नेपालगञ्ज : उपकरणको अभावमा पशु क्वारेन्टान कार्यालय नेपालगञ्जका कर्मचारीले सुँघेर माछाको गुणस्तर प्रमाणित गर्दै आएका छन्। माछा खानयोग्य छ कि छैन भन्ने कुरा हेरेर, सुँघेर तथा छामेर परीक्षण गर्ने गरेको क्यारेन्टाइन चेकपोष्ट नेपालगञ्जका प्रमुख पशु चिकित्सक रामसेवक त्रिपाठी बताउँछन्। उनका अनुसार जिउँदो माछालाई भने परीक्षणविनै लैजान दिइन्छ।
‘माछा स्वस्थकर भए/नभएको जाँच गर्ने ल्याब नभएकोले सुँघेर, छामेर तथा हेरेर क्वारेन्टाइन गर्दै आएका छौँ,’ त्रिपाठीले भने। कुहिएको र चोट–पटक लागेको माछा फेला परेमा झिकेर फालिदिने गरिएको छ। तर, माछा एक–एक गरेर भने हेरिँदैन।
‘बरफको पेटीमा प्याक गरेर ल्याएका सबै माछा हेर्न भ्याइँदैन, नमुनाको रुपमा एक–दुईवटा हेरेर अन्दाजको भरमा क्वारेन्टाइनको प्रमाणपत्र दिने गरिएको छ,’ त्रिपाठी भन्छन्। भारतबाट प्रयास र मंगुर जातका माछा आयात गरिँदै आएको छ।
जमुनहा नाकाबाट परीक्षणविनै भित्रिन्छ माछा
जमुनहा नाका हुँदै आयातित करिब ३ क्विन्टल माछा दैनिक नेपालगञ्जसहित मध्यपश्चिमका विभिन्न क्षेत्रमा जाने गरेको छ। क्वारेन्टाइन कार्यालयको दक्षिणतर्फ दैनिक बिक्री हुने माछा परीक्षणविना नै बजारमा गइरहेको छ। जबकि कुनै पनि खाद्यवस्तु वैज्ञानिक तरिकाले परीक्षण गरेरमात्र आयात गर्न दिने कानुनी व्यवस्था छ।
‘कुनै–कुनै व्यापारी क्वारेन्टाइन गराउन आउँछन्, धेरै व्यापारीले यत्तिकै विक्री गरिरहेका छन्,’ त्रिपाठीले भने। भन्सारको दक्षिणतर्फ भारतको रुपैडियाका व्यापारीले माछा विक्री गर्ने गरेका छन्। त्यस क्षेत्रमा दैनिक २ सय किलोसम्म माछा विक्री हुने गरेको व्यापारी लड्डन अन्सारी बताउँछन्।
भन्सार र पशु क्वारेन्टाइन कार्यालयभन्दा करिब ५ सय मिटर दक्षिणमा पर्ने माछा मण्डीका व्यापारीले सिधै भारतबाट ल्याएर विक्री गर्ने गरेको अन्सारीले जानकारी दिए। उनले मात्र दैनिक ७०/८० किलो माछा बेच्दै आएका छन्।
सुरक्षाकर्मीले आफूहरुलाई साथ नदिँदा अवैधरुपमा भित्रिने माछा रोक्न नसकेको त्रिपाठी बताउँन्। ‘जमुनहा नाकामा खटिएका सुरक्षाकर्मीले राम्रोसँग जाँच गरिदिएको भए पशु क्वारेन्टाइनलाई सजिलो हुने थियो,’ त्रिपाठीले भने, ‘असुरक्षाका कारण सहायक नाकामा जान सकिएको छैन।’ नेपालगञ्जको तुलनामा भन्सार नजिकको माछा सस्तो हुने भएकाले पनि स्थानीयहरु त्यहाँ पुग्ने गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।