|

  • बिदुर कटुवाल-

उदयपुर : उदयपुरको ठोक्सिलामा नेताले शिलन्यास गरेको पुल कार्यकर्ताले भत्काएका छन्। शुक्रबार दिउँसो रामपुर ठोक्सिलास्थित गिदेरी खोलाको निर्माणाधीन पुलमा गुणस्तरहीन काम भएको भन्दै भत्काएका हुन्।

२०७० सालमा नेपाली कांग्रेसका नेता तथा उदयपुर क्षेत्र नं. १ का सांसद डा. नारायण खड्काले शिलान्यास गरेको पुल कांग्रेस कार्यकर्ताले नै गुणस्तरहीन भएको भन्दै शुत्रबार भत्काएका छन्। कांग्रेसका रामपुर गाउँ पार्टी पूर्व सभापति जयप्रसाद सुवेदी र सभापति सुशील सेडाईले नेता खड्काको आडमा ठेकेदारले गुणस्तरहीन काम गरेको भन्दै पुल निर्माणमा अवरोध सिर्जना गरेका हुन्। अहिले सेडाई र सुवेदीको अगुवाईमा पुलको निर्माण कार्यमा रोक समेत लगाइएको छ।

२०७४ साल असारमा निर्माण सम्पन्न गरिसक्नुपर्ने पुलमा लगाइएको गिटी बालुवा कमसल प्रयोग प्रयोग गरेकोले निर्माण कार्य रोक्नुपरेको काग्रेस गाउँ पार्टी सभापति सुशील सेडाईले बताए। ‘हातले कोट्याउदा भत्किने पुल हामीलाई चाहिदैन, बरु पुल नै नबनोस्’ कांग्रेसका स्थानीय नेता सेडाईले भने ‘यहाँ डिभिजन सडक कार्यालय लहानको प्रमुख र मुख्य ठेकेदार नआई काम हुदैन।’

कांग्रेस नेता तथा सासद खड्काले निर्वाचन आउन लागेकाले भोटको लागि ठेकेदार पठाएर काम गरे जस्तो गरेको नेकपा एमालेका नेता दुर्गा कुमार थापा स्वस्तिकले आरोप लगाए। ‘यो पुल पहिलो संविधान सभाको चुनावताका २०६४ मा पहिलो पटक शिलान्यास गरे, दोस्रो पटक २०६९ सालमा पुलको योजना परेपछि गरे, तेस्रो पटक २०७० सालमा जम्मा तीन पटक शिलान्यास भएको पुलको हालत यस्तो हुनुमा सांसद खड्का नै दोषी हुन्’ उनले भने ‘आफूले शिलान्यास गरेको आफ्नो निर्वाचन क्षेत्रको पुल ३ बर्ष बित्दा पनि नबन्नु भनेको नेता खड्काको ठेकेदारसँग मिलेमतो छ।’

डिभिजन सडक कार्यालय लहानका प्रतिनिधि र ठेकेदारलाई निर्माण स्थलमा नै लगेर कांग्रेस, एमाले, माओवादी केन्द्र र संघीय समाजवादी पार्टीका स्थानीय प्रतिनिधिहरुले गुणस्तरयुक्त काम हुनुपर्ने बताएका छन्।

पप्पु/मृत संजिवनी जेभी बानेश्वरले १४ करोड लागतमा निर्माण सम्झौता गरेको उक्त पुल मधेश आन्दोलन लगायत बिभिन्न कारणले गर्दा ढिलाई भएको सडक डिभिजन कार्यालय लहानका ईन्जिनियर सोभित लाल ठाकुरले बताए। उनले भने ‘ढिलो हुनुको एउटा कारण त नाकाबन्दी नै हो तर ठेकेदारले चासो नदिएको कारणले पुल निर्माणमा ढिलाई भएको हो।’

कम गुणस्तरको निर्माण समाग्री प्रयोग नगरी अर्को निर्माण सामग्री प्रयोग गर्ने इन्जिनियर ठाकुरले बताए। पुलको पिल्लरको फाउन्डेसनमा प्रयोग भएको गिटी, बालुवा कमसल भएको भनि स्थानीयले हटाउन माग गरेको थिए।

अगामी ६ महिनाभित्र निर्माण सम्पन्न हुने पुलको हाल १० प्रतिशत मात्र कार्य भएको छ। तीन बर्षसम्म काम नगरी बसेको ठेकेदार स्थानीय तथा संसदीय चुनाव गर्ने चर्चासँगै नेता खड्काले काम गरे जस्तो गर्नको लागि पठाएको हुन सक्ने आरोप स्थानीयको छ। ७ वटा आरसीसी पिल्लर रहेको उक्त पुलमा ६ वटा स्पाम रहने जनाइएको छ। रामपुर–मागलपुर–तपेश्वरी–फत्तेपुर सडकखण्डमा अति आवाश्यक पुल हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.