सुरक्षित रहन चिकित्सकको सुझाव

|

पर्सा : केही दिनदेखि मध्यतराईमा बढेको शितलहरसँगैको अत्यधिक चिसोका कारण जनजीवन कष्टकर बन्न थालेको छ। गर्मीमा ४४ डिग्रीसम्मको तामक्रममा रहेका यो क्षेत्रका बासिन्दा अहिले भने सात/आठ डिग्रीको चीसोमा बस्न बाध्य भएका छन्। मध्यतराईको पर्सामा ६ हजार ७७१ जना अति विपन्न मानिसलाई कसरी बचाउने? भन्ने चिन्ता स्थानीय प्रशासनलाई पनि थपिएको छ।

पर्सा जिल्लाभरीको अति विपन्नको संकलित तथ्यांकअनुसार १ हजार ६२१ घरधुरीका ६ हजार ७७१ जना अति विपन्नलाई अत्यधिक चिसोमा कसरी बचाउने? भन्ने स्थानीय प्रशासनलाई चिन्ता थपिएको हो। 

बाहिरबाट जिल्लामा काम विशेषले आउने, बटुवा लगायतका जिल्लाका सबै मानिसलाई यो वर्षको शीतलहरमा चीसोकै कारण पर्सामा ज्यान गुमाउन नपरोस् भनी विभिन्न उपायसमेत अपनाइँदै छन्।

अझ न्यानो कपडा किन्न र सुरक्षित वासको पनि अभाव भएका अति विपन्नको जिल्ला भरीमा ठूलो तथ्याँक निस्किएकोले अलि चिन्ता थपिएको पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले थाहा खबरसँग बताए।

पहिलो प्राथमिकता अति विपन्नलाई बचाउने

जिल्लामा अति विपन्न कति मानिस छन् ? भनी हरेक पालिकाका दलित, सीमान्तकृत पिपन्न समुदायबाट संकलित तथ्यांकमा ६ हजार ७७१ जनाको तथ्याँक जम्मा भएको छ। यो संख्या अझ केही पालिकाबाट बढेर आउने सम्भावना छ उनले भने।

स्थानीय प्रशासनको पहिलो प्राथमिकता ती विपन्नहरुलाई कसरी बचाउने भन्ने रहन्छ। यसको साथै जिल्लाका अन्य आमनागरिकको पनि सुरक्षाका लागि स्थानीय प्रशासनले इन्धनको व्यवस्था गर्ने, न्यानो कपडाको जोहो गर्नेलगायत विपत्बाट मानिसलाई बचाउने उपायहरुको खोजी हुँदै छ प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए।

पूर्व-तयारीमा स्थानीय प्रशासन

गएको मंसिर २७ गते जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लाका सबै सरोकारवाला निकायका जिम्मेवार व्यक्तिहरुको बैठकले शितलहरका समयमा के–के गर्न सकिन्छ? भनी सुझाव संकलन गर्ने, पूर्वतयारीका लागि इन्धन, न्यानो कपडा जोगाड गर्ने, इन्धन बाल्दा हुन सक्ने आगलागी र अन्य विपत्का घटनामा आवश्यक पर्ने

सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने जस्ता कामको कार्य विभाजन गरेको छ। यसको लागि ६ बुँदे निर्णय सहित विभिन्न सामाजिक संघ संस्थासँग पनि समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ।

न्यानो कपडाको जोगाडका लागि स्थानीय तह, रेडक्रस, उद्योग बाणिज्य संघलाई जिम्मेवारी दिइएको छ। त्यसै गरी कृषि फसलको संरक्षण, रेखदेख वा क्षतिको निरुपणका लागि कृषि ज्ञान केन्द्र, स्थानीय तह लगायतका संस्थाहरुलाई तयारी रहन भनिएको छ।

जिल्ला भरीमा संकलित न्यानो कपडाले अपुग हुने आँकलन गर्दै संघ सरकारसँग ३ हजार र प्रदेश सरकारसँग १ हजार ५०० कम्बल तथा न्यानो कपडाको माग गर्ने, त्यसको पहल जिल्ला प्रशासन कार्यालयले गर्ने, चीसोमा चोक चोक, र ग्रामिण बस्तीको संरक्षणका लागि वन कार्यालय र टिम्बर कर्पोरेशनले स्थानीय तहहरुसँग समन्वय गरी अलि बढि सकृयता देखाउने लगायतका कार्य विभाजन भएको छ। 

सुरक्षित रहन चिकित्सकको सुझाव

यो बर्षको चीसो र शितलहरले जनजीवन निकै कष्टकर बन्न थालेपछि चिसोका कारण अस्पतालमा बिरामीहरुको संख्या पनि बढेको अस्पतालका चिकित्सकहरुले बताएका छन्। चीसोमा बालबालिका, बृद्धबृद्धा र विरामीको बढि ख्याल गर्नु पर्ने चिकित्सकहरुको भनाइ छ।

यसको साथै न्यानो कपडा लगाउन, तातो र झोलिलो खानेकुरा खान, घर बाहिर खासै ननिस्कन र सकेसम्म सुरक्षित रहन चिकित्सकहरुको सुझाव छ। कोही बिरामी परिहाले तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लगी बिरामीलाई चिकित्सकको सल्लाह बमोजिम मात्र औषधीहरु खुवाउन पनि चिकित्सकहरुले सुझाव दिएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.