|

काठमाडौं : लर्ड अफ लण्डनका मेयर डा. एन्ड्रयू पार्मले चार दिने भ्रमणका लागि शनिबार काठमाडौं आउँदैछन्। नेपाल र बेलायतबीचको पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले पार्मलेले नेपालको चारदिने भ्रमण गर्ने बेलायतमा रहेको नेपाली दूतावासले जनाएको छ।

उनी बेलुकी काठमाडौं आइपुग्नेछन्। बेलायतमा मन्त्रीस्तरको पदमा रहेका मेयर पार्मले बेलायती अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीति सञ्चालनको प्रमुख व्यक्तित्व मानिन्छन्। नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई शताब्दी पूरा भएको सन्दर्भमा लर्ड मेयरको भ्रमणले पारस्परिक आत्मीयता अभिवृद्धिमा थप योगदान पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। त्यस्तै उपप्रधानमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री प्रकाशशरण महत, ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर, उद्योगमन्त्री नवीन्द्रराज जोशी, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैंकका गभर्नरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

लण्डनमा पत्रकार सम्मेलन गरेर पार्मलेले आफ्नो भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुग्ने बताए। उनले  नेपाल भ्रमणका बेला नेपालमा बेलायत सरकारको सहयोगमा सञ्चालित विकास परियोजना तथा भूकम्पपछिको पुननिर्माणबारे अवलोकन गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.