|

जुम्ला : जुम्लाको नराकोट गाविसमा घर चर्पी नहुनेले विवाह गर्न नपाउने भएका छन्। गाउँलाई पूर्ण सरसफाइयुक्त बनाउन गाविसले चर्पी भएमात्र विवाह गर्न पाउने आचार संहिता बनाएको हो।

जुम्ला जिल्लालाई गत वर्षको फागुन महिनामा नै खुला दिसामुक्त घोषणा गरिएको थियो। खुला दिशामुक्त भइसकेको गाविसलाई पूर्ण सरसफाइयुक्त बनाउन दबाबमुलक अभियान चलाइएको गाविस सचिव एकराज गिरीले जानकारी दिए। उनका अनुसार चर्पी नभएमा विवाह गर्न नपाउने दबाबमुलक अभियानलाई गाउँ परिषदले पनि अनुमोदन गरेको छ।

नराकोटमा एक वर्षयता १५ जनाको विवाह भएको छ। तीमध्ये धेरैको घरमा पहिले नै चर्पी थियो भने नहुनेको घरमा स्थानीय युवाहरुको सक्रियतामा चर्पी बनाइएको थियो। आर्थिक अभावका कारण चर्पी बनाउन नसक्नेहरुलाई गाविस र गैरसरकारी संस्थाहरुले सहयोग गर्दै आएका छन्।

यो अभियानमा गाउँलेको साथ रहेको स्थानीय रतनबहादुर शाहीले बताए। उनले गाविसमा पूर्ण सरसफाइ गर्न यो अभियानलाई निरन्तर गर्न आवश्यक रहेको पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.