|

पाल्पा : पाल्पाको कालीगण्डकी र वराङदी खोला किनारस्थित पुरातात्विक महत्वको रानीमहल ठिंग उभिएको छ। खोलाको आवाज सुनिरहेको छ। इतिहासको साक्षी बनेर वर्षौदेखि थकाइ मारेको छ।

उत्तरबाट बगेर आएको कालीगण्डकी नदी रानीमहल क्षेत्रमा पनि उत्तरतर्फ नै बगेको छ। उत्तरबाहिनी नदीमा नुहाउँदा, दान वा पूजा गर्दा अन्यत्र गरेभन्दा बढी फल मिल्ने विश्वास छ। त्यसैले त्यहाँ पुग्ने आन्तरिक पर्यटकले कालीगण्डकीमा स्नान गर्ने र पूजा गर्छन्।

तत्कालीन पश्चिम नेपालका सेनापति खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा बनाएको भवन रानीमहलको रूपमा परिचित छ। आफ्नी रानीको सम्झनामा भारतमा रहेका बेलायती इञ्जिनियर झिकाई पाँच वर्ष लगाएर पाश्चात्य शैलीमा निमार्ण गरिएको महल नेपालको ताजमहलको रूपमा चिनिन्छ।

पुरातात्विक महत्वको यो महलको बारेमा प्रचारप्रसार हुन नसक्दा विदेशी पर्यटक त्यति पुग्न नसके पनि आन्तरिक पर्यटकको रूपमा प्रेमीप्रेमिकाको जोडी निकै जाने गर्छन्।

रानीमहल विक्रम संवत १९५० देखि बनाउन सुरु भई १९५४ मा निमार्ण पुरा भएको थियो। पाल्पाको तानसेनदेखि १३ किलोमिटर उत्तर कालीगण्डकीको तिरमा भिरालो चट्टानमाथि ५-१५-०-२ क्षेत्रफलमा निर्माण गरिएको हो।

दरबारमा खड्ग शमशेर लेखिएको इँटा प्रयोग गरिएको छ। महलको आँगनमा पोखरी निमार्ण गरिएको छ। कालीगण्डकीतर्फ हावा घर निमार्ण गरिएको छ। तीनतले दरबार परिसरमा घोडा तबेला, पाले घर र मन्दिर पनि छन्। 

विक्रम संवत १९४९ मा आफ्नी रानी तेजकुमारी देबीको मृत्युको समयमा भावविह्ल भएका खड्ग शमशेरले रानीसँग उनको स्मृतिमा भारतको आग्रहामा रहेको ताजमहल जस्तै बगैँचासहितको दरबार निमार्ण गर्ने बचन दिएअनुसार महल निर्माण भएको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.