|

- भुपाल थापा

कपिलवस्तु : सदरमुकाम तौलिहवालाई राजमार्गसम्म जोड्ने प्रमुख सडक (जीतपुर-तौलिहवा) को स्तरोन्नतीको कार्य सुरु गरिएको छ। एक लेनको उक्त सडक जीर्ण र साँघुरो हुँदा सवारीसाधन आवागमनमा कठिनाई भइरहेपछि सडक डिभिजन कार्यालय कपिलवस्तुले यो सडक खण्डलाई फराकिलो बनाउन थालेको हो।

सडकलाई दुईलेनमा विस्तार गर्ने काम अहिले धमाधम भइरहेको छ। सडकखण्डको मध्यभाग अन्तर्गत जहदी आसपासबाट सुरु भएको स्तरोन्नतीको काम निरन्तर दुवैतर्फ अगाडि बढ्ने डिभिजन सडक कार्यालय कपिलवस्तुका प्रमुख रमेश पौडेलले बताए।

'जीतपुर-तौलिहवा सडक हुलाकी सडक आयोजना अन्तर्गत निर्माण थालिएको हो,' पौडेलले भने। सडकले रेखदेख र अवलोकन मात्र गर्ने उनले बताए। बजेट परिचालन हुलाकी सडक आयोजनाबाटै हुने बताइएको छ।

गत भदौबाट सर्भे सुरु भई मंसिरबाट निर्माण थालिएको यस सडक २० महिनामा पूरा गर्नेगरी ठेक्का दिइएको छ। भ्याटबाहेक ३३ करोड बढीमा निर्माता कम्पनी बज्रगुरु दिवा एम.के.जे.भी.ले ठेक्का लिएको हो। ठेकेदार कम्पनीले तोकिएको समयअगावै काम सक्ने लक्ष्य राखेको छ।

सदरमुकामलाई राजमार्गसम्म जोड्ने सिङ्गल लेनको २१ किलोमिटर लामो यो सडक पञ्चायतकालमै बनेको थियो। कालोपत्रेको काम भने वि.सं. २०४६ बाट सुरु भएर २०६० मा सम्पन्न भएको थियो। 

राष्ट्रिय योजना आयोगको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक विकास कार्यक्रम पुस्तिकामा कपिलवस्तुका २ दर्जन सडक प्राथमिकताको सूचीमा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.