|
फाइल फोटो

आठ वर्षपछि यसवर्ष फागुन १४ गते क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी संगठनको चुनाव तोकिएको छ। प्रमुख दल निकटका विद्यार्थी संगठनसँग उमेर हद र मिश्रित निर्वाचन पद्धतिमा त्रिविले सहमति गरेपछि स्ववियु निर्वाचन सुनिश्चित भएको हो। नेपाल विद्यार्थी संघको नेतृत्वले उमेर हदमा सहमति जनाएपनि संगठनभित्र यस विषयमा विवाद छ। यसै सन्दर्भमा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसँग रेडियो थाहासञ्चारका लागि देवीराम देवकोटाले गरेको कुराकानी :

तपाईंको संगठन स्ववियु चुनावको पक्षमा कि विपक्षमा?

२०३६/३७ सालतिर नेविसंघको आन्दोलनको फलस्वरुप तत्कालिन पञ्‍चायती व्यवस्थाले घुँडा टेकेर हरेक एक वर्षमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने वैधानिक व्यवस्था सुरु भएको हो। त्यसैले स्ववियुका पछाडि नेविसंघको रगतको साइनो समेत छ। जतिबेला पञ्‍चायती व्यवस्थामा जनताले प्रजातान्त्रिक हक, अधिकार प्रयोग गर्न पाउदैनथे त्यतिबेला विद्यार्थी राजनीतिका माध्यमबाट स्वतन्त्र विद्यार्थी युनियनमा उम्मेदवार खडा गरेर प्रजातान्त्रिक प्रक्रिया सिकाउने थलोको विकासका लागि नेविसंघ निरन्तर लाग्दै आएको छ।  त्यो आन्दोलनले ल्याएको इन्स्टिच्युसनलाई अहिले निरन्तरताका लागि हामीले लड्दै आएका छौं। फागुन १४ गते स्ववियुको निर्वाचन कुनैपनि हालतमा हुनुपर्छ।

तर तपाईको संगठनकै नेताहरुले नै २८ वर्षे उमेर हद लागू भए चुनाव हुन नदिने चेतावनी दिइराखेका छन् नि?

हरेक १/१ वा २/२ वर्षमा स्ववियुको चुनाव भएको भए आज चारवटा चुनाव भइसक्थे। त्यसकारणले यो वर्ष हुन्छ, अर्को वर्ष हुन्छ कि भन्दै साथीहरुले कलेज पेरिफेरीमा काम गरेको धेरै भइसक्यो। उनीहरु ज-जसले आफूले क्याम्पसको स्ववियुको चुनावमा जितेर समाजलाई, क्याम्पसलाई योगदान दिने र राजनीतिमा स्थापित हुने सोँच राखे, त्यो सोचमा आज कुठाराघात भएको छ। यसमा हामीले दुःख पनि प्रकट गरेका छौं। तर त्यो कारणले मात्रै चुनाव रोकिदैन।

विद्यार्थीमा उमेर हुन्छ भन्‍ने मलाई लाग्दैन। तर यही कारणले मात्र स्ववियु चुनाव रोकिनु हुदैन भन्‍ने हो। यसकारण जे जति साथीहरु छुटेका छन्। जुन-जुन साथीहरुको स्ववियुको चुनाव लड्ने, विजय हुने सोच थियो ती साथीहरुलाई पार्टीका बिभिन्‍न निकायहरु छन्, भातृ संस्थाहरु छन्, स्वयं नेविसंघभित्रै पनि उनीहरुलाई उचित स्थान दिएर उनीहरुको राजनीतिक अवसरलाई सुरक्षित गरिनेछ। 

तपाईंको संगठनबाट स्ववियु चुनावको विपक्षमा कुनैपनि गतिविधि हुदैन? 

२०३६ सालको जनमत संग्रहमा बहदल पराजित भएपछि बिभिन्‍न क्षेत्रबाट बहिष्कार गर्नुपर्छ, यसलाई मान्‍नुहुन्‍न भन्दाखेरि बीपी कोइरालाले म हारेपनि मेरो विचार हारेको छैन, त्यसकारण हामी हारेपनि यो निर्वाचनको परिणाम स्वीकार्छौ भन्‍नुभएको थियो। हामी त्यही पार्टीको कार्यकर्ता। त्यसैले यो चुनावको कुनै परिणाम र यसमा धेरै थोरै विचारहरुका कारणले स्ववियुको यात्रा रोकिदैन। यो चुनावी बेग, तुफानी दौड अगाडि बढिसक्यो। 

तपाईहरु ४० वर्षको हाराहारीमा हुनुहुन्छ होला? तपाईंहरु विद्यार्थीको अध्यक्ष बन्‍ने अनि स्ववियुमा २८ वर्षे उमेरहद लागू गरेर फेरि निर्वाचन जानुपर्छ भनेर किन सहमति गर्नुभएको?

विद्यार्थी राजनीतिमा मेरो उमेरले पनि कता-कता मेल नखाएको हो कि भनेर साथीहरुसँग कुरा पनि गर्छु। सत्य भन्‍ने हो भने विवाह नगरेको, घरबाट आएको पैसाले आफ्नो पढाइमा खर्च गर्ने अथवा अल्लारे टाइपको, आफ्नो विचार जे छ त्यो राख्‍न सक्ने, अलिकति लडाकु स्वभाव, गलतका विरुद्ध एकदमै मरेपनि लड्ने सहादत प्राप्त गर्न पनि पछाडि नहट्ने उमेर नै विद्यार्थी उमेर रहेछ। यो मेरो पछिल्लो पटकको सिकाइ हो। परिस्थितिवश हाम्रो पनि १० वर्षसम्म महाधिवेशन भएन। त्यसकारण रेगुलर भएन। यसकारण म आज अध्यक्षको ठाउँमा छु। 

विद्यार्थीको लागि राजनीति गर्नुपर्ने साथीहरु थुप्रै छन् र केही उमेरको हिसाबले अलिकति बढी हुनुभयो। नेविसंघको माग त विद्यार्थीको उमेर हुदैन भन्‍ने हो। नेविसंघका आजसम्मका १७ जना पूर्व अध्यक्षहरुले एकैचोटी २८ वर्षको विकल्प छैन। २८ वर्ष लाउनैपर्छ भन्‍नुभयो। यसमा सबैको एकमत छ।

स्ववियु चुनावका सन्दर्भमा नेविसंघको केही विषयहरु पनि छन्। अहिले समय छोटो भएपनि पछिका लागि सान्दर्भिक हुन सक्छ। कक्षामा पढाई हुने दिनको ७५ प्रतिशत उपस्थित नहुने विद्यार्थी स्ववियुको उमेदवार हुनुहुदैन भन्‍ने कुरा पनि राख्‍नुपर्छ। विद्यार्थी राजनीतिलाई मर्यादित बनाउनैपर्ने छ।

२८ वर्षे उमेरहद मानेर र मिश्रित निर्वाचन पद्धतिमा नेविसंघ चुनावमा जान तयार छ?

हामीले निर्णय गरेर आइसकेका छौं। केन्द्रीय कमिटीको ६ दिनसम्म चलेको बैठकले ४ हजार एक सदस्यीय मूल आयोजक समिति मेरै नेतृत्वमा गठन गरिसकेको छ। हामीले सानो रिजर्भेशन पनि राखेका छौं। किनकी विद्यार्थीको उमेर हुदैन भन्‍ने हामीलाई लाग्छ। सच्याउन सकिन्छ भने सच्याउनका लागि आग्रह गर्छौ। तर यसै कारणले चुनाव रोकिदैन चुनावमा हामी होमिइसक्यौं।

अहिलेसम्म राजनीतिक दलका नेताहरुले जे-जे कुरा भने विद्यार्थीहरुले त्यही मान्‍नुपर्ने जुन अवस्था छ नि यो त तपाईंहरु निरिह भएजस्तो लाग्दैन? स्वतन्त्र विद्यार्थी भन्‍ने अनि माउ पार्टीको मुख ताकेर बस्‍ने?

नेपालको संक्रमणकालीन राजनीतिक अवस्थाका कारण स्ववियु चुनाव समयमा हुन नसकेको हो। संविधानसभा घोषणा भयो, फेरि सर्‍यो। चुनाव भएर पनि तोकिएको समयमा संविधानसभाले संविधान दिन सकेन। फेरि म्याद थप गरियो। फेरिपनि नभएर विघटन भएर अर्को संविधानसभाले बल्लतल्ल दिएको संविधान कार्यान्वयन गर्न अझ झञ्झट भइरहेको छ। त्यसकारण यसमा हाम्रो एक्सेस थिएन।

आजभन्दा सात महिना अगाडि त्रिविले कार्यकारीको बैठकले १४ गतेका लागि चुनाव घोषणा गरेको हो। यसपालीको २० गतेको सिनेटले यसलाई अनुमोदन मात्रै गरेको हो। त्यसकारण कहीँ कुनै कन्फ्युजन नराखेर निर्वाचनमा हामी जान्छौं। केही साथीहरु यसबाट पीडित भएका छन् उहाँहरुका कुरालाई पनि सम्बोधन गर्नका लागि हामी आन्तरिक संरचनाभित्र व्यवस्थापन गर्छौ।

यो निर्वाचन मर्यादित ढंगले सम्पन्न गर्न नेविसंघले सहयोग गर्न सक्छ ?

नेविसंघ यसप्रति पूर्ण रुपमा प्रतिवद्ध छ। हामीले आचारसंहिता निर्माण गर्ने बेलामा पनि यो यो बाटो जानुपर्छ भन्‍ने केही आधारभूत कुराहरु तय गरेका छौं। जस्तै फ्लेक्स बोर्ड कहाँ लगाउने? भन्‍ने बारेमा झगडा हुन्थ्यो। त्यसको अन्त भएको छ। यसपाली प्लेक्स बोर्ड राख्न पाइदैन। वाल पेन्टिङ कहाँ गर्ने भन्‍ने सन्दर्भमा झगडा हुन्थ्यो। अब वाल पेन्टिङ पनि गर्न पाइदैन। मञ्‍चमा अलगअलग घोषणासभा गर्ने कार्यक्रम गर्ने हुन्थ्यो। यसपाली संयुक्त घोषणासभा गर्ने तय भएको छ, त्यो पनि क्याम्पसले नै फण्डिङ गरेर। यसले अलिकति हामीलाई खर्चको लोड पनि कम भएको छ। धेरै कुरा सुधार भएको छ।

यसपालीको स्ववियु निर्वाचनबाट विद्यार्थीहरुका नेताहरु वा विद्यार्थी संगठनहरु पनि केही परिवर्तन भएको देखाउन चाहन्छन्। झगडा हुने अरु विषयहरु यसपाली खास छैन। भर्ना हुने विषय हो। भर्नाका विषयका लागि त्रिविले आफ्नो कार्यतालिका सार्वजनिक गरिसकेपछि त्यसको अवस्था टुङ्गिहाल्छ। खाली एफोर साइजको ब्ल्याक एण्ड ह्वाइटको सानो पम्प्लेट मात्र बनाउन पाइन्छ। यसले तडकभडक धेरै कम भैसकेको छ।

स्ववियु निर्वाचनपछि तपाईंको संगठनलाई कुन हैसियतमा पाउछौं?

नेपालभरीको सर्वेक्षण रिपोर्ट र हामीले क्याम्पसमा पठाएका प्रतिनिधिको रिपोर्टको आधारमा ८८ प्रतिशत ठाउँमा नेविसंघको जित हुनेछ। त्यो जित जितका लागि मात्र हुदैन। नेपालको शैक्षिक रुपान्तरण, उन्‍नयन र शिक्षा प्रणालीमा देखिएका खराबीहरुको अन्त हुनेछ। शिक्षामा हरेक नेपाली जनताको छोराछोरीको पहुँचका लागि हुनेछ। त्यसै परिवर्तनको दिशामा अगाडि बढ्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.