|
फोटो : www.bbc.com/nepali

  • रमेश पराजुली-

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक जिल्लामा प्रकृतिक प्रकोपबाट ३० बर्षमा झण्डै ५ हजार जनाको मृत्यु भएको छ। बाढी, पहिरो, भूकम्प, चट्याङ, महामारी जस्ता प्रकोपबाट ३० वर्षमा ४ हजार ९ सय ८१ जनाले ज्यान गुमाएका छन्। त्यस्तै १ हजार ४ सय ३५ घाइते, ६७ हजार २ सय ५७ घर ध्वस्त हुनुका साथै कयौँ रोपनी खेतीयोग्य जमिन विनाश भएका छन्।

शैक्षिक संस्थाहरु, सामाजिक सेवाहरु, स्थानीय सम्पदाहरु, भौतिक पूर्वाधारमा प्रत्यक्ष रुपमा प्रभाव पारेको छ। जिल्लामा हरेक वर्ष प्राकृतिक प्रकोपका कारणले ठूलो जनधनको क्षति भइरहेको छ।

कात्तिकेको बाढी, लार्पाको पहिरो, जुरे पहिरो, विनाशकारी भूकम्प र भोटेकोशीको बाढी जस्ता ठूला प्रकोप एकपछि अर्को गर्दै खेपिरहेको छ। पछिल्लो दुई वर्षको अन्तरालमा सिन्धुपाल्चोकले तीन ठूला प्राकृतिक प्रकोप सामना गर्‍यो। यी प्रकोपमा परेर ठूलो मानवीय क्षति भएको छ भने भौतिक र आर्थिक क्षतिको अहिलेसम्म पनि यकिन विवरण तयार भएको छैन।

विनाशकारी भूकम्प

गत बैशाख १२ को विनाशकारी भूकम्पमा सिन्धुपाल्चोकका तीन हजार ५ सय ७० जनाले ज्यान गुमाएका थिए। १५ सय ६५ जना घाइते भएका थिए भने ८ जना अझै बेपत्ता छन्।

भूकम्पले ६६ हजार चार सय ४८ घरधुरी मध्ये ६२ हजार एक सय ४५ घर ध्वस्त भए। ५४७ विद्यालय पूर्ण रुपमा क्षति भएका छन्। यसैगरी ७५ स्वास्थ्यचौकी, १९५ किमी सडक, १३ पुल र ६९१ खानेपानी आयोजना पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला दैवी प्रकोप उद्दार समितिले उल्लेख गरेको छ।

जुरे पहिरो

२०७१ साउनको १७ गते मध्यरातमा सिन्धुपल्चोकको जुरेमा ठूलो पहिरो गयो। पहिरोका कारण सुनकोशी नदी करिब २४ घण्टासम्म थुनियो। त्यस क्रममा १४५ जनाको मृत्यु भयो। पहिरो गएको दुई बर्ष पुग्न लागिसक्दा समेत पहिरो पीडितको लागि भनेर संकलन भएको २ करोड २४ लाख रुपैयाँ जिल्ला दैवी उद्धार समितिको खातामा नै जम्मा भएर बसेको छ। पहिरो खेपेको जुरे पहिरो पीडितले लगत्तै विनाशकारी भूकम्प र भोटेकोशी बाढीको सामना गर्नुपर्‍यो।  

पहिरो गएको साढे दुई बर्षसम्म सहयोगी हातहरुबाट आएको रकम जिल्ला दैवि उद्धार समितीको खातामा रहिरहँदा पीडितहरु भने टहरामा कष्टकर जीवन गुजारा गरिरहेका छन्। ८ परिवारलाई घर जग्गा सहितको व्यवस्था गर्नुपर्ने भएकोले अलि बढी समय लागेको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले बताएका छन्।

भोटेकोशी बाढी

गत असार १४ गते मध्यरातमा चीनमा अविरल वर्षा भएपछि भोटेकोशी बाढी उर्लिएको थियो। भोटेकोसी नदीमा आएको बाढीले करीब ९० भन्दा धेरै पक्की घर बगाएको थियो।

भोटेकोशीले तातोपानी क्षेत्र पुरै तहसनहस पारेको भएपनि कुनै मानवीय क्षति भएको थिएन। बाढीको कारणले बन्द भएको नेपाल र चिनबीचको एक प्रमुख व्यापारीक नाकाको रुपमा लामो समयदेखि सञ्चालनमा आउन सकेको छैन।

जुरेको पहिरो गएको बेलामा अवरुद्ध भएर खुलेको सो नाका व्यापार राम्रोसँग सुरु नभईकन बैशाखको विनाशकारी भूकम्पबाट बन्द रहेको थियो। सञ्चालनमा आउने तरखरमा थियो तर, बाढीले तातोपानी क्षेत्र पुरै तहसनहस भयो। अहिले चिनियाँ पक्षले बाटो समान्य रुपमा चल्ने बताएको छ। सो नाकाबाट दैनिक २ करोड भन्दा धेरै राजस्व संकलन हुदै आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.