|

  • मेगराज खड्का-

रुकुम : रुकुममा पहिलो पटक व्यवसायिक रुपमा उखुखेती सुरु गरिएको छ। मुसीकोट नगरपालिका ५, ट्याखोलाका दलबहादुर बोहराले व्यवसायिक रुपमा उखु खेती शुरु गरेका हुन्। उनले सल्यान तथा जिल्लाका बिभिन्न गाउँहरुबाट उखुको बेर्ना ल्याएर १८ रोपनी जग्गामा ११ हजार उखुका बोट लगाएका हुन्।

‘सानो तिनो उखु खेती त जिल्लाका अन्य ठाउँमा पनि भएको होला तर यति ठूलो क्षेत्रफलमा उखु खेती सायद म नै पहिलो कृषक होला’ उनले भने, ‘यसबाट राम्रो आम्दानी गर्ने मात्र नभएर जिल्लामा उखु खेती गर्न चाहाने कृषकहरुलाई प्रेरणा दिने पनि मेरो उद्देश्य हो ।’ उनले कृषि विकास वैंक रुकुमबाट १० लाख कर्जा निकालेर उखु खेती सञ्चालन गरेका हुन्। उनको बारीमा चार जातको उखु छ। जसमा गुरे, गेवारा, रातो र नल्ठे जातको रहेका छन्। उखु खेतीसँगै अन्य व्यवसाय पनि गर्न सकिने भएका कारण आफु यसमा बढी आर्कषित भएको उनको भनाई छ। ‘अरु व्यवसायको जस्तो दिनभरी समय दिनु पर्दैन, दिउसो काष्ठ उद्योगमा समय दिन्छु अनि साँझ विहान मात्रै उखुबारीमा।’

लगानी धेरै गरिएका कारण पहिलो वर्ष नाफा नभएपछि अर्को बर्षदेखि राम्रो आम्दानी गर्ने उनको लक्ष्य रहेको छ। धेरै युवाहरु वेरोजगार भएको भन्दै लाखौं रुपैयाँ खर्च गरेर विदेश गइरहेको बेला उनले गाउँमै पहिलो पटक उखु खेती गरेपछि स्थानीयहरु पनि दंग परेका छन्। उनको उखु खेती अवलोकन गर्न जिल्लाका विभिन्न ठाउँबाट पनि किसानहरु आउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.