|

काठमाडौ : संघीय समाजवादी फोरम नेपालले नीति, विचार र सिद्धान्त मिल्ने राजनीतिक दलहरुसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको छ। शनिबार बसेको पार्टीको राजनीतिक समितिको बैठकले संघीयता, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण, प्रादेशिक स्वशासन र स्वायत्तताको प्राप्ति र उत्पीडित समुदायको लागि संघर्षरत दलहरु मिल्नुको विकल्प नरहेको निष्कर्ष निकालेको हो।

बैठकले विचार र सिद्धान्त मिल्ने दलहरुबीच एकीकरण गरेर अघि बढ्ने निर्णय गरेको हो। राजनीतिक समितिको यो निर्णयसँगै नीति र सिद्धान्त मिल्ने दलहरुसँग एकीकरण गर्ने बाटो खुला भएको छ। गत वर्ष मात्रै तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी नेपाल र खस समावेशी राष्ट्रिय पार्टीबीच एकीकरण भई संघीय समाजवादी फोरम नेपाल स्थापना भएको थियो। 

फोरमले संसदमा प्रस्तुत संशोधन विधेयकलाई यथास्थितिमा स्वीकार नगर्ने निर्णय गरेको छ। मधेशी मोर्चा–संघीय गठबन्धनले राखेको २६ बुँदे माग र मुद्दालाई विधेयकले बेवास्ता गरेको निष्कर्ष निकाल्दै फोरम नेपालले आफूहरुसँग भएको सहमतिका आधारमा परिमार्जन भएको खण्डमा मात्रै त्यसलाई स्वीकार गर्ने औपचारिक निर्णय गरेको हो। 

बैठकले संसदमा पेश गरिएको संशोधन विधेयकलाई अस्वीकार गर्दै राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन हुने गरी परिमार्जनको माग गर्दै राष्ट्रिय राजनीतिको सवालमा विभिन्न निर्णयहरु गरेको छ। बैठकको निर्णय सुनाउँदै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘संघीयता, समावेशीकता, समानुपातिक समावेशी र पहिचानको मुद्दाहरु सम्बोधन नगर्ने विधेयकलाई आन्दोलनरत पक्ष संघीय गठबन्धन र मधेशी मोर्चाको सहमतिका आधारमा संशोधन विधेयक परिमार्जन भए मात्र स्वीकार गर्न सकिनेछ।’ 

यादवले जसका लागि संविधान संशोधन गर्न खोजिदैछ, उसैको माग, मुद्दा र सहमतिलाई सरकारले बेवास्ता गरेपछि परिमार्जन बिना संशोधन विधेयकको कुनै औचित्य नभएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.