राष्ट्रका गहना भनेर मात्रै कलाकारको सम्मान हुँदैन

|

काठमाडौं :  मन परेको कलाकारलाई पनि भेट्न नचाहने यो पंक्तिकार सोमबार तिनै कलाकारको मलामी जान बाध्य भयो। 

एक मनले जान्‍न भन्‍ने लाग्ला लाग्दैपनि '…….मर्दाको मलामी' भन्‍ने उखानले म चलचित्र विकास बोर्डको प्राङ्गण पुगेँ। जहाँ नेपाली सिने क्षेत्रका दुई हस्तीको एकसाथ अन्तिम श्रन्द्धान्जली कार्यक्रम चल्दै थियो। एकजना चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र अर्का चर्चित अभिनेता दीपक क्षेत्री।

दुवैको एकैपटक अन्त्येष्ठि अकल्पनीय दु:खद संयोग थियो। दुवै कलाकारले नेपाली सिने क्षेत्रमा गतिलो योगदान दिएका छन्। दुवैको पार्थिव शरीरमा चलचित्र क्षेत्रका हस्ती र उनीहरुका प्रशंसकहरूले फूलका गुच्छा अर्पण गरिरहँदा माहोल स्तब्ध थियो।

कलाकारद्वयले आफ्नो जीवनमा चलचित्र क्षेत्रका लागि दिएको योगदानको कदर सम्झिँदै त्यहाँ पुगेकाहरु आँखामा आँसुसहित मनभरी हार्दिकता  लिएर उभिइरहे।

भट्टराईलाई  त झन् कुनै सरकारसम्वद्ध राजनीतिक दलले आफ्नो कार्यकर्ता भनेर पार्टीको झण्डा नै ओढाइदियो। मर्दा पनि पार्टीले आफ्नो कार्यकर्ता बनाउन नछोड्ने कुराले मन पोलिरह्‍यो। अर्को कुरा क्षमतावान व्यक्ति र तिनले पार्टीमा  दिएको योगदानको कदर गरेको होला भन्‍ने लाग्यो।

तर छेउमै  नि:शब्द थिए दीपक क्षेत्री। जसले नेपाली सिने क्षेत्रमा ३० वर्ष बिताए। उनले गरेको अभिनय मेरा लागि साँच्चै रोचक रहन्थ्यो।

अधिकांश बेला चलचित्रको पर्दामा हिरोको प्रवेश भन्दा भिलेनका रूपमा उनको उपस्थिति उत्साहजनक हुने गर्थ्यो। नेपाल टेलिभिजनका कयौँ सिरियलहरूमा उनले अभिनय गरेका छन्। उनले ‘दिदी’, ‘पृथ्वी’, ‘शंकर’, ‘अंशबण्डा’, ‘झोला’, ‘बुलबुल’ मसान, जीवनदान, सिमाना लगायत १५० भन्दा बढी फिल्ममा अभिनय गरे।

अधिकांश फिल्ममा आफूलाई खलनायकको भूमिकामा जीवन्त अभिनय गरे। उनको जीवन्त अभिनयकै कारण खलनायक नै उनको परिचय बन्यो।

चाबाहिल हुँदै पशुपति आर्यघाटसम्म आइपुग्दा बाटोमा कयौं व्यक्तिले उनको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरिरहेका थिए। यो दृश्यले उनको अभिनयको छाप आम दर्शकमा कति गहिरो परेको रहेछ भन्‍ने बुझ्न मुश्किल पर्दैनथ्यो।

क्षेत्रीलाई बिदा गर्न मलामी हिँडेका शुभचिन्तकले उनले कहिल्यै आफ्नो ख्याल नगरेको बताइरहे। तर क्षेत्री आफैँ भने दोस्रो व्यक्तिका लागि ज्यान दिन पनि पछि नपर्ने स्वभावका थिए।

पशुपति आर्यघाटमा उनको शरिरमाथ‍ि आगो लगाइरहँदा धुवाँ माथि माथि उडिरह्यो। उनी एकनासले जलिरहे।  नि:शब्द।

सिगों जीवन उनले अभिनयमा बिताए। चलचित्रमा कठोर र निर्मम उनी वास्तविक जीवनमा भने साधारण र नम्र रहेको कुरा श्रन्दाञ्जली सभामा आएका उनका साथीहरू भन्दै थिए।

भारतीय सेना बनाउने बुबाको इच्छा लत्याउँदै उनी दार्जिलिङबाट अभिनयको सागरमा पौडिन काठमाडौंसम्म आएका थिए।

जीवनमा भोलिको चिन्ता नगर्ने क्षेत्रीले आफूले गर्ने हरेक चलचित्रको हरेक पात्रमा डुबेर यो नै अन्तिम चलचित्र हो भन्‍ने हिसाबले अभिनय गरे।

पछिल्लो समय घाँटीमा लागेको क्यान्सरबाट उनी ग्रसित थिए। गुमेको आफ्नो स्वर फर्काउने कोशिशमा थिए दीपक। तर ५८ वर्षको उमेरमा उनले जीवनसँग हार्दै मृत्युलाई अंगाले।

'जन्मनु संयोग हो। मर्नु पनि एउटा दु:खद यथार्थ हो। यो यथार्थ स्वीकार्नै पर्छ। उनको निधन हुनु नेपाली कलाक्षेत्रका लागि ठूलो क्षति हो', कलाकार सरिता लामिछानेले बोलेको वाक्य हो यो। लामिछानेको अनुभवमा नेपालमा थोरै कलाकार यस्ता छन्, जसले जीवन्त अभिनय गर्छन्, तिनैमध्ये क्षेत्री एक थिए।

हरेक व्यक्ति वा कलाकारले जीवनमा एकपटक आफ्नो ठाउँबाट सकेको योगदान दिन्छ। क्षेत्रीको योगदान नेपाली सिने जगतका लागि अमूल्य छ। तर उनको योगदानलाई देशले बुझ्‍न नसकेकोमा दु:ख लागेक बताउँछिन् सरित।

'कलाकारलाई गहना भन्दैमा मात्रै सम्मान हुँदैन। कमसेकम कलाकारले जीवनको अन्तिम घडीमा उपचार नपाएर मर्नु नपरोस्', उनले भनिन्, 'के थाहा सही समयमा उपचार पाएको भए दीपक क्षेत्री अझै नेपाली चलचित्रमा देखिन सक्नुहुन्थ्यो कि।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.