताउँदै नेपालले हालै हवाई सुरक्षा नियमावली ल्याइसकेको र त्यस नियमावली अनुसार प्रक्रिया थालेमा भारतीय चासो समाधान हुने बतायौं।’

–कान्तिपुरबाट
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.