‘पैसाले न्याय किन्‍न पाइँदैन’

|

पाल्पा : एउटा कक्षाकोठा जस्तै थियो। अगाडि हातमा किताब लिएर उभिएका एकजना व्यक्ति। यता हातमा कापी र कलम लिएर कुर्सीमा बसिरहेका मानिस। उनीहरूको अनुशासन हेर्दा साँच्चिकै विद्यालयमा पुगेर अध्ययन गरिरहेका विद्यार्थीजस्तै देखिन्थे। उमेरले पाका देखिने विद्यार्थीलाई एकजना शिक्षकले पढाइरहेको दृष्य थियो। सहभागीले प्रश्‍न गरेका थिए, भने अगाडि बसेका व्यक्तिले जवाफ पनि दिइरहेका थिए।

यो कुनै विद्यालय थिएन। यहाँ नत शिक्षक नै थिए। विद्यार्थी पनि थिएनन्। थियो त जिल्लाको तानसेन नगरपालिका-७ को वडा भवनको सभाहल। र, जुन हलमा पाका मानिसहरू जिल्ला अदालत पाल्पाको आयोजनामा ‘न्यायीक वाह्य संवाद’ कार्यक्रम संचालन भएको थियो। जुन कार्यक्रममा टोलविकास संस्थाका पदाधिकारी तथा महिला सदस्यहरूको उपस्थिति थियो। उनीहरूले जिज्ञाशा राखिरहेका थिए भने तीनै महिलाहरूलाई जिल्ला न्यायाधीश खड्कबहादुर केसीले जवाफ दिँदै कानुनी कुरा पढाइरहेका थिए।

अदालत र न्यायाधीश जनताका माझमा जानु हुँदैन् भन्ने भ्रमलाई चिर्नको लागि आफू यहाँ आएको उनले बताए। ‘न्यायाधीशसँग बोले मानहानीको मुद्दा लाग्छ र जेल जानुपर्छ भन्ने भ्रम छ’ न्यायाधीश खड्काले भने ‘अदालत सबैको साझा कार्यालय हो र न्यायाधीश सबैको पक्षमा काम गर्ने व्यक्ति हो भनेर चिनाउनको लागि यहाँ आएको हुँ।’

समाजमा घट्ने आपराधिक घट्ना न्यूनीकरणमा सामान्य नागरिकको महत्वपूर्ण भूमिका हुने उनले बताए। घट्नाबारे सत्य बोल्न उनले आग्रह गरे। ‘कुनै पनि घट्ना घटे सम्बन्धित ठाउँमै प्रमाण खोज्न आउने हो’ न्यायाधीश केसीले भने ‘पीडक होस् वा पीडित आफ्नो या पराइ नभनी सत्य बोलेर साँक्षी वयान दिनुपर्छ। जसले गर्दा न्याय मर्ने छैन्। वास्तविक पीडितले न्याय पाउने छ। र सामाजमा आपराधिक घट्ना न्यूनीकरणमा ठूलो सहयोग पुग्छ।’

जनताले साथ नदिए न्यायाधीश एक्लैले समाज सुधार्न नसक्ने उनी बताउँछन्। आफ्नोलाई बचाउन भन्दै झुटो वयान दिने प्रवृत्तिले समाजमा विकृति मौलाएको प्रति उनले चिन्ता प्रकट गरे।

पैसाले न्याय किन्न पाइँदैन

पैसा हुनेले मात्र न्याय पाउछ भन्ने भ्रम साधारण नागरिकमा रहेको न्यायाधीश केसीले बताए। ‘यस्तो हल्ला सत्य होइन, पैसा नहुनेले पनि न्याय पाउँछ' उनले भने ‘प्रमाणका आधारमा दोषी उपर कारबाही हुन्छ। साँच्चिकै पीडितले न्याय पाउँछ।’ घट्ना घटेको ठाउँका नागरिकले सत्य बोल्नु पर्नेमा उनले जोड दिए। पीडितलाई न्याय दिनु सबैको दायित्व हो।

कानुनी सहायता प्राप्त गर्न नसकेका असाहय, अशक्त, नाबालक, आर्थिक रुपमा विपन्न वा थुनामा रहेका मुद्दाको पक्षको तर्फबाट निःशुल्क कानुनी सहायता उपलब्ध गराउनको लागि अदालतबाट वैतनिक वकिलको व्यवस्था रहेको उनले जानकारी दिए। उनका अनुसार वैतनिक वकिलबाट मुद्दामा लिखित तयार गर्ने, बहस पैरवी गर्ने लगायतका काम सम्पादन हुन्छ। आफूलाई अन्यायको महशुस भएमा निर्धक्क भएर अदालतको ढोकामा आउन न्यायाधीश केसीले आग्रह गरे।

यद्यपि, अदालत आइसकेपछि कुनै अप्ठ्यारो नमानी घट्नाबारे बताउन उनले सुझाव दिए। ‘बिरामीले डाक्टरकहाँ गएपछि आफ्नो बिमारीबारे स्पष्ट बतायो भने राम्रो उपचार हुन्छ र छिटो निको हुन्छ’ उनले भने ‘न्याय माग्न आउँदा पनि कसैको डर, धम्की तथा कुनै प्रलोभनमा नपरी यथार्थ भन्नुपर्छ। जसले गर्दा न्याय दिन सहज हुन्छ।'

सोही कार्यक्रममा स्रेस्तेदार कृष्णमुरारी सिग्देलले अदालतबाट पाइने सेवा सुविधा, मुद्दामा जाँदा अपनाउनु पर्ने प्रक्रियाका बारेमा सहजीकरण गरेका थिए। यस्तै मुद्दा, मुद्दाको परिचय र फैसला कार्यान्वयनसम्बन्धी तहशिलदार भेषराज खनालले जानकारी गराएका थिए।

नेपाल बार एसोसिएसन पाल्पाका उपाध्यक्ष शालिकराम घिमिरे र वैतनिक वकिल बिमला ज्ञवालीले मुद्दाका पक्षहरुले वकिल नियुक्ति गर्ने प्रक्रिया, वकिलले गर्नुपर्ने काम, मुद्दासम्बन्धी व्यवस्था र अदालतको निःशुल्क कानुनी व्यवस्थाबारे सहजीकरण गरेका थिए।

सहभागी महिलाले श्रीमान्-श्रीमतीबीच हुने झगडा, साँधकिलोको विवाद, बहुविवाह, एकल महिलाले समाजमा खेप्नु परेको समस्या जस्ता घट्नाबारे जिज्ञासा राखेका थिए।

वडा नम्बर ७ का वडा अध्यक्ष मुक्तिराम जिसीले दोस्रो श्रीमतिबाट जन्मिएका बच्चालाई दिइने जन्मदर्ता, जेठी श्रीमतिले श्रीमानले बहुविवाह गरेको स्वीकार गरेको अवस्थामा कान्छी श्रीमतीलाई दिइने विवाह दर्तालगायतका विषयमा काम गर्न अप्ठ्यारो परेको समस्या राखेका थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.