|

धनकुटा : धनकुटामा सरकारी कार्यालयसहित ३ वटा कार्यालय अनिश्चितकालीन तालाबन्दी भएको १५ दिनसम्म सरोकारवाला पक्ष मौन बस्दा सेवाग्राही मारमा परेका छन्। गत मङ्सिर २३ गते तालाबन्दी भएको र त्यसको १५ दिन बितिसक्दा पनि ताला खुल्न नसक्दा अन्योल र जटिलता भएको छ।

वाणिज्‍य संघको निर्वाचनतालिका प्रकाशित भई निर्वाचन कार्यक्रम अगाडि बढीरहेको अवस्थामा धनकुटा उद्योग वाणिज्य संघको निर्वाचनमा नयाँ सदस्य पुन खुल्ला गर्नुपर्ने माग राख्दै केही व्यवसायीले तालाबन्दी गरेका हुन्।

तालतबन्दीको कारण युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयद्धारा सञ्चालित प्रमुख जिल्ला अधिकारी अध्यक्ष भएको जिल्ला संयोजन तथा अनुगमन समितिको कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंको समन्वयमा सञ्चालित ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धिको कार्यालय र धनकुटा उद्योग वाणिज्य संघको कार्यालय गत मङ्सिर २३ गतेदेखि बन्द भएका छन्।

सेवाग्राही मारमा

तालाबन्दीका कारण युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयद्धारा सञ्चालित जिल्ला संयोजन तथा अनुगमन समितिमा युवा स्वरोजगारको कर्जा सम्झौता हुन सकेको छैन।

कर्जा युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयद्धारा सञ्चालित जिल्ला संयोजन तथा अनुगमन समितिमा सम्झौता गरेर जिल्लाका विभिन्न सहाकारीले वितरण गर्दै आएका छन्।

पुस पहिलो हप्तामा कर्जा सम्झौता गरिसक्नुपर्ने भनेर सूचना आएकाले पटकपटक सम्झौता गर्न आउँदा पनि तालाबन्दीका कारणले सम्झौता हुन नसकेको धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ मा रहेको सुलभ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मेघेन्द्र गुरुङले बताए।

यस्तै, तालाबन्दीको कारणले समृद्धि आयोजनाले यहि डिसेम्बरभित्रमा कृषि उत्पादनसँग सम्बन्धित क्रियाकलाप गर्ने कृषि समूहलाई १४ लाखसम्मको आधुनिक मेसिन औजार अनुदानको काम प्रभावित भएको छ। तालाबन्दीका कारण डाँडागाउँ तरकारी कृषक समूह शहीदभूमि गाउँपालिका–३, महालक्ष्मी नगरपालिका वडा नं. ८ को आदर्श कृषि दुग्ध उत्पादक समूह र महालक्ष्मी–९ को देउराली दुग्ध उत्पादक समूहको सम्पूर्ण कागजपत्र थुनिएकोले उनीहरूले पाउने अनुदान प्रभावित भएको  छ।

तीनपटक धाउँदा पनि तालाबन्दीका कारण किसानले पाउने अनुदानबाट वञ्चित भएको डाँडागाउँ तरकारी कृषक समूहका अध्यक्ष उमेश राईले गुनासो गरे। यो डिसेम्बरभित्रमा अनुदानको काम नसकिए बजेट फिर्ता जाने समृद्धि आयोजना कार्यालय धनकुटाका आपूर्ति श्रृंखला सुपरभाइजर बलबहादुर पौडेलले बताए। उनले आयोजना कार्यालयले गर्ने समूह गठनको काम प्रभावित भएको पनि बताए।

वाणिज्‍य संघको काम प्रभावित

यस्तै तालाबन्दीको कारणले धनकुटा उद्योग वाणिज्य संघमा सिफारिस प्रमाणित, सफ्टवेयर अपडेटको काम प्रभावित भएको छ। यता धनकुटाका प्रमुख जिल्ला अधिकारी डा. कृष्ण घिमिरेले जिल्ला प्रशासन कार्यालयमा पटकपटक भएको छलफलमा उद्योग वाणिज्य संघ आफैँले असन्तुष्ट पक्षसँग वार्ता गरेर ताला खोल्ने बताएपछि आफू सहमतिको पर्खाइमा रहको बताए।

यस्तै उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले असन्तुष्ट पक्षलाई पटकपटक वार्तामा बोलाए पनि नआएका कारणले समस्या भएको बताए। उनले वार्ताबाट समाधान खोज्न उद्योग वाणिज्य संघ सधैँ तयार रहको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.