|
स्ववियु निर्वाचनको तयारीमा त्रिचन्द्र क्याम्पस अगाडि विद्यार्थी

अशैक्षिक र अराजक चरित्रका कारण आम विद्यार्थीमा विद्यार्थी संगठनप्रतिको अपनत्वको भावना हराउँदै गएको छ। त्यसैले पनि विद्यार्थी संगठनहरू विश्वविद्यालय र कलेजहरूमा आकर्षणको केन्द्र बन्न सकिरहेका छैनन्। शैक्षिक आन्दोलनका अभियन्ता विद्यार्थी संगठनहरूको कार्यशैली र व्यवहारका कारण आज विद्यार्थी आन्दोलन विसंगति र विसर्जनको बाटोतिर गइरहेको छ। 

देश विकासका मेरुदण्ड उर्जाशील युवा अध्ययनका लागि विदेशिने संख्या वर्षेनी वृद्धि हुँदै गएको छ। गणतन्त्र आएपछि स्वदेशमा अवसरको ढोका खुल्छ भन्ने विश्वास गरिएको भए पनि राजनीतिक अस्थिरता र विद्यार्थी संघ संगठनहरूको ‘राजनीतिक प्रदुषण’ले विदेशिने विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको हो। आज महिनाको सरदर ३ हजार अर्थात् दैनिक १ सय विद्यार्थी अध्ययनका लागि विदेशिने गरेका छन्। यसरी विदेशिने नेपाली विद्यार्थी संसारका ७६ देशका कलेजमा पुगेका शिक्षा मन्त्रालयको तथ्याङ्क छ। 

आर्थिक वर्ष ०७०\७१ मा २८ हजार १ सय २६ विद्यार्थीले नो ‘अब्जेक्सन लेटर’ लिएका थिए भने आव ०७१\०७२ मा ३० हजार ६ सय ९६ ले ‘नो अब्जेक्सन’ लेटर लिएका थिए। ०७२\०७३ मा भने ३२ हजार ४ सय ८९ जनाले ‘नो अब्जेक्सन’ लेटर लिएका थिए। यसको अर्थ उच्च शिक्षाको नाउँमा वर्षेनि करिब २० अर्ब रुपैयाँ बाहिरिरहेको छ।

यसको मुख्य कारण विद्यार्थी संघ संगठन र संघ संगठनका राजनीतिक क्रियाकलाप नै हुन्। माउ पार्टीले बोकेको राजनीतिक स्वार्थका लागि सडकमा ढुंगामुढा गर्ने, टायर बाल्ने, सडक अवरोध गर्ने, चक्काजाम र बन्द हडतालमा उत्रिने जस्ता क्रियाकलाप विद्यार्थी संघ संगठनहरूको दैनन्दिन बन्ने गरेको छ। यस्तै विश्वविद्यालय र क्याम्पसमा उपकुलपति तथा प्राध्यापक नियुक्तिमा मोटो रकम असुल्ने ठेकदारका रूपमा विद्यार्थी नेता नै परिचालित हुनुले पनि आम विद्यार्थीमाझ विद्यार्थी संघ\संगठन र शैक्षिक आन्दोलनप्रति नै वितृष्णा जागेको छ। 

विद्यार्थी नेताको व्यक्तिगत चरित्र पनि विकर्षणको अर्को कारण हो। विद्यार्थी नेताहरूलाई नियाल्दा उनीहरू कुनै शैक्षिक संस्था र शैक्षिक ‘कोर्स’ भित्र संलग्न रहेको पाइँदैन। उनीहरूको रवाफपूर्ण जीवनशैलीले आम विद्यार्थीको प्रतिनिधित्व गर्दैन। आफूलाई विद्यार्थी नेताका रूपमा चिनाउनेको बहस सुन्दा प्रष्ट हुन्छ, ऊ विद्यार्थी आन्दोलनका लागि नभई आफू र संगठनको  स्वार्थपूर्तिका लागि विद्यार्थी नेता बनेको हो। उमेरले ४० काटे पनि विद्यार्थी नेताहरू स्ववियुमा ब्रह्मलुट मच्चाउन लागिपरेको उनीहरूको व्यवहारले देखाउँछ।

विद्यार्थी आन्दोलनमा अरुचि पैदा हुनुमा संगठनहरूको पुरानै संरचना र पुरानै कार्यशैली पनि हो। आज पनि विश्वविद्यालय र क्याम्पसहरूको ठेक्कापट्टामा भागबण्डा नमिल्दा विद्यार्थी संघ संगठनहरु बीच खुकुरी र गोली प्रहारसम्मका घटना हुन्छन्। विद्यार्थी संगठनहरू माउ पार्टीको स्वार्थका लागि कहिले बन्द, कहिले हड्ताल गर्न पछि पर्दैनन्। शक्ति प्रदर्शनका लागि स्कुल/कलेज बन्द गरी विद्यार्थीलाई कार्यक्रममा जान बाध्य पारिन्छ। त्यसैकारण अहिलेका विद्यार्थी संगठनहरूको आन्दोलन विद्यार्थीकेन्द्रित बन्न सकेका छैनन्।

के मुलुकमा हुने राजनीतिक, आर्थिक सामाजिक र शैक्षिक परिवर्तन र आन्दोलनहरूमा विद्यार्थीको भूमिका कमजोर भएकै हो ? विद्यार्थी आन्दोलनको प्रभावकारिता किन दिन प्रतिदिन खस्किदै छ? किन शैक्षिक मुद्दाहरू सबै विद्यार्थी संगठनहरूको अवलम्बन गर्न सकेका छैनन्? के ऊर्जाशील युवा विद्यार्थी संघ\संगठनहरू गर्ने यस्तै क्रियाकलाप नै हुन्? आम नागरिक विद्यार्थीहरू विद्यार्थी संगठनमाथि प्रश्न तेर्स्याउँदै छन्।

हो, बदलिँदो समयअनुरूपको शैक्षिक आन्दोलनलाई आत्मसात गर्न अहिले विद्यार्थी राजनीति र आन्दोलनले  सकेको छैन। विद्यार्थी राजनीति, संस्कार, पद्धति र प्रवृत्तिमा क्रमिक विचलन र विश्रृंखलता देखा पर्दै गएको छ। विद्यार्थी संगठनहरु बिचमा बिल्कुलै अशोभनीय, अराजकता, उदण्डता, मनपरितन्त्र र स्वेच्छाचारिता हाबी भएको छ। गुट–उपगुटका आधारमा बार्गेनिङ, आत्मकेन्द्रित र व्यक्तिवादी आचरण तथा दण्डहीनताले विद्यार्थी आन्दोलनलाई प्रभावहीन बनाएको छ। फेरिएको परिस्थितिअनुरूप विद्यार्थी संगठनहरू जुन ढङ्गले रूपान्तरित हुनुपर्थ्यो त्यो नहुँदा आन्दोलन नै धरासायी बनेको हो। विद्यार्थीको कार्यशैली हिजो जे थियो अहिले पनि त्यही छ। 

के अब विद्यार्थी संघ\संगठनहरूको आन्दोलन आवश्यक छैन त? शिथिल र प्रभावहीन बनेको आन्दोलनलाई गति दिने दायित्व विद्यार्थीहरूकै हो। विद्यार्थी आन्दोलनको विसंगतिपूर्ण पाटो हटाई संगतिपूर्ण अध्याय सुरु गर्नु नै आजको प्रमुख चुनौती र कार्यभार हो। विद्यार्थी आन्दोलनको अबको बाटो कस्तो हुनुपर्छ? एजेण्डाहरू के–के हुनुपर्छ? आन्दोलनको बाटो ध्वसंको हो या विकासको? राजनीतिक दलको पिछलग्गु हुने वा शैक्षिक मुद्दामा केन्द्रित हुने? विद्यार्थी संगठनहरूको अबको बहस यस्ता विषयमा केन्द्रित हुनुपर्दछ। नेपालको शैक्षिक आन्दोलनलाई नयाँ उचाइ दिने, व्यावहारिक र वैज्ञानिक शिक्षाको वकालत गर्ने, विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने आधुनिक शिक्षाको विकास गर्ने, प्राविधिक शिक्षासम्बन्धी प्रष्ट कार्यनीति बनाउन दबाब दिनेलगायतका विषय विद्यार्थी संघ/संगठनले प्राथमिकतामा राख्नुपर्छ।

विश्वविद्यालयहरूको वार्षिक शैक्षिक कार्यतालिका अनुरूप विद्यार्थी भर्ना, शिक्षण अवधि र परीक्षा प्रणाली कार्यान्वयनका लागि पहल गर्नु पनि विद्यार्थी संगठनहरूको दायित्व हो। योग्य र सक्षम प्राध्यापक\शिक्षकलाई अनुसन्धानमा लाग्ने वातावरण बनाउनु, पेशागत विकासका निम्ति उनीहरूलाई आवश्यक तालिम सञ्चालनका लागि सम्बन्धित निकायलाई घच्घच्याउनु पनि उनीहरूको कर्तव्य हो। 

रत्नपार्कमा अनसन बस्नेहरूलाई जुस खुवाएर प्राध्यापक बनाइने गैर राजनीतिक क्रियाकलाप अन्त्य गर्दै क्षमता र योग्यताका आधारमा विश्यविद्यालयका पदाधिकारी र प्राध्यापकहरूको नियुक्तिका लागि सरकार र दलहरूलाई दबाब दिन सक्नुपर्छ, विद्यार्थी संगठनहरूले। उदारीकृत अर्थ–राजनीतिक संरचना र प्रक्रियाभित्र शिक्षा क्षेत्रको व्यापारीकरण रोक्न स्पष्ट ‘भिजन’ र क्रियाकलाप सञ्चालन गर्नुपर्दछ। समाजशास्त्री चैतन्य मिश्रले भनेझैं, ‘बदलिँदो नेपाली समाजमा राष्ट्रिय राजनीति भनेको विद्यार्थीले गर्ने राजनीतिको सम्पूर्ण पक्ष होइन, विद्यार्थी जीवनको मुख्य पाटो विद्यार्थीकै राजनीति हो।’ विद्यार्थी संगठनहरूलेसमयको परिवर्तनसँगै अब आफ्नो भूमिकालाई परिमार्जन गर्न आवश्यक छ। 

विद्यार्थी संगठनहरूको मुख्य उद्देश्य विद्यार्थी हकहित र शिक्षा क्षेत्रमा व्याप्त अनुशासनहीनता तथा अराजकताविरुद्ध उत्रिनु हुनुपर्छ। माउ पार्टीका नेतालाई सिँढी चढाउने भर्याङ बन्ने नभई शैक्षिक नीति निर्माण र कार्यावन्यनमा माउ पार्टीलाई निर्देशन दिने पथ प्रदर्शक बन्नुपर्छ। नयाँ संविधानको कार्यान्वयनसँगै संघीय संरचनामा आधारित राज्यव्यवस्थामा शिक्षालाई कसरी जोड्न सकिन्छ भन्ने सूत्र विद्यार्थी संगठनले दिनुपर्छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको माफियातन्त्र र व्यापारीकरण रोक्न आन्दोलनको अगुवाइ विद्यार्थी संघ\संगठनहरूले गर्नुपर्छ। दिशाविहीन र प्रभावहीन बन्दै गएको विद्यार्थी आन्दोलनले मार्गदर्शन र आम विद्यार्थीको साथ पाउने मुख्य सूत्र यही नै हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.