|

काठमाडौं : नेपाल चलचित्र निर्माता संघले फिल्म पाइरेसीपछि भएको घटनामा 'छक्का पञ्जा'का निर्माता दीपकराज गिरीलाई आरोप नलगाउन आग्रह गरेको छ। चलचित्र छक्का पञ्जा पाइरेसीपछि त्यसमा संलग्न एक युवकले आत्महत्या गरेको विषयमा निर्मातालाई बिभिन्न लान्छना लगाइएको भन्दै निर्माता संघले त्यसमा निर्माताको दोष नरहेको बताएको छ। 

शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ 'चलचित्रको पाइरेसी र आत्महत्या  अलग अलग र भिन्न पाटो हुन्, कुनै पनि विषयवस्तुको सम्बन्धमा कसैप्रति आरोप प्रत्यारोपमा उत्रदा विषयवस्तु उपर गहिरिएर र त्यसको सत्यतामा आधारित रहेर मात्र अभिव्यक्ति दिँदा शोभनीय हुन्छ।'

छक्का पञ्जाको पाइरेसीपछि निर्माता तथा कलकार दीपकराज गिरी तथा प्रहरीको दबाबले गर्दा युवकले आत्महत्या गरेको भन्दै सामाजिक सञ्जाल र सञ्जार माध्यमहरुमा प्रचार भएपछि निर्माता संघले यसमा निर्माताको दोष नरहेको दावी गरेको हो।

शुक्रबार निर्माता संघले पत्रकार सम्मेलन गरी चलचित्र पाइरेसी फौजदारी अपराधमात्र नभई कसैको सिर्जनाको चोरी पनि भएकाले यसमा संलग्नले उन्मुक्ति पाउन नहुने बताएको छ। संघका अध्यक्ष आकाश अधिकारीले भने 'पाइरेसी भनेको चोरी हो, चोरी गर्नेलाई कारबाही त गर्नै पर्छ। तर कँहाबाट पाइरेसी भयो भन्ने कुरामा पनि अनुसन्धान गर्नुपर्छ।' 

'छक्का पञ्जा' पाइरेसीमा संलग्नको आरोप लागेका युवकले गरेको आत्महत्याप्रति निर्माता संघले दुख व्यक्त गरेको छ। छक्का पञ्जा पाइरेसीको विषयमा नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.