|

त्रिभुवन विश्वविद्यालय र प्रमुख दल निकट विद्यार्थी संगठनले सहमति जनाएपछि क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आउँदो फागुन १४ गते तोकिएको छ। स्ववियु चुनावमा यस वर्षदेखि नयाँ व्यवस्था लागू भएको छ त्यो हो २८ वर्षसम्मका विद्यार्थीहरु मात्र उम्मेदवार बन्न पाउने र मिश्रित निर्वाचन पद्धति अनुसार चुनाव हुने।

केही विद्यार्थी संगठनको उमेर हदमा असहमति रहेपनि स्ववियु निर्वाचन तोकिएकै मितिमा हुने करिब पक्का छ। स्ववियू निर्वाचनको तयारी लगायतका विषयमा अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेसँग रेडियो थाहासञ्चारका लागि देवीराम देवकोटाले गरेको कुराकानी :

स्ववियू निर्वाचनमा २८ वर्षको उमेर हद राखिएको विषयमा तपाईंको संगठनको धारणा के छ?

विद्यार्थी आन्दोलनमा क्रियाशील रहेका थुप्रै नेताहरु विद्यार्थीको हकहित, अधिकारका निम्ति संघर्ष गर्दै गर्दा विविध कारणले स्ववियु निर्वाचन हुन सकेन। अहिले हामी उमेरको हदबन्दीको कुरामा आइपुगेका छौं र केही साथीहरु त्यो हदबन्दी भन्दा बाहिर हुनुहुन्छ। तर व्यक्तिगत हिसाबले कसले के प्राप्त गर्‍यो भन्‍ने कुरा महत्वपूर्ण होइन। आज संस्थाले के प्राप्त गर्दैछ भन्‍ने महत्वपूर्ण हो।

स्ववियु भन्‍ने संस्था विद्यार्थी हकहित र अधिकारका लागि मात्र होइन नेपालमा राजनीतिक प्रणालीलाई पनि नयाँ ढंगले विकास गर्नका निम्ति, पुरानो राजनीतिक व्यवस्थाका विरुद्ध लडेर स्थापना भएको हो। यो संस्था विस्तारै विकृति र विसङ्गतिमा आइपुग्यो। त्यसको जिम्मेवार विद्यार्थी संगठनका हामी नेताहरु पनि कोही न कोही हुनुपर्छ। हामी समाजको समग्र राजनीतिक व्यवस्था र प्रणालीलाई परिवर्तन गर्नका निम्ति तयार छौं भने अर्को ठाउँमा पनि चुनाव लड्न तयार हुनुपर्छ। अहिले स्थानीय तह, प्रदेश र संघको निर्वाचन हुँदैछ। त्यसका निम्ति पनि तयार भएर अगाडि बढ्दा हुन्छ। स्ववियु मात्रै चुनाव लड्ने थलो होइन। 

अनेरास्ववियु क्रान्तिकारीले उमेरहद लागू गरेपछि मात्रै आफ्नो संगठन बलियो हुने देखेर लागू गर्न पहल गरेको भन्ने आरोप पनि छ नि?

चुनावमा नजाँदै को बलियो र को कमजोर छ भन्‍ने कुरा पुष्टि हुने होइन। चुनावी मैदानमा गइसकेपछि को बलियो को कमजोर? भन्‍ने कुरा पनि होला। राजनीतिक शक्तिहरु कुनैबेला कोही कमजोर, कुनैबेला कोही बलियो हुने स्थिति विगतदेखि नै देखिइराखेको छ। माओवादीहरुले विगतमा टुटफुटको स्थिति सामना गर्‍यौं, अहिले विभाजित माओवादीहरु एकठाउँमा आइपुगेका छौं। त्यसैले २०६५ को स्ववियु निर्वाचनमा हाम्रो स्थिति जहाँ थियो त्यो ठाउँमा हामी लगभग आइपुगेका छौं। त्यसले स्वभाविक हिसाबले अब हुने स्ववियु निर्वाचन हाम्रा लागि सकारात्मक हुन्छ।

विश्‍वविद्यालयभित्र उमेरहद लगाउनुपर्ने स्थिति किन भयो भन्दा ४०/४५ वर्षसम्म नेताहरु क्याम्पसको गेट कुरेर बस्ने गर्छन्। राजनीति गरेर देश परिवर्तन गर्ने हो भने दलमा गएर परिवर्तन गर्न सकिदैन? त्यहाँ चुनाव लड्न पाइदैन? त्यहाँ प्रजातन्त्रको अभ्यास गर्न पाइदैन? ३५ वर्षमा त निजामति सेवामा पनि ढोका बन्द हुन्छ। ३६ वर्षमा स्ववियुको सभापति लड्नका लागि दाबेदारी गरिराख्दा क्याम्पसमा, कहीँ न कहीँ भ्रष्टाचार गर्ने, दुरुपयोग गर्ने, विद्यार्थी आन्दोलनलाई विकृत्तितिर लैजाने खालको स्थिति भयो। त्यसलाई दबाव सिर्जना गर्न स्ववियुमा २८ वर्ष कायम गरौं भनेका हौं। यसले ३२/३३ वर्षमा विद्यार्थी आन्दोलनबाट रिटायर्ड भएर पार्टी आन्दोलनमा जानुपर्छ भन्‍ने नयाँ दबाब सिर्जना गर्छ।

एक पटकका लागि उमेर हद नमानेर जान सकिदैन ?

त्यो बिवादबाट हामी टाढा गइसक्यौं। नेविसंघले हाम्रो कहीँ न कहीँ रिजर्भेशन छ, एकचोटीका लागि सच्याउदा हुन्छ भनेको थियझ। तर त्यो प्रेसर कहीँ पनि रहेन। सीमित केही नेताहरु क्याम्पसको गेटमा म सँधै सभापति लड्छु भनेर दाबी गर्नुभएको छ भने उहाँहरु क्याम्पसतिर नफर्किदा नै बेटर हुन्छ। खास रियल विद्यार्थीले २८ वर्षे उमेरहदको स्वागत गरेका छन्। विद्यार्थी संगठनहरु चुनावमा जान तयार छौं। हामी सबै तयार भएर अगाडि बढिसक्यौं भने यो डिबेटको विषय नै रहेन।

एमाले निकट अनेरास्ववियुले पहिलेदेखि जसरी भएपनि निर्वाचन गर्नुपर्छ भन्‍नेमा थियो। नेविसंघ र क्रान्तिकारीका कारण आठ वर्षसम्म निर्वाचन स्थगित भएको होइन र? अब निर्वाचन घोषणा भइसकेपछि आचारसंहिता मानेर जान तयार हुनुहुन्छ?

हामी दुईवटा संगठनका कारण मात्रै चुनाव स्थगित भएको भन्‍ने सत्य होइन। हामी २०६५ पछि लगातार स्ववियु निर्वाचन गर्नुपर्छ भनेर तयारीमा थियौं। विविध राजनीतिक परिस्थितिका कारणले पनि स्ववियु निर्वाचन रोकिएको हो। स्ववियु निर्वाचनका लागि पूरा तयारीका साथ जाँदै गर्दा त्रिवि र आरआर क्याम्पसमा आफू हार्ने भइसकेपछि अनेरास्ववियुले निकालेको बखेडाका कारण स्थगित भएको हो। नेविसंघ र क्रान्तिकारीका कारणले होइन। अर्को निर्वाचन संविधानसभाको निर्वाचनका कारण राजनीतिक दलहरुले स्थगित गराएका हुन्। २०७२ वैशाख १ गते घोषणा भएको निर्वाचन उमेर हदका कारण स्थगित भएको हो। आज त्रिविको ६२ औं साधारणसभाले २८ वर्ष उमेर हद र मिश्रित प्रणालीमा जाने टुंग्याएको छ। यसले विवाद पनि अन्त्य भएको छ।  

जब निर्वाचनको वातावरण तयार हुन्छ। जिल्ला-जिल्ला, क्याम्पस-क्याम्पसमा झडप हुने होला है? यसको उदाहरण, काठमाडौं विश्‍वविद्यालयमा पनि भर्खरै निर्वाचन प्रक्रिया चल्दाचल्दै स्थगीत भएको छ।  

निर्वाचन कहीँ न कहीँ झडपसँग गएर ठोक्किने गरेको छ। त्यसलाई रोक्न हामी प्रयत्नरत छौं। ११ बुँदे आचारसंहितामा अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियुका तीन अध्यक्षहरुले हस्ताक्षर गरिसकेका छौं। त्रिविले चुनावको सेड्युअल ल्याउने बित्तिकै आचारसंहिता लागू हुन्छ। त्यसले झपड हुने अवस्थालाई कन्ट्रोल गर्न सकिन्छ भन्‍ने लाग्छ।

झडपहरु नियन्त्रण गर्न विद्यार्थी संगठनहरुबीच एउटा मेकानिजम पनि बनाउनुपर्छ। हामीलाई नै सूचना नभएर तल विवाद भइदिने र त्यो विवादमा हामी अध्यक्षहरु नै तानिने अनि त्यसलाई हामीले तन्काउनुपर्ने स्थिति पनि हुन्छ। त्यो कुरालाई अन्त्य गर्नका निम्ति हामी सबै विद्यार्थी संगठनहरुले आचारसंहिता कार्यान्वयन, विवाद समाधान र क्याम्पसहरुसँग समन्वय गर्ने बारेमा एउटा संयन्त्र बनाउन सके चुनाव मर्यादित ढंगले सम्पन्न गर्न सक्छौं।

निर्वाचनमा विद्यार्थी भर्नाको लफडा लगायतका थुप्रै गतिविधिहरुमा कन्ट्रोल हुन्छ?

हामीले आचारसंहितामा के भनेका छौं भने त्रिविले चुनावको सेड्युअल सार्वजनिक गरेको दिनबाट भर्ना बन्द हुनेछ। भर्ना हुन बाँकी भएकाले चुनावपछि भर्ना गर्छन्। निर्वाचनको यो विशिष्ट अवधि हुन्छ त्यतिबेला मेरो चाहिँ नाम छुटेको थियो, आज भोट हालिँदै रहेछ म भोट हाल्न आउछु भन्‍न पाइदैन। एउटा न्यनुतम मापदण्ड र कानुनभित्र बस्‍नुपर्छ।

त्रिविले निर्वाचन सेड्युल आकस्मिक रुपमा सार्वजनिक गरोस् भन्ने चाहन्छौं। किनभने भर्नाका निम्ति पर्सीदेखि हुदैछ भने आजदेखि लाइन लाग्ने प्रक्रिया पनि अन्त्य होस् भन्ने चाहेका छौं। वाल पेन्टिङ कहाँ गर्ने? के गर्ने? पोष्टरहरु के गर्ने भन्‍ने कुरा पनि भएको छ। यसले झडपको होइन निर्वाचनको वातावरण बनाउने काम गरेको छ। त्यसलाई सकारात्मक रुपमा लिऔं। त्यसलाई आचारसंहिता सार्वजनिक गर्नेबित्तिकै मेट्न सकिन्छ। त्यो आचारसंहिता पालना गर्न मेरो संगठन प्रतिवद्ध छ।

स्ववियु निर्वाचनपछि तपाईको संगठनलाई कुन हैसियतमा पाउछौं ?

भर्खरै पुस २७ र २८ गते केन्द्रीय पदाधिकारीको बैठक सम्पन्‍न गर्‍यौं। माघ ७ र ८ गते देशभरीका सबै प्रदेशहरुमा प्रादेशिक हिसाबले कार्यशाला सम्पन्‍न गर्दैछौं। हामीले यो बैठकमा सबै साथीहरुको रिपोर्टको आधार मानेर हेर्दा त्रिभुवन विश्‍वविद्यालयका झण्डै हजार वटा क्याम्पसहरु छन्। निजी, सामुदायिक र आंगिक गरेर। अधिकांश क्याम्पसहरुमा अखिल क्रान्तिकारीहरुको सुदृढ र परिचालित संगठन छ। मलाई लाग्छ यो निर्वाचनपछि अखिल क्रान्तिकारी पहिलो संगठनका रुपमा आउछौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.