काठमाडाै : नेपाली भूमिमै भएको १३औँ साग अन्तर्गत तेक्वान्दोमा लगालग दुई स्वर्ण जितेपछि पति दीपक विष्टको काँधमा अडेस लागेर खुसीका आँसु झार्दै गरेको आयशाको फोटो सामाजिक सञ्जालमा भाइरल भयो।
भोलिपल्ट अखबारका पानाहरू उनकै तस्बिरले भरिए। भर्चुअल संसारमा बहस चल्यो, मिडियाले उनको परिचयमा 'दुई सन्तानकी आमा' भन्ने विशेषण झुण्ड्याउन हुन्थ्यो कि हुँदैनथ्यो! यता आयशा स्यमं भने भन्दै थिइन्, 'मेरा दुई स्वर्ण, दुई सन्तानका लागि।'
यो स्टेट्मेन्टले उनको संघर्षको कथा भन्छ। त्यो संघर्ष, जुन प्राय: महिलाका लागि दुरुह ठानिने गरिन्छ। सन्तान प्राप्तिपछि पुरानै लयमा फर्कन महिलाका लागि अझै सहज छैन। तर, आयशा फर्किइन्। फर्किएर आफुलाई अब्बल आमासँगै अब्बल खेलाडीका रुपमा प्रमाणित गर्न सफल भइन्।
आयशा ठ्याक्कै चार वर्षपछि एरिनामा फर्किएकी हुन्। बीचको चार वर्ष छोराहरूको हेरचाहमै बित्यो। एरिनाको सम्झना आउँथ्यो, तर छोराहरू सानै भएकाले खेल्न सम्भव थिएन। खेलजीवन नै समाप्त हुने डरले उकुसमुकुस हुन्थ्यो। उनी कुनै हालतमा आफ्नो सपनालाई मर्न दिन चाहन्नथिन्।
कान्छो छोरो काखैमा छँदा आयशाले बिस्तारै प्रशिक्षणका लागि समय निकाल्न थालिन्। छोराहरूलाई छाडेर प्रशिक्षणमा जानु सहज पक्कै थिएन। पति र परिवारको सहयोगले सबै सहज हुँदै गयो। १३ औं साग नजिकिँदै जाँदा उनलाई चिन्ता लाग्ने गर्थ्यो-घर-परिवार, सहकर्मी र गुरुहरुको विश्वासलाई सार्थक तुल्याउन सक्छु कि सक्दिनँ भनेर!
नतिजा हामीले देखिसकेका छौं। आयशाको घरको भित्तामा झुण्डिइरहेका दुई स्वर्णले प्रेरणाको कथा भनिरहेका छन्। भनिरहेका छन्, सन्तान प्राप्तिको अर्थ महिलाको करियर सकिनु होइन।
पतिलाई अँगालेर खुसीका आँसु झारेको त्यो 'भाइरल तस्वीर' आयशाले नोटिस नगर्ने कुरै भएन। 'पहिलो प्रदर्शनमा मैले केही त्रुटी गरेकी थिएँ, मनमनै अब सक्दिनँ भन्ने भइसकेको थियो', त्यस दिनको मनोदशा सुनाउँदै आयशाले भनिन्, 'तर प्रतिद्वन्द्वीले झन् धेरै त्रुटी गरेकाले मलाई सहज भयो। जीतपछि सम्हालिनै सकिनँ। त्यो त्यतिखेरकै तस्वीर हो।'
आयशा र दीपकका दुई छोरामध्ये कान्छा सानै छन्। कान्छाको स्याहार र तेक्वान्दोको प्रशिक्षणबीच तालमेल मिलाउन आयशालाई निकै गाह्रो भएको थियो। एकातिर आमाको जिम्मेवारी, अर्कोतिर स्वर्ण जित्ने सपना! आयशाले जसोतसो दुवैतिर भ्याइन्। न छोरालाई न्यास्रिन दिइन्, न त आफ्नो प्रशिक्षणमा कुनै कमजोरी हुन नै। त्यतिखेरको सकस उनलाई मात्रै थाहा छ।
आमाको मन! स्वर्ण जित्दै गर्दा उनलाई छोराहरूकै सम्झना आइरहेको थियो। नजिता घोषणासँगै जसै पत्रकारहरूले माइक तेर्स्याए, उनले भनिन्, 'दुई सन्तानका लागि दुई स्वर्ण जिते जस्तो भयो।'
उनको यो स्टेटमेन्ट सन्तानको हेरचाह र कामबीच सन्तुलन मिलाउन खोजिरहेका महिलाहरूका लागि 'मिलियन डलर स्टेटमेन्ट' हो। प्रेरणा हो, हौसला हो।
आफ्नो सफलताको कारण के हो भन्नेमा आयशालाई कुनै द्विविधा छैन। 'पहिलो दृढसंकल्प वा उद्देश्यप्रतिको अठोट,' उनी भन्छिन्, 'दोस्रो, घरपरिवारको सहयोग। बाँकी त आफ्नै मिहिनेत हो। स्वयम्लाई प्रेरित गरिराख्नुपर्छ, रोकिनुहुँदैन।'
सागको पदकतालिका हेर्ने हो भने नेपाली महिला खेलाडीहरूले गरेको प्रदर्शन उत्साहजनक छ। 'पुरुषप्रधान देशमा महिला खेलाडीहरूले आफूलाई प्रमाणित गरेका छन्,'आयशाले भनिन्।
अर्की खेलाडी मनिता शाही कुशल तेक्वान्दो खेलाडी त हुँदै हुन्, आमा पनि हुन्। १३ औं सागमा उनले रजतमा चित्त बुझाउनुपर्यो। स्वर्ण जित्ने लक्ष्य पुरा नभए पनि उनले सारा खेल प्रेमीको मन जितिन्। मनिताले यसपाली ७३ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन्।
'एरिनामा उत्रँदा आफ्नो तर्फबाट शतप्रतिशत कोशिश गर्ने हो,' नतिजाबाट थोरै निराश देखिएकी मनिताले भनिन्, 'तर के गर्नु, हारजित आफ्नो हातमा हुँदैन!'
मनिताको संघर्ष पनि कम्ता मर्मस्पर्शी छैन। उनी काखे छोरीलाई परिवारको जिम्मा लाएर प्रशिक्षणमा जाने गर्थिन्। छोरीलाई स्वर्ण समर्पण गर्ने रहर अधुरै रहँदा मन त कुँडिइहाल्छ। भन्छिन्, 'छोरी ठूली भएर मेरो संघर्ष बुझी भने मलाई त्यही स्वर्ण हुन्छ।'
मनिताको बुझाइमा सन्तान प्राप्तिपछि होइन, विवाहपछि नै धेरैजसो महिलाको करियर धरमराउँछ। 'विवाह गरेपछि जिम्मेवारी बढ्छ, व्यवहारिक हुनैपर्यो,' मनिता भन्छिन्, 'तर, आफ्नो इच्छा वा उद्देश्यबारे स्यमम् प्रष्ट भएमा धेरै समस्या हुँदैन। पति वा घरपरिवारलाई प्रष्टसँग बुझाउन सक्नुपर्छ। खुलेर आफ्नो कुरा राख्नुपर्छ, खुम्चेर बस्नुहुँदैन।'
विगतको तुलनामा राज्यले खेलाडीहरूको सुविधा बढाएकाले केही सहज भएको मनिताको बुझाइ छ। भन्छिन्, 'बाँकी आफ्नो कुरा हो। आफ्नै कामअनुसार,मिहिनेतअनुसार नतिजा आउने हो।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।