|

काठमाडौं:  विश्वभरका प्रहरीको छाता सङ्गठनका रूपमा रहेको इन्टरपोलको २३ औँ एसिया क्षेत्रीय सम्मेलन अपराध नियन्त्रणका सम्बन्धमा पाँचबुँदे घोषणापत्र जारी गर्दै शुक्रबार सम्पन्न भएको छ। 

गत बुधबारदेखि सुरु भएको सम्मेलनले पारित गरेको पहिलो बुँदामा एसिया प्रशान्त क्षेत्रका लागि सन् २०१७ देखि २०२० सम्मको इन्टरपोलको रणनीति तय गर्ने उल्लेख छ। 

त्यसैगरी मानव बेचबिखन, बाल हिंसाजस्ता क्षेत्रमा संयुक्त कारबाही अगाडि बढाउने तथा एसियाली क्षेत्रमा सूचना सङ्कलन र आदान प्रदानलाई अझ बढी प्रभावकारी बनाउने सहमति भएको छ। 

आतङ्ककारी सङ्गठनको सम्बन्धमा विवरण सङ्कलन, आदानप्रदान, आतङ्ककारीको सम्पत्ति विवरण सङ्कलन लगायतका विषयमा सहकार्य गर्दै प्रहरीलाई बलियो बनाउने उल्लेख छ।  त्यसैगरी चौथो बुँदामा एसियाली क्षेत्रमा विद्युतीय अपराधविरुद्ध रणनीति तय गर्दै प्रहरीको सूचना तथा प्राविधिक ज्ञानको दायरा बढाउने उल्लेख छ। 

पाँचौँ बुँदामा अन्तरदेशीय वातावरणीय अपराध नियन्त्रण गर्ने तथा सोका लागि अन्तर्क्रिया, विवरण सङ्कलन र आदानप्रदान गर्ने उल्लेख छ।  सम्मेलनमा मानव बेचबिखन, बालबालिकाविरुद्ध हुने अपराध, सङ्गठित अपराध, सीमा सुरक्षा तथा व्यवस्थापन, सीमावर्ती अपराध, आतङ्कवाद, साइबर अपराध, वन्यजन्तुसम्बन्धी अपराधका विषयमा सम्मेलनमा छलफल भएको थियो। अर्को सम्मेलन दुई वर्षपछि इरानमा हुने भएको छ । 

सम्मेलनको समापन गर्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सम्मेलन उपलब्धिमूलक भएको विश्वास व्यक्त गर्दै अपराध नियन्त्रणका लागि अन्य मुलुकसँग सहकार्य गर्न नेपाल सरकार तयार रहेको बताए।

कानुन कार्यान्वयनका लागि एसियाली मुलुकबीच सहकार्य आवश्यक रहेकामा जोड दिँदै सम्मेलनले भूमिका खेलेको उनको भनाइ छ। गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीले प्रहरी संयन्त्रको सफलताको प्रतिविम्ब देशकै सफलतामा देखिने बताए।

नेपालमा अपराध गरी अन्य मुलुकमा लुकेर बसेकाहरुलाई पक्राउ गर्न सम्मेलनको छलफलले भूमिका खेल्ने विश्वास व्यक्त गरे।  इन्टरपोलका महासचिव जुर्गेन स्टकले सम्मेलन सफलताको प्रतिविम्ब निकट भविष्यमै देखिन थाल्ने विश्वास व्यक्त गरे।  

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरीका लागि सूचना आदानप्रदान र छलफलका लागि इन्टरपोलजस्तो निकाय अर्को नभएको टिप्पणी गरे। सम्मेलन समापनपछि आयोजित पत्रकार सम्मेलनमा प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताए। 

नेपाललाई अन्तरदेशीय सम्बन्ध विस्तार गर्न र अपाराधबारे सूचना आदानप्रदान गर्न सम्मेलनले सहयोग गरेको उनको भनाइ छ। सम्मेलनमा नवीन र राम्रा कामको अनुभव आदानप्रदान भएको उनले बताए। सम्मेलनमा विशेषतः सङ्गठित अपराध र आतङ्कवादका विषयमा केन्द्रित रहेको उनले जानकारी दिए। 

सम्मेलनमा ३३ राष्ट्रका १३६ जना कानुन कार्यान्वयन गर्ने सुरक्षा अधिकारीको प्रतिनिधित्व रहेको थियो। यसअघि १०औँ क्षेत्रीय सम्मेलन आयोजना गरेको नेपालले २७ वर्षपछि अहिले २३औँ सम्मेलन गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.