|
Photo : swasthyakhabar.com

काठमाडौं : काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. रामकण्ठ माकाजु पुन: नियुक्त भएका छन्। प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामन्त्री धनिराम पौडेल नेतृत्वको सिफारिस समितिका सदस्यहरु शुक्रबार बिहान छलफल गरेपछि माकाजुलाई नियुक्त गर्ने निर्णय गरेका हुन्।

निर्णयलाई मन्त्रिपरिषद्को आगामी बैठकले औपचारिकता प्रदान गर्नेछ।

समितिले डा. माकाजुसहित भद्रमान तुलाधर, जनार्दन लामिछाने, भोला थापा र मनप्रसाद वाग्लेको नाम सिफारिस गरेको थियो। सिफारिस समितिमा मन्त्री पौडेलका अलावा काठमाडौं विश्वविद्यालयका उपकुलपतिसमेत रहेका प्रा.डा सुरेशराज शर्मा र दमननाथ ढुंगाना सदस्य थिए।

समितिले गत २६ गते नै प्रधानमन्त्रीलाई ५ जनाको नाम सिफारिस गरेकोमा आवश्यक परामर्श गरेर प्रधानमन्त्रीले डा. माकाजुलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री पौडेलले थाहा खबरलाई जानकारी दिए।

‘हामीले गत २६ गते ५ जनाको नाम सिफारिस गरेका थियौँ,’ मन्त्री पौडेलले भने, ‘आवश्यक परामर्शपछि प्रधानमन्त्री डा. माकाजुलाई नियुक्त गर्ने निर्णयमा पुग्नुभएको छ।’  

तीन जनाको नाम सिफारिस गर्नु पर्नेमा ५ जनाको नाम आएपछि प्रधानमन्त्रीले नियुक्तिका लागि केही समय लिएका थिए। शुक्रबार निर्णयमा पुग्नुअघि पनि उनले सिफारिस समितिका सदस्यहरुलाई बालुवाटार बोलाएर अन्तिम चरणको छलफल गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.