|

इलाम : बङ्गलादेशसँग दुरीका हिसाबले सबैभन्दा नजिक रहेको प्रदेश एकले निर्यात बढाउन छलफल अघि बढाएको छ।

इलाममा बिहीबार आयोजित एक कार्यक्रममा बंगलादेशको बजार भौगोलिक रुपमा नजिक भएकाले नेपालका उत्पादनहरु छिटो पुर्‍याउन र त्यसबाट लाभ लिन सकिने अधिकारीहरुले दाबी गरेका छन्। बङ्गलादेश र नेपालको व्यापारमा प्रदेश एकको संभावना बारे छलफल गर्दै निजी तथा सरकारी अधिकारीहरुले निर्याततर्फ ध्यान दिनुपर्ने बताएका हुन्।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल कृषि बजार विकास कार्यक्रमले बङ्गलादेशमा निर्यात व्यापार बढाउनेबारे सुर्योदय नगरपालिकामा आयोजना गरेको छलफल कार्यक्रममा कार्यपत्र समेत प्रस्तुत गरिएको छ। बङ्गलादेश प्रदेश नम्बर एकबाट नजिकै पर्ने भएकाले आयात–निर्यातका लागी सवैभन्दा उत्तम गन्तव्य हुने भन्दै मुख्यमन्त्री शेरधन राईले हाल बङ्गलादेशसँग भइरहेको व्यापार घाटा कम गरेर नेपाली अर्थतन्त्र उकास्ने प्रस्ताव केन्द्रमा राख्न लागेको जानकारी दिए। संघीय सरकारले व्यापारको लागि आवश्यक योजना बनाएपछि प्रदेश सरकारले बङ्गलादेशसँगको व्यापारलाई अगाडी बढाउने राईले दाबी गरे।  प्रदेश एकमा उत्पादन हुने सामाग्रीहरु निर्यात गर्नसके प्रदेश पनि समृद्ध बन्नसक्ने उनले बताए।

साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड एन्भायरोन्मेन्टका प्रमुख डा. पोषराज पाण्डेले नेपाली उत्पादन बङ्गलादेश निर्यात प्रोत्साहनका लागी आवश्यक प्रविधि तथा नीतिबारे कार्यपत्र प्रस्तुत गर्दै सन् २००८ मा नेपालले बङ्गलादेश निर्यातबाट ५९ मिलियन डलर नाफा कमाएकोमा सन २०१८ मा ३३ मिलियन डलर व्यापार घाटा ब्यहोरेको बताए। सन २०१९ मा बङ्गलादेशको आर्थिक वृद्धिदर आठ प्रतिशत हुने अन्तराष्ट्रिय प्रक्षेपण रहेकाले नेपालले त्यसबाट फाइदा लिन पाण्डेले सुझाए। बङ्गलादेश सरकारले सन २०२१ देखि दोहोरो अङ्कको आर्थिक वृद्धि लक्ष्यसहित काम गरिरहेकाल प्रदेश एकले यसबाट फाइदा लिनसक्ने पाण्डेले दाबी गरे।

व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले सातवटै प्रदेशमा उत्पादनको अध्ययन गरी प्रतिवेदन पठाइएकोले अन्तरप्रदेश व्यापार बढाउन र निकासीजन्य बस्तु पहिचान गरी आयात प्रतिस्थापनमा काम गर्नुपर्ने उल्लेख गरे। केन्द्रकै बरिष्ठ अधिकृत गोविन्द आर्चायले नेपालको निर्यात र आयातको अनुपात १ः१२.४ रहेकाले व्यापार घाटा कम गर्न प्रदेश सरकारले दिगो उत्पादन नीति अपनाउनुपर्ने बताए। उत्पादित बस्तुहरुको भण्डारण केन्द्र निर्माण गरी निर्यात बृद्धि गर्न सकिने आचार्यको भनाइ छ।  

बंगलादेशस्थित नेपाली राजदुतावासका धनबहादुर ओलीले नेपाली उत्पादन प्रर्वद्धनका लागी ढाकास्थित नेपाली राजदुतावासले निरन्तर कोशिस गरिरहेको बताए। बङ्गलादेशमा नेपाली उत्पादनको माग उच्च भएपनि गुणस्तरमा एकरुपता र ख्याती कायम गर्न नसक्दा बर्षेनी आयात बढिरहेको जानकारी दिए। भारत र चीनपछि नेपालको व्यापारको मुख्य क्षेत्र बङ्गलादेश नै रहेको उल्लेख गर्दै ओलीले गुणस्तर व्यवस्थापनमा चुनौती, सानो आकारको उत्पादन तथा बजार पहुँचको अभाव जस्ता कारणले नेपाली उत्पादन अन्तराष्ट्रिय बजारसम्म पुग्न नसकेको धारणा राखे।

नेपाल र बङ्गलादेशबीच द्विपक्षीय सम्झौता भई वि.सं २०५४ भदौ १४ गतेदेखि पूर्वी नाका काँकडभिट्टाबाट भारतको फूलबारी भन्सार हुँदै बङ्गलादेशको बङ्गलाबन्धसम्म व्यापार शुरु भएको थियो।  अहिले पनि सोही नाकाबाटै दुई देशबीच आयात–निर्यात हुँदै आएको छ। 

२२ बर्ष अघि नेपालले भारत र बङ्गलादेश सरकारसँग काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध पारवहन मार्गको प्रस्ताव स्वीकृत गरेको थियो।  त्यसयता नेपालले सो मार्ग भएर ३१ अर्ब ३० करोड ५५ लाख रुपैयाँ बराबरको नेपाली मालसामान बङ्गलादेश निर्यात गरेको छ। सोही अवधिमा बङ्गलादेशबाट २६ अर्ब ८४ करोड ३६ लाख रुपैयाँ बराबरको मालसामान नेपाल भित्रिएको छ।

१७ बर्षसम्म निर्यात नाफामा रहेको नेपालले बङ्गलादेशसँग पछिल्लो पाँचबर्षदेखि घाटा ब्यर्होदै आएको छ। सन २०१३–१४ सम्म बङ्गलादेशसँग व्यापार बचतमा रहेको नेपालले त्यसयता द्विपक्षीय व्यापारमा आफ्नो पकड कायम गर्न सकेको छैन।

बङ्गलादेशबाट सोलार उपकरण, रनर, मोटरसाइकल, कागज, तयारी कपडा, जुट, मकै, आलुचिप्स, चकलेट, कमोड, पानीका बोतल, ब्याट्री, औषधि, केमिकल, स्पेयर पार्टस, नरिबल तेललगायतका सामान आयात हुने गरेको छ। प्रदेश नम्बर एकबाट मसुरो दाल, चिया, कफी, हरियो तरकारी, फलफुल, जडिबुटीजस्ता बस्तुहरु निर्यात सम्भावना बढी छ। क्षेत्रफलमा नेपालभन्दा सानो रहेपनि जनसंख्या चारगुणा बढी भएकाले नेपाली उत्पादनहरु सजिलै बङ्गलादेश पु¥याउन सक्दा नेपालको व्यापार उकालो लाग्ने संभावना देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.