सत्तामा पुगेर बिर्सिंदा मन दुख्‍छ

|

धनकुटा : नेपाली राजनीति इतिहासमा विशेष गरी २००७, २०३६, २०४६ र १० वर्षे 'जनयुद्ध'को जगमा भएको ०६२/६३ को जनआन्दोलनले राजनीतिक तहमा मुख्य परिवर्तन ल्याएको छ। तर, ती राजनीतिक क्रान्तिमा भएका घाइतेले उचित न्याय नपाएको गुनासो गर्न थालेका छन्।

२००७, २०३६ र २०४६ सालका आन्दोलनका घाइतेको घाउको खाटा बसिसकेको छ तर, नेपाली राजनीतिमा २ सय ३९ वर्षदेखि जरो गाडेको जहानियाँ राजतन्त्रको अन्त्य जस्ता ठूला परिवर्तन ल्याएको २०५२ देखि २०६२ सालसम्मको 'जनयुद्ध'का घाइतेको घाउमा अहिलेसम्म पनि खाटा पलाउन सकेको छैन।

राज्यपक्षले भन्ने सशस्त्र युद्ध र माओवादीले भन्ने १० वर्षे 'जनयुद्ध'ले देशलाई आमूल परिवर्तन ल्याएको पनि सत्य हो। तर, 'जनयुद्ध'मा धेरै घाइते अपांग र शहीद भएका छन्।

योगदानको कदर नहुँदा दु:ख लाग्‍छ

समानतामूलक समाज निर्माण गर्न भनी 'जनयुद्ध'मा होमिएका धनकुटाका राजकुमार जिमी उर्फ गणेश 'जनयुद्ध'का घाइतेका एक उदाहरण हुन्। करिब सय बढी लडाइँ लडेर धेरै मोर्चा जितेका जिमीलाई युद्धमा लडाउनेहरूका लागि मात्र गणतन्त्र आएको र आफूजस्ता घाइतेको योगदानको कदर नगर्दा निकै दु:ख लागेको छ।

'जनयुद्ध'का क्रममा धेरै युद्ध जितेका गणेशलाई २०६२ साल वैशाख २६ गतेले नराम्रो घाउ दियो। त्यो दिन सिराहाको बन्दीपुरमा तत्कालीन नेपाली सेनासँगको भिडन्तमा परी छातीमा गोली लागेर वारपार गर्‍यो। त्यो गोली लागेको ठाउँ गणेशको 'जनयुद्ध'को चिनो हो।

तर, त्यही डोबमा अझै खाटा बस्न सकेको छैन। छातीमा गोली लागेपछि अझैसम्म श्वासप्रश्वासमा समस्या रहेको उनी बताउँछन्। ‘जनयुद्धका बेला टाउकोमा कात्रो बाँधेर हिँडियो अहिलेसम्म देशमा गणतन्त्र आएकै छैन’, उनले भने, ‘किन बाँचियो भन्ने लागेको छ यो दुर्दशा देख्न त पर्ने थिएन।’

‘जनयुद्धको नेतृत्व गर्ने पार्टी धेरैपटक सत्तामा पुगेको छ तर पनि अहिलेसम्म कुनै पनि राहत दिएको छैन, उनले भने, ‘छातीमा लागेको घाउको अहिलेसम्म खाटा बसेको छैन, राहत त परको कुरा उपचारसमेत पाएको छैन।

अभाव र दबाबमा परेका उत्पीडन वर्ग, पिछिडिएका जाति, क्षेत्रीय उत्पीडनबाट माथि उठाउन 'जनयुद्ध'मा लागियो अहिले आफ्नै यो हालत भयो’, उनले भने, ‘छातीमा लागेको गोलीका कारण संवेदनशील अंगमा समस्या छ, जसको कारण खोक्नसमेत हुँदैन, जुन मेरो शरीरमा समस्या छ, त्यसको उपचार पनि पाएको छैन।

किसानी छाडेर 'जनयुद्ध'मा

देशमा अहिले आएको गणतन्त्र भनिए पनि अपूरो बताउने गणेश त्यसको आफू सिपाही भएको बतउँछन्। तर, हाल 'जनयुद्ध'ले दिएको घाउलाई वास्तविक गणतन्त्र ल्याएर नेताले उपचार गरिदिए पुग्ने उनको भनाइ छ। ‘वास्तविक गणतन्त्र आए पुग्छ’ उनले भने ‘शरीरको घाउ अनि निको हुन्छ।’

२०४१ सालमा संखुवासभाको मादी मूलखर्कमा बुबा रामबहादुर जिमी र आमा विष्णुमाया जिमीको जेठो सन्तानका रूपमा जन्मिएका गणेश गाउँमा खेती किसानी गर्दागर्दै तत्कालीन माओवादी 'जनयुद्ध'मा लागेको बताउँछन्।

‘गाउँमा धेरैजसो परिवारमा चरम गरिबी र अभाव थियो’, उनले भने, ‘त्यसको मुक्तिका लागि आवाज उठाउनुपर्छ जस्तो लाग्दै थियो त्यसै क्रममा माओवादीसँग सम्पर्क हुन थाल्यो र ०५८ सालमा पार्टीको भ्रातृ संगठनबाट जोडिएको थिँए। त्यसपछि जनमुक्ति सेना बनेर हिँडें।’

नेताको अनुहारै हेर्न मन छैन

चरम गरिबी भएकै कारण पढ्न नपाउँदाको पीडा र समाजमा भएको विभेदको अन्त्यको लागि 'जनयुद्ध' लड्नुपर्ने बुझेका उनले आमूल परिवर्तनको लागि बन्दुक बोकेको बताए।

तत्कालीन राज्यपक्षकाले घाइते भएमा उपचार पाएका छन्, भने मृत्यु हुनेले राहत पाएको दाबी गर्ने गणेशले तत्कालीन माओवादी पक्षका प्रचण्ड, किरण, बाबुराम र बादलको आदेशमा लुटेको बन्दुक बोक्नेले केही नपाएको बताए।

‘विस्थापित हुनेले पनि राज्य पक्षकाले क्षतिपूर्ति पाएका छन्।’ उनले भने, ‘'जनयुद्ध'मा लागेर म जस्तो सशक्त घाइते हुनेले पनि न राहत पाए, न उपचार नै। उनी भन्छन, ‘मैले केही पनि पाएको छैन, 'जनयुद्ध'को कुरा गर्नेबित्तिकै धेरै युद्ध जिते पनि वास्तविक युद्ध हारेजस्तो लाग्छ।

राहत कस्तो हुन्छ थाहा छैन

माओवादी 'जनयुद्ध'ले विश्राम लिएपछि पार्टी शान्ति प्रक्रियामा आयो। राज्यले माओवादी र राज्यपक्षबाट द्वन्द्व पीडितको नाममा अर्बौँ रुपैँया राहत बाँड्यो। 'जनयुद्ध'मा वा सशस्त्र युद्धमा घाइते भएका परिवार, मृतकका परिवार, अंग भंग भएकाहरूले धेरथोर राहात पाए। तर, गणेशले अहिलेसम्म द्वन्द्वपीडितको नाममा राज्यले बाँडेको कुनै पनि राहत पाएका छैनन्। ‘अपांगता भएको मन्छे, सिधा गरी उभिनु पनि हुँदैन,’ उनले भने, ‘मलाई राहत नदिनुको कारण पनि पत्ता लागेको छैन, अब खोज्न पनि छाडिदिएँ।’

जीवनभर अपांग बनाउने सिरहा आक्रमण

०५८ सालबाट निरन्तररूपमा शान्ति प्रक्रियामा आउँदासम्म गणेशले झण्डै सय बढी मोर्चा लडेको बताउँछन्। ‘कुनकुन र कहाँकहाँ त भन्न सक्दिनँ, गनेर साध्य पनि छैन, मैले लडेका युद्ध ठाउँहरू,’ गणेशले युद्ध लडेका ठाउँहरू सम्झँदै भने,  ‘रुकुम, घोडेटार, लिस्ने, अर्घखाँची, दाङ, पाँचथर, उदयपुर, धनकुटालगायत पूर्वमा भएका सबै युद्ध लडेको छु, मेरो काम युद्ध लड्ने मात्र भयो, सकेसम्म लडिरहेँ।’

सिराहाको बन्दीपुरमा २०६२ साल वैशाख २६ गते आक्रमण गर्दा छातीमा गोली लाग्यो। त्यही गोलीले अहिलेसम्म अपांगै बनाएको छ। ‘दोहोरो भिडन्त सम्झेर साध्य छैन,’ माओवादीप्रति घृणाको नजर लगाउने गणेशले भने, ‘दुष्‍मनको अखडा खोज्न नजिक जाँदै गर्दा गोली लागेर छातीमा वारपार गर्‍यो। त्यसपछि जीवनभरि पीडा भोगिरहेको छु।’

सिराहाको बन्दीपुर आक्रमणमा परी शख्‍त घाइते भएका गणेशलाई पार्टीले विभिन्न ठाउँमा पुर्‍याएर उपचार गरेको बताउँछन्। ‘मलाई केही उपचार पार्टीले नै गरेको हो,’ उनले भने, ‘त्यसपछि आफैँ भारतको लखनौँमा उपचार गर्न जाँदा माओवादीको आरोपमा ३ वर्ष जेल परेको हो, त्यसपछि छुटेर फर्कंदा पार्टी शान्ति प्रक्रियामा आइसकेको थियो। राम्रोसँग उपचार नभएकै कारण अहिले जीवनभर अपांग बनेको छु।’

सबै नेताले धोका दिए

अहिले तत्कालीन माओवादीका उच्चस्तरका नेताहरूको विभिन्न पार्टी छ। तत्कालीन नेकपा माओवादी नाम गरेको पार्टी इतिहासको पानामा सीमित भइसकेको छ। सेनासमेत भएको पार्टीका नेताहरू भोगविलासमा फसेर विभिन्न समूहमा विभाजन भएको गणेशको आरोप छ।

आफूहरूजस्ता योद्धालाई धोका दिएको उनको भनाइ छ। ‘आफू त धेरै पढेलेखेको मान्छे पनि होइन’, उनी भन्छन्, ‘पार्टीबाट फर्केर गाउँमै आएँ, राहत माग्न धेरै ठाउँ दौडिएँ, कतै केही नपाएपछि काठमाडौ पसेँ।’

'जनयुद्ध'को उपलब्धिबारे आफू केही नबोल्ने जसले 'जनयुद्ध' लडायो, उसैले धोका दिएको उनको बुझाइ छ।

नेता भनीकन सम्झनै मन नलाग्‍ने उनी बताउँछन्। 'मेरो कमाण्डर बनेर हिँडेको कोही नेता, मन्त्री सांसद बनेका छन्', गणेशले भने, ‘देख्दा सिधा नजरले पनि हेर्न मन लाग्दैन। पुष्पकमल दाहाल प्रचण्ड, डाक्टर बाबुराम भट्टराई, मोहन वैद्यहरूबाटै आफूहरूलाई धोका भयो।'

नेताहरूले अंश खान पार्टी फुटाएको उनको आरोप छ। यो गणतन्त्र बोर्ड मात्र फेरिएको हुनाले अपूरो भएको उनको भनाइ छ। ‘पार्टी हाम्रो घर परिवार भनेर मार्क्सवाद, लेनिनवाद र माओवादको सिद्धान्त घोकाइयो,’ उनी भन्छन्, ‘त्यही सिद्धान्तको आधारमा पार्टी सत्ता बनाउन, देश निर्माण जुटेका हामी युवाको समय मात्र खेरगयो, अनि जीवनभर अपांग भइयो, गणतन्त्र आयो भनेर गर्व कुनै ठाउँ छैन।’

जनजीविकाको आधार खोज्दै संघर्ष

जिमीको उमेर अहिले ३३ वर्ष भएको छ। 'जनयुद्ध'ले आपांग बनेका जिमीले पार्टी शान्ति प्रक्रियामा आएपछि 'जनयुद्ध'कै अर्की घाइते सोममाया जिमीसँग विवाह गरेको बताए। दुई छोरा पनि भइसकेका छन्। श्रीमती पनि अपांग रहेकाले गाउँमा केही जग्गाजमिन भए पनि काम गर्न नसक्ने हुनाले काठमाडौं पसेको उनले बताए।

‘त्योबेला बुर्जुवा शिक्षा भनेर पढाइ लेखाइ पनि गरिएन त्यसकारण अहिले जागिर खान त्यही शिक्षा चाहिने भयो’ उनले भने, ‘त्यसकारण जीविकोपार्जनको लागि काठमाडौ पसेर संघर्ष गर्दै छु।’

'जनयुद्ध'ले उज्यालो बाटोमा पुर्‍याउँछ भन्‍ने सोचेर  त्यता लागेका उनको जीवनमा ठीक उल्टो भएको छ। ‘'जनयुद्ध' लड्नेहरुले छोराछोरी पढाउने विद्यालय पनि खुलेको छ भन्ने सुनेको छु तर आफूजस्ता 'जनयुद्ध'मा अपांग बनेकाहरूका लागि होइन रहेछ’ उनले भने ‘राहत त पाइएन केटाकेटी पढाउने त परैको कुरा’

युद्ध त जितियो मुद्दा हारियो

धेरै पूर्व-लडाकुहरूको जीवन जिउने वातावरण अझै पनि छैन। त्यसमा पनि बुवाआमा तीन भाइ तीन बहिनीमध्येका जेठो सन्तान उनै गणेश नै हुन्। जसोतसो बुबाआमाले बनिबुतो गरेर परिवार पाल्दै आएका थिए।

हुर्कंदै गएपछि त्यही बुनिबुतो गर्ने सिलसिलामा हिँडिरहेका जिमी 'जनयुद्ध'मा होमिएका थिए। उनलाई लडेका युद्ध सबै जितेको लाग्छ तर आफूहरूले उठाएका मुद्धा हारेको बुझेका छन्।

'जनयुद्ध'का सर्वोच्च कमाण्डर प्रचण्ड दुईपटक, अर्का नेता बाबुराम एकपटक देशको प्रधानमन्त्री बने, पासाङ दुईपटक उपराष्ट्रपति बने अरू मन्त्री त कति बनेबने,’ उनले भने, ‘तिनीहरूलाई त्यो ठाउँमा पुर्‍याउन मात्र 'जनयुद्ध' भएको रहेछ।’

'जनयुद्ध'ले नामको मात्रै गणतन्त्र आएका उनको भनाइ छ। त्यो गणतन्त्रले नेतालाई मात्रै फाइदा भएको उनको भनाइ छ।  अहिले त्यो बेलाका नेताहरु रहेको कुनै पार्टीप्रति आशा र भरोसा केही नरहेको उनी बताउँछन्। उनी भन्‍छन्, ‘माओवादीको बन्दुके भएर आधा जीवन बित्यो, बाँकी रहेको जीवन पनि कष्टका साथ बितिरहेको छ अनि गणतन्त्रको के कुरा गर्नु?'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.