|

गुल्मी : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पहिरोपीडितका लागि पुनर्स्थापना कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको एकीकृत बस्तीका लागि बजेटको अभाव नहुने बताएका छन्।

गुल्मी जिल्लाको सत्यावती गाउँपालिका-१ अस्लेवामा पुनर्स्थापना कार्यक्रमअन्तर्गत एकीकृत बस्तीको  शिलान्यास कार्यक्रममा बोल्दै  मन्त्री ज्ञवालीले पहिरोपीडितको व्यवस्थापनमा आर्थिक अभाव हुन नदिने बताएका हुन्। 

मन्त्री ज्ञवालीले सरकार सधैँ पीडितको पक्षको साथमा रहने बताउँदै  तत्कालका लागि केन्द्र सरकारले ३० करोड रकम विनियोजन गरेको बताए।  उनले निर्माण हुन लागेको संरचनाको गुणस्तरीतालाई ध्यान दिन आग्रह गरे। 

आयआर्जनका कार्यक्रम गर्न आग्रह

पहिरोपीडितका लागि एकीकृत बस्ती निर्माणसँगै आयआर्जनका कार्यक्रमलाई प्रथामिकता दिन मन्त्री ज्ञवालीले आग्रह गरेका छन्। उनले देशको शत्रु भनेको गरिबी भएको भन्दै त्यसलाई अन्त्य गर्नका लागि आयआर्जनसँज जोडिनुपर्नेमा जोड दिए। यस क्षेत्रमा उत्पादित बस्तुलाई मध्यनजर गर्दै होमस्टे संचालन गरी आयआर्जनमा वृद्धि गर्न सकिने धारणसमेत उनले व्यक्त गरे।

अर्को एक फरक प्रसंगमा मन्त्री ज्ञवालीले सडक स्तरउन्नति र खानेपानीलाई आफूले पहिलो प्राथमिकता दिएको बताए। ग्रामीणस्तरबाट बसाइँसराई रोक्नका लागि सडकसँगै खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको भन्दै शिक्षा, स्वास्थयको समुचित व्यवस्थापन गर्नमा आफूले सधैँ प्रयास गरिरहने दाबी गरे।

केन्द्र सरकारले ३० करोड रकम विनियोजन गरेकोमा प्रदेश सरकारले पनि १० करोड रकम छुट्याएको छ। पहिलो चरणमा  ७९ घरपरिवारका लागि बस्ती निर्माण गरिने क्रमशः तीन चरणमा एक सय ६० घर परिवारका लागि बस्ती निर्माण गर्ने गरी योजना तयार गरेको सत्यवती गाउँपालिका-१ अस्लेवाका वडा अध्यक्ष भीमलाल पाण्डेले जानकारी दिए।

गत साउन ७ गते सत्यवती गाउँपालिलकाको लिम्घा र ठूलोलुम्पेकमा पहिरो जाँदा १३ जनाको मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.