|

काठमाडौं : शुक्रबार दिउँसो १२ बजे त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपूर पुग्दा क्याम्पस हातामा किताब पढ्न आएका विद्यार्थी र केही घाम ताप्ने मात्र थिए। अधिकांश विषयका केन्द्रीय विभाग रहेको कीर्तिपूरमा हिउँदे विदा भएकोले कक्षा कोठाहरु बन्द थिए। विद्यार्थीको उपस्थिति न्यून थियो। हरेकजसो कार्यालयका केही कर्मचारी बाहिर घाम तापेर बसेका थिए।

त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियू निर्वाचनको मिती तोकेपनि त्रिविमा भने स्ववियू निर्वाचन बहसको विषय बनेको थिएन। केही विद्यार्थीहरु भने स्ववियू निर्वाचन होला? कि नहोला? भनेर कुराकानी गरिरहेका थिए। उनीहरु २८ वर्षे उमेर हदले गर्दा विद्यार्थी नेताहरु देखिन छाडेको भनेर कुराकानी गरिरहेका थिए।

त्रिविले यसपालादेखि लागु हुनेगरी स्ववियू निर्वाचनमा २८ वर्षभन्दा बढी उमेर पुगेको विद्यार्थीले उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ। त्रिवि छात्रवास अगाडिका पर्खालमा गरिएको भित्ते लेखन (वाल पेन्टिङ) ले भने क्याम्पसमा चुनाव लागेको बुझ्न सकिन्थ्यो। 

ताहाचलको महेन्द्र रत्न क्याम्पस गेटमा आफ्नो संगठनलाई मत दिन आग्रह गर्दै माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भित्ते लेखन गरेको छ। क्याम्पस हातामा भने केही कर्मचारी घाम तापेर आपसमा कुराकानी गर्दै बसेका थिए। क्याम्पस हातामा ताहाचल क्याम्पसका नेविसंघ सचिव कौशल दाहाल र उपाध्यक्ष कपिल थापा कुराकानी गरिरहेका थिए।

'माघ १७ देखि क्याम्पस खुल्छ र निर्वाचनको माहोल बन्छ', कौशलले भने, 'अहिले पनि परीक्षा फाराम भर्ने बाहेक खासै विद्यार्थी आइरहेका छैनन्।' उनले भित्ते लेखन नगर्ने र गरिएको पनि मेटाउन क्याम्पस प्रमुखका साथै अन्य विद्यार्थी संगठनका नेताहरुसँग कुराकानी भइरहेको बताए। चुनाव हुनेमा ढुक्क रहेको बताउदै उनले भने, '२८ वर्षे उमेरहदले २८ वर्ष कटेकाहरु विस्तारै विस्थापित हुदैछन्।'

लगभग १५०० विद्यार्थी रहेको अमृत साइन्स क्याम्पस पनि हिउँदे बिदाले सुनसान थियो। विद्यार्थी संगठनका नेताहरु बिहान आएर चुनावी रणनीति तय गरिरहेको एमएस्सी दोस्रो सेमेस्टरका विद्यार्थी विनय राना मगरले बताए। उनले भने, 'स्ववियू चुनाव हुने भयो भनेर सबै संगठनका साथीहरु प्रचारप्रसारको तयारी गरिरहेका छन्।' ८ वर्षपछि स्ववियू निर्वाचन हुन लागेकोले विद्यार्थी नेताहरु हौसिएको विनयले बताए।

घण्टाघरस्थित त्रिचन्द्र क्याम्पस पुग्दा अनेरास्ववियूका क्याम्पस अध्यक्ष संजीव धिताल सहितका कार्यकर्ता क्याम्पस अगाडिको पर्खालमा नारा लेख्दै थिए। उनले भने, 'पर्खालमा नारा लेखेर चुनाव हुने नै भयो भनेर वातावरण बनाउन खोजेका हौं।' स्ववियू निर्वाचन हुनेमा ढुक्क भएको बताउदै २८ वर्ष भन्दा बढी उमेर भएका अनेरास्ववियूका नेताहरुले पनि सघाइरहेको उनले बताए। क्याम्पस भित्र भने निर्वाचनको चहलपहल देखिएन।

बागबाजारस्थित पद्म कन्या क्याम्पसमा भने नेपाल प्रहरीहरुले सुरक्षा दिएको छ। क्याम्पसभित्र महिला प्रहरी बसिरहेका थिए। शुक्रबार बिहान क्रान्तिकारीका नेतृहरु क्याम्पस भित्र आउन खोज्दा झडपको स्थिति आएको क्याम्पस सुरक्षामा खटिएका अधिकारीले भने। पुस २५ गते पर्खालमा नारा लेख्ने विषयमा नेविसंघ र अखिल क्रान्तिकारीका विद्यार्थीबिच झडप भएको थियो। क्याम्पस भित्र नेविसंघका नेतृहरु र बाहिर क्रान्तिकारीका नेतृ रहेको उनले बताए।

'स्ववियू चुनाव लागेकोले निर्वाचन आचारसंहिता विरुद्ध वाल पेन्टिङ भएपछि झडप भएको हो' नेविसंघ सह- महामन्त्री साधना घिमिरेले भनिन्, 'आचारसंहिता नमान्दा यस्तो भयो।' निर्वाचन मिती घोषणा भएकोले आचारसंहिताको पालना गर्नुपर्ने साधनाले बताइन्। पद्मकन्या क्याम्पसको पर्खालमा लेखिएको नारा मेटिएको छ भने अरु निर्वाचन प्रचार सामग्री पनि छैन।

प्रदर्शनीमार्गमा रहेको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) र शंकरदेव क्याम्पसका स्ववियू जित्नुलाई सबै विद्यार्थी संगठन शाखको विषय मान्छन्। यी क्याम्पसहरुमा पनि स्ववियू चुनाव चियागफको विषय बनेको थियो।

आरआर क्याम्पस अगाडि अनेरास्ववियूका नेताहरु एकआपसमा कुराकानी गरिरहेका थिए। त्यस्तै अनेरास्ववियू क्रान्तिकारी र नयाँ शक्तिका विद्यार्थीहरु पनि थिए। उनीहरुको कुराकानीको विषय थियो - २८ वर्षे उमेरहद क्याम्पस खुलेपछिका प्रचार प्रसार रणनीति बारेमा कुराकानी गरिरहेका थिए। शंकरदेवमा भने स्ववियू चुनावको प्रचारप्रसार बाहिरै देखिने गरी गरिएको पाइएन।

नेपाल कमर्श क्याम्पस, बानेश्वरमा पनि वाल पेन्टिङ भएको छ। क्याम्पस बन्द भएकोले विद्यार्थी र विद्यार्थी संगठनको उपस्थिति रहेको पाइएन। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरुमा बिस्तारै स्ववियू चुनावको माहोल बन्दै गइरहेको पाइएको छ। विद्यार्थीहरु ८ वर्गपछि स्ववियूको चुनाव मार्फत नेतृत्व छनौट गर्दैछन्।

हेर्नुस् थप फोटोहरु:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.