'सारंगी बजाउँदा केटो बिग्रियो भन्थे'

|

काठमाडौं :  कहिल्यै याद गर्नु भएको छ? जिन्दगीका हरेक पाइलामा प्रोत्साहन गर्ने वस्तु भेटिन्छन्। तपाईं हिँड्दै गर्दा रुखलाई पार गर्नुहुन्छ। उसलाई याद गर्नुस : ऊ एकै ठाउँमा बसेर कति जनालाई प्राणवायु (अक्सिजन) दिइरहेको छ, माटोको संरक्षण गरिरहेको छ। जीवनमा यस्ता केही न केही वस्तु छन्, जसले सिकाइरहन्छन्।  

सायद मान्छेले आफू वरिपरीका वस्तुबाट नै धेरै सिक्छ। लक्ष्य निमार्ण गर्छ। परिवर्तन हुनु त समयको एउटा प्रकृया हो। परिवर्तनको यही नियमलाई पच्छ्याइरहेका बुद्धिसागर बस्याल ५० को दशकमा निकै चर्चित भए। गायक, कम्पोजर तथा सञ्चारकर्मीका तीनवटै भूमिकामा जमेका थिए उनी।

'कुरा साँचो छ,' 'रहिछेउ मजाकी,' 'डाँफे नाचेर,' 'क्या राम्रो तानसेन बजार,' 'छमछम पाउजुले,' 'चिठी लेखेर,' 'बाजेका पालामा,' 'लगाऊँ पिरती' लगायत बस्याल सृजित दोहोरी तथा पञ्चेबाजा गीतहरु अहिले पनि उस्तै चर्चित छन्। 'लाहुरे,' 'बुढेसकालैमा,' 'फाटेको लुगा,' 'तानसेनको बजारमा,' 'परेलीमा' लगायतका लोक र आधुनिक गीत उनका सुन्दर र जीवन्त सिर्जना हुन्।

चर्चाको शिखरमा रहेकै बेला नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक बस्याल नेपालको सांगीतिक आकाश र श्रोताबीचबाट एकाएक हराए। अनि उनीसँगै हराए एकपछि अर्को गरी हामीले सुन्न पाउने सुन्दर श्रृजनाहरु। चर्चा चुलिएकै बेला उनी देश छाडेर एकाएक क्यानडातिर लागे।

'कालीगण्डकीको पानी खाएर हुर्किएँ। हरेक दिन गण्डकीलाई हेर्दा मनमनै लाग्थ्यो, यसलाई कसले बाटो देखायो होला?', उनी सुनाउँछन्, 'उत्पति भएपछि आफ्नो बाटो आफैँ बनाउनुपर्छ।' आफू जीवनमा स्टोरी टेलर' बन्‍न हिडेको बताउँछन् उनी।

कतिपयले उनलाई 'पलायन भयो' भने। धेरैपछि काठमाडाैं झरेका बस्याललाई थाहाखबरले यो आरोपबारे जिज्ञासा राख्यो। तर उनले पलायनवादीको आरोप नकारे। 'विदेश जानु भनेको पलायन हुनु होइन, पलाउनु पनि हो,' उनीसँग स्पष्ट उत्तर छ। अंग्रेजी सहित्यको विद्यार्थी थिए उनी। संचारकर्म उनको अर्को पाटो थियो। उनी विश्व साहित्य र संगीतबारे बुझ्न चाहन्थे। पृथ्वी गोलो छ, गोलोमात्र होइन ठूलो पनि छ। मान्छे त्यही ठूलो गोलोमा गन्तब्य खोज्दै भाैंतारिरहने, दाैडिरहने यात्री हो। दोबाटोमा ठड्याएको शालिक होइन। 

समयको गतिसँगै दौडिरहेका उनी आइतबार नयाँ बानेश्‍वरमा भेटिए। भेट हुनेबित्तिकै उनले सुनाए, 'भिडियो डकुमेन्ट्रीसम्बन्धी काम गरिरहेको छु।' उनले विदेशमा पनि नेपाली गीत संगीतलाई विश्‍वभरका नेपालीमाझ पुर्‍याउन काम गरिरहेको बताए। 

कला, संस्कृति, ऐतिहासिक सम्पदा र प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो नेपाल। धार्मिक, सांस्कृतिक, पर्यटकीय हिसाबले पनि नेपाल विश्‍वकै आकर्षक गन्तब्यमा दरिन्छ। यो हामीले सुन्दै आएको कुरा हो। तर यसका लागि प्रचारप्रसार खोई त? विश्वभर नेपाल पर्यटनको उत्कृष्ट गन्तब्य हो भन्ने सञ्चार हुन जरुरी छ। तर प्रभावकारी रुपमा अहिलेसम्म त्यसो हुनै सकेको छैन। उनै बस्याल अहिले अहिले नेपालका विभिन्‍न भूभागमा पुगी भिडियो बनाउँदै विश्वका मुलुकमा देखाउन जुटिरहेका छन्।

संघर्षको कथा

स्याङ्जाको मालुङ्गामा जन्मेका हुन् बस्याल। उनी सानैदेखि रेडियोमा गीत सुन्थे। 'रेडियोभित्र कसरी मान्छे अट्छ होला' भन्‍ने जिज्ञासा लागिरहन्थ्यो रे बालककालमा। कहिलेकाहीँ मालुङको आकाश हुँदै जहाज उड्थे। उनलाई लाग्थ्यो, 'मालुङभन्दा पर पनि ठूलो दुनियाँ रहेछ।'

विकट गाउँमा हुर्किएका उनले देशमा चलेको द्वन्द्वसँग पनि जुध्नुपर्‍यो। आकाशको तारा हेरेर सपना देख्नुपर्ने समय थियो। अधिकांश नेपाली बच्चा माटोमा खेलेर हुर्किन्छन्। त्यो भन्दा फरक पृष्ठभूमि थिएन उनको पनि। बच्चैदेखि सारंगी बोकेर हिँड्थे। गीत प्रतियोगितामा भाग लिन्थे। प्रथम हुँदा उनले आमासँग खुशी साट्थे। सफलता हात नलागेका दिन उनी आमासामू रुन्थे। आमाले उनलाई सम्झाउँथिन्, 'वनको काँडा हेर, जसलाई कसैले तिखार्दैन।ऊ आफैँ तिखारिन्छ। तँ पनि एकदिन आफैँ तिखारिन्छस्। हरेस नखा!' आमाले दिने स्‍नेहले पुलकित बन्थे अनि हौसिन्थे। आमाको मायाले उनमा ऊर्जा गपिन्थ्यो।

आमाले उनलाई सम्झाउँथिन्, 'वनको काँडा हेर, जसलाई कसैले तिखार्दैन। ऊ आफैँ तिखारिन्छ। तँ पनि एकदिन आफैँ तिखारिन्छस्। हरेस नखा!'

आफ्नो जीवनको 'इन्सपिरेशन' आफ्नै गाउँठाउँ रहेको उनी सुनाउँछन्।  'कालीगण्डकीको पानी खाएर हुर्किएँ। हरेक दिन गण्डकीलाई हेर्दा मनमनै लाग्थ्यो-यसलाई कसले बाटो देखायो होला?', प्रकृतिलाई मानवीयकरणमा पोख्त बस्यालले उस्तै शैलीमा सुनाए-'उत्पति भएपछि आफ्नो बाटो आफैँ बनाउनुपर्छ।' आफू जीवनमा 'स्टोरी टेलर' बन्‍न हिँडेको बताउँछन् उनी।

'माध्यम फरक होलान्, कहिले गायकका रुपमा, कहिले संचारकर्मीका रूपमा, कहिले फिरन्तेका रुपमा, यहाँ हरेक मान्छे 'स्टोरी टेलर हो', उनी सुनाउँदै जान्छन्, 'माध्यम मात्रै फरक हुन सक्छ। मैले गायक र संचारकर्मीका रूपमा समाजको, देशको कथा बोलेको हुँ। यो क्रम अहिले पनि जारी छ।'

उनले कक्षा आठसम्म मालुङमा पढे। थप अध्ययन गर्न पाल्पातिर हान्‍निए। पाल्पामा पढ्दा-पढ्दै बस्यालले केही गीत निकाले। राष्ट्रियस्तरको गीत गाउने र स्नातक (बीए) पढ्ने मेसोमा पाल्पाबाटै काठमाडौं पसे। सानो ठाउँबाट राजधानीजस्तो महासागरमा पस्दा संघर्ष त गर्नैपर्छ, जसरी उड्न लागेको जहाजले भुइँ छोड्दा सबैभन्दा धेरै शक्ति प्रयोग गर्छ।

पाल्पा र स्याङ्जामा त उनी चर्चित भइसकेका थिए। काठमाडौं आएपछि मात्रै संगीत सिक्नुपर्छ भन्‍ने बुझे उनले। २ वर्ष शास्त्रीय संगीतको कक्षा लिए। संचारकर्मी बनेर लोकदोहोरी कार्यक्रम पनि चलाए।

उनले दोहोरी गीत गाउने बेला नेपालमा क्यासेटको प्रचलन नै थिएन। न त मनोरञ्‍जनको क्षेत्र नै अहिलेको जस्तो फराकिलो थियो। यद्यपि: अहिले पनि नेपाली सांगीतिक क्षेत्र फराकिलो भइनसकेको बस्यालको विश्लेषण छ।

राजधानीमा संघर्ष चलिरहेको थियो, 'बुढेसकालैमा...' बोलको गीत ल्याए। जसले नेपाली समाजका वृद्धहरुको जीवनको कथा बोलेको थियो। यो उनको जीवनकै चर्चित गीतमध्येको एक थियो। अहिले उनी जहाँ गए पनि बुढेसकालैमा...... गीतको अफर हुन्छ। 

गायनको भोकले उनलाई कुनै कुराले हल्लाउन सकेन। गाउँमा सारंगी रेट्दै हिँडेको ठिटो बजारसम्म पुगेर गीत गाउन थाले। तिनै गाउँलेले त्यसपछि भने, 'केटो ठूलो मान्छे हुँदैछ।'

उनले २०५६ सालमा ल्याएको 'शुभविवाह' बोलको गीतले पनि तहल्का मच्चायो। सोही गीतका लागि म्युजिक नेपालबाट उत्कृष्ट दोहोरी अवार्ड जिते। यसले बस्यालको परिचय अझै फराकिलो बन्यो।

गाउँमा सारंगी बजाएर हिँड्दा गाउँलेले भन्थे, 'केटो बिग्रयो।' तर गीत गाउने उनको भोकलाई त्यसले छुन सकेन। अरुको गनगनलाई उनले मतलब गरेनन्, आफ्नो गन्तब्यमा निरन्तर हिँडिरहे। गायनको भोकका अघि उनलाई कुनै कुराले हल्लाउन सकेन। गाउँमा सारंगी रेट्दै हिँडेको ठिटो बजारसम्म पुगेर गीत गाउन थाले। तिनै गाउँलेले त्यसपछि भने, 'केटो ठूलो मान्छे हुँदैछ।'

समाज परिवर्तन गर्ने ल्याकत सबैले राख्न सक्दैनन्। कुरीतिलाई 'ब्रेक' गरेर अघि बढ्न खोज्दा त्यही समाजले मुर्खको बिल्ला भिराइदिन्छ। सारंगी बोकेर हिँड्दा उनलाई पनि मुर्ख भन्थे। त्यो बेलाको समाजमा सारंगी बोकेर हिँड्नु नै समाजविरुद्धको कदम थियो। उनले अघिल्लो पुस्ता देखेर गीत गाउन सुरू गरे। उनले गाएको देखेर त्यसपछिका पंक्तिले पनि गीतबाट गला तिखार्न थाले। सारंगी बजाउन थाले। 

परिवर्तन एकै पटक या एकै झट्‌कामा हुँदैन, समय लाग्छ। अहिले पनि नेपाली लोकदोहोरीमा ठूलो परिवर्तन देख्दैनन् उनी। यो क्षेत्रमा अहिले गाउनेहरुको बाढी आएको छ। कतिपय गायनकै भोकले यो बाढीमा हेलिएका छन्, कतिपयलाई चर्चाको भोकले यहाँ होमेको छ। कतिपय पैसाकै कारण गायन क्षेत्रमा लागेका छन्। 

'नेपाली लोकदोहोरी क्षेत्रमा बाढी आएको छ। एकदिन बाढी कम होला। थिग्रिएपछि सांगीतिक क्षेत्र पनि सफा होला', बस्याल भन्छन्, 'संगीत क्षेत्र अहिले नै उद्योग बनिसकेको छैन। जीविकोपार्जन गर्ने बाटो मात्रै भएको छ।यो दु:खद कुरा हो। यसमा सरकार पनि गम्भीर हुनुपर्छ।'

तर वास्तवमै गाउने भोक थोरैलाई मात्रै छ। चर्चाको भोकले गाइएका गीतका कारण कान थुन्‍नुपर्ने अवस्था पनि आउँछ कहिलेकाहीँ। तीव्र गतिमा भइरहेको प्रविधिको विकासले कलाकारको मिहिनेत गर्ने बानी हराएको छ। 'युट्युब ट्रेण्डिङ'मा आउने लोभ र सामाजिक सञ्जालमा भाइरल हुने लोभले लोकदोहोरी क्षेत्र धमिलिएको बुझेका छन् उनले।

सांगीतिक क्षेत्र भताभुङ्ग हुनुको मुख्य कारण देश संक्रमणमा गुज्रिनुलाई ठान्छन् उनी। 'नेपाली लोकदोहोरी क्षेत्रमा बाढी आएको छ। एकदिन बाढी कम होला। थिग्रिएपछि सांगीतिक क्षेत्र पनि सफा होला', उनी भन्छन्, 'संगीत क्षेत्र अहिले नै उद्योग बनिसकेको छैन। जीविकोपार्जन गर्ने बाटो मात्रै भएको छ।यो दु:खद कुरा हो। यसमा सरकार पनि गम्भीर हुनुपर्छ।'

हालसम्म उनले कति गीत गाए, हिसाब गरेका छैनन्, त्यो फुर्सद पनि मिलेको छैन। उनलाई अहिले पनि केही नयाँ गर्ने भोक छ। 'यात्रीले कति पाइला हिँड्यो भनेर गन्दैन', उनले अन्तिममा सुनाए, 'गन्तव्यमा पुग्यो कि पुगेन त्यसको चाहिँ हिसाब गर्छ। म एक यात्री हुँ। अहिले पनि यात्रा जारी छ, मेरा पाइला रोकिएका छैनन्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.