|

इटहरी : ठूलो व्यापारिक घरानाका रूपमा चिनिएको भाटभटेनी ग्रुपले इटहरीमा गैरकानुनी रूपमा भवन निर्माण सुरु गरेको छ। इटहरी-१६ मा बन्दै गरेको भाटभटेनी सुपर मार्केटको भवन नक्सा पासको प्रक्रिया नै पूरा नगरी धमाधम संरचना बनाउन थालिएको हो।

निर्माणाधीन भाटभटेनि पूर्णरूपमा व्यापारिक भवन हो। पूर्ण व्यापारिक भवन बनाउँदा उपमहानगरको नियमअनुसार उपप्रमुख संयोजक तथा स्ट्रक्चर इन्जिनियरसमेत भएको निरीक्षण समितिले सिफारिसले मात्र नक्सा पास गर्ने व्यवस्था छ। 

तर, इटहरीमा बन्‍न लागेको भाटभटेनीको नक्सापासको विषयमा आधिकारिक सिफारिस गर्ने समितिको संयोजकलाई नक्सापासबारे जानकारी नै छैन। ६ किसिमको भवन बनाउँदा उपमहानगरको  निरीक्षण समितिको सिफारिस अनिवार्य गरिएको छ।

यहाँको भवन ऐन २०७५ को दफा २४ को उपदफा ३ अनुसार ‘भवनको प्लिन्थ एरियाको क्षेत्रफल ५००० बर्गफिट र तीन तलाभन्दा बढी भएमा, स्वास्थ्य वा शैक्षिक संस्था वा कम्प्लेक्स वा पूर्ण व्यापारिक भवन भएमा अनिवार्य रूपमा निरीक्षण एवं प्राविधिक समितिको सिफारिसमा नक्सापास हुनेछ’ भन्‍ने उल्लेख छ।

उपमेयर संयोजक रहने उक्त निरीक्षण समितिमा प्रमुख प्रशासकीय अधिकृतसँगै स्ट्रक्चर इन्जिनियरसमेत हुन्छन्। समितिको संयोजक तथा उपप्रमुख लक्ष्मी गौतमलाई नै भाटभटेनीले भवन बनाउन नक्सापास गरेको या नगरेको बारे जानकारी छैन। भाटभटेनीले स्थानीय तहको निर्माण ऐनलाई अटेर गरी भवन बनाउन सुरु गरेको हो।  

उपमेयरलाई ‘बाइपास’ गरेर भयो निर्णय

भाटभटेनिको शिलान्यास भएको झन्डै एकवर्ष भयो। उपमहानगरमा भने आधिकारिक रूपमा गत जेठमा भाटभटेनिले नक्सापासको लागि निवेदन दिएको देखिन्छ । जेठमा आएको निवेदन ३ महिनासम्म पनि उपमेयरको टेबलमा पुगेन। जब उपमेयर आफ्नो इलाजको लागि भदौ ६ गते भारत गइन्। ६ गते उपप्रमुख हिँड्नेबित्तिकै भदौ ८ गते नै भाटभटेनीलाई भवन ऐन मिच्दै सुटुक्क निर्माण इजाजत दिइयो। 

इजाजत दिँदा सम्बन्धित-१६ नम्बर वडाका अध्यक्षलाई संयोजक बनाएर भाटभटेनीलाई इजाजत दिएको भेटिएको छ। तर, भवननिर्माणसम्बन्धी ऐनले भने उपप्रमुखबाहेक अन्यले सो समितिको संयोजक बन्‍न पाउने प्रावधान नै राखेको छैन।

बाटोमै निर्माण सामग्री राखेर काम गर्दा जनताको गुनासो आएपछि उपप्रमुख गौतमले भाटभटेनी फायल मगाएपछि निर्माण अनुमति दिएको थाहा पाएको बताइउँछिन्। आफ्नो अनुपस्थितिमा बिनाअधिकार पास गरेको नक्सा अहिले गौतमले नै राखेकी छन।

‘म इन्डियाबाट फर्किएपछि भाटभटेनीले धमाधम काम थालेको देखेँ, जनताको गुनासो पनि आयो,’ उपप्रमुख गौतम भन्छिन्,’ ‘यत्रो ठूलो संरचनाको अनुमति दिने जिम्मा मेरै हुँदा पनि थाहा नपाएपछि फायल मागेर अहिले आफैँसँग राखेकी छु।’ 

नियमविपरीत भएको बैठकमा उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर अर्जुन दाहाल, १६ नम्बर वडाध्यक्ष दीपनारायण चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बिकाकुमारी शाहको हस्ताक्षर छ।

अख्तियारमा पर्‍यो उजुरी

कानुनमै नभएको प्रावधानअनुसार नक्सापास भएको भन्दै इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयमा समेत उजुरी परेको छ। भवन संहिता र इटहरी भवन ऐन २०७५ विपरीत नक्सापास भएको भन्दै कारबाहीको लागि उजुरी परेको हो।

गत मंसिर २५ गते अख्तियारमा परेको बेनामे उजुरीमा भनिएको छ, ‘भाटभटेनिले बनाउँदै गरेको भवन इजाजत लिँदा इटहरी उपमहानगरबाट कानुनविपरीत ढंगबाट लिइएको पाइएकाले आवश्यक कारबाही गरिपाऊँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.