|

  • पेमा लामा-

धुलिखेल : लाभग्राहीमा आफ्नो नाम नपरेपछि भूकम्प पीडितले गुनासो गरेको ६ महिनासम्म सुनुवाई भएको छैन। ‘गुनासो भरेर पठाएको छ महिना बितिसक्यो, अझै पनि हाम्रो सुनुवाई भएको छैन, खोई हाम्रो सुनुवाई ?’ ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले माघ ४ गते जैशीथोकमा गरेको सार्वजनिक सुनुवाईमा स्थानीय सविना न्यौपानेले प्रश्न गरिन् ।

जैशीथोक ६ का युवराज तामाङले भूकम्प पीडितको लाभग्राहीको सूचिमा नाम निस्केर सम्झौता गरेको भएपनि  बैङ्कबाट विवरणमा केही समस्या देखेको भन्दै रकम नदिएको गुनासो गरे। जिल्लामा यसरी गुनासो गर्नेहरुको संख्या सयौं छ। तर त्यसको सुनुवाई हुन सकेको छैन। जिल्ला विकास समितिले सबै गाविस र नगरपालिकाहरुबाट संकलन भएको १९ हजार ९ सय २१ जनाको गुनासो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा बुझाएको ६ महिना बितिसकेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय प्रमुख ध्रुव गैडा भन्छन् ‘हामीलाई जिल्ला विकास समितिले दिएको विवरण अनुसार गुनासोको संख्या १९ हजार ९ सय २१ रहेको छ, तर त्यसको सुनुवाई केन्द्रबाट नै आउन नसकेको कारण हामीले उहाँहरुलाई जवाफ दिन सकिरहेका छैनौं। यो सबै प्रक्रियागत हुने र त्यसको अवस्था बुझेर निर्णय भएर आउने भएकाले केही ढिला भइरहेको छ।’

गैडाका अनुसार पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिबाट केन्द्रमा पठाएकोमध्ये ८ हजार भन्दा माथिको संख्यामा सुनुवाई भएर आएको छ। ‘काभ्रे जिल्लाको करिब ८ हजारभन्दा माथिको सुनुवाई भएको भन्ने जानकारी पाएको छु, त्यसको यथार्थ विवरण आएपछि हामी अब जानकारी गराउँछौं उनले भने।

केन्द्रमा पुगेका धेरैको गुनासो स्पष्ट नभएकाले केन्द्रबाट नै पुनःफिल्डमा भिजिट गर्ने तयारी भइरहेको जानकारी आफूले पाएको गैडाले बताए। ‘कतिपय रिभिजिट गर्नुपर्ने पनि देखिएको भन्ने कुरा छ' उनले भने, ‘त्यसको लागि केन्द्रले पुन निर्देशिका अनुसार फिल्डमा ईञ्जिनियरको टोली खटाउने तयारी भइरहेको छ।’

एनजिओका काम देखिएनन्

जिल्लामा भूकम्पपछि पुनर्निर्माणको लागि काम गर्ने भन्दै झण्डै २ सय वटा एनजीओ/आइएनजीओले काम गरिरहेका छन्। जिल्ला विकास समिति एनजीओ डेक्सका अनुसार आर्थिक बर्ष २०७३/०७४ मा जिल्लामा १ सय ९४ वटा गैर सरकारी संस्थाले भूकम्प पीडितहरुका लागि बिभिन्न कार्यक्रमहरु गर्दैछन्।

यसरी धेरै संख्यामा भूकम्प पीडितहरुको हितमा काम गरिरहेको भएपनि उलेख्य रुपमा काम नदेखिएको जिल्ला विकास समितिका कार्यक्रम अधिकृत माया वादे श्रेष्ठले जानकारी दिइन्। ‘नियम अनुसार जिल्लाबाट स्वीकृत लिएर काम गरिरहेका संस्थाहरुले कामको प्रतिवेदन समेत बुझाउने गरेको छैन’उनले भनिन्।

जिल्लामा भूकम्प पुनर्निर्माण सम्बन्धी काममा सदाचार अपनाउनको लागि भन्दै अहिले ट्रान्सपरेन्सि ईन्टरनेशनल नेपालले काम गरिरहेको छ। कार्यक्रम अधिकृत विनोद भट्टराईले भने ‘हामीले भूकम्प पीडितहरुको पुनर्निर्माणको काम र त्यसमा भएको भ्रष्टाचार ढिलासुस्तीको कामको बारेमा यथार्थ अवस्था चित्रण गर्ने उद्देश्यले काम गरिरहेका छौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.