|

नुवाकोट: पुनःसंरचनाप्रति असहमति जनाउँदै आन्दोलित नुवाकोटका ४ गाविसका स्थानीय बासिन्दाले शुक्रबार जिल्ला विकास समितिको कार्यालयमा आक्रमण गरी तोडफोड र आगजनी गरेका छन्। तोडफोड र आगजनीका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ।

स्थानीय तहको पुनःसंरचनामा जिल्लाबाट सिफारिस भएका लिखु गाउँपालिका हटाएको विरोधमा आन्दोलनमा उत्रिएका खानीगाउँलगायत ४ गाविसका सर्वसाधारणले चर्को नाराबाजीसहित एकैपटक जिविस कार्यालयमा आक्रमण गरी लाखौंको सम्पत्ति नष्ट गरेका हुन्। प्रहरीले आक्रमण रोक्ने क्रममा आधा घण्टासम्म दोहोरो झडप भएको हो।

प्रदर्शनकारीले जिविस कार्यालयको मूलढोका तोडफोड गरी आक्रमणमा उत्रिएपछि प्रहरीले २२ राउण्ड अश्रुग्यास र १२ थान रबर बुलेट प्रहार गरेको छ। आक्रमणमा प्रहरी नायब निरीक्षक लेखनाथ आचार्यसहित १५ प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। आक्रमणमा थानसिंहका विनोद पाठकसहित २ प्रदर्शनकारी घाइते भएका छन्। पाठकको तिघ्रामा रबरको गोली लागेको छ। 

स्थानीय निकाय पुनःसंरचना आयोगले जिल्लाबाट पठाएको प्रतिवेदनलाई उल्ट्याएर छुट्टै खाका भएको प्रतिवेदन सरकारलाई बुझाएको भन्दै जिल्लाभर असन्तुष्टि बढेको हो। स्थानीय तहको पुनःसंरचनामा जिल्लाबाट सिफारिस भएको लिखु गाउँपालिका हटाएको विरोधमा थानसिंह, चौघडा, सूर्यमती र खानीगाउँ गाविसका सर्वसाधारण ५ दिनदेखि पूर्वी भेग ठप्प बनाएर आन्दोलनमा उत्रिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.