|

काठमाडौं : उपत्यकाका प्रमुख नदी सफाइ गरी १८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। बागमती सफाइ महाअभियानको १९३ औँ हप्तामा शनिबार सिनामङ्गलदेखि बानेश्वर क्याम्पससम्मको नदी क्षेत्रमा सफाइ गरी ६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ महाअभियानका अभियन्ता उमेश बोहराले जानकारी दिए।  

सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको संस्थागत सहभागिता थियो।  

सफाइमा चीनका लागि पूर्वनेपाली राजदूत डा महेश मास्के, अधिकार सम्पन्न बागमती समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहलगायत अभियानकर्मीको उपस्थिति थियो। गतहप्ता बागमतीमा फोहर फाल्दा पक्राउ परेको शिवशङ्कर होटल जयवागेश्वरीका सञ्चालक प्रज्ज्वलमान श्रेष्ठलाई रु १५ हजार जरिवाना गरेर आइन्दा फोहर फालेमा रु एक लाख ५० हजार जरिवाना गर्ने लिखित प्रतिबद्धता गरी छोडिएको अभियानकर्मी बोहराले बताए।

रुद्रमती सफाइको १५२ औँ हप्तामा शनिबार बूढानीलकण्ठ नगरपालिकाको भङ्गालपुल–ज्योतिनगर हुँदै नीलोपुलसम्मको क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरिले जानकारी दिए।  

सफाइमा बूढानीलकण्ठ नगरपालिकाका वडा कार्यालय, वडा नागरिक मञ्चका पदाधिकारीलगायतको सहभागिता थियो । सफाइमा प्रसिद्धी कला समूहले जनचेतनामूलक सांस्कृतिक कार्यक्रम आयोजना गर्‍यो।  विष्णुमती सफाइको १२५ औँ हप्तामा तारकेश्वर नगरपालिकाको महादेव खोलामा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइसँगै सो क्षेत्रका घर घर गई जनचेतना पनि फैल्याइएको अभियानकर्मी विजेन्द्र लामाले बताए।  

विष्णुमती नदीको आजको सफाइमा पूर्वमन्त्री एवम् नयाँ शक्ति नेपालकी नेत्री हिसिला यमीले पनि सहभागिता जनाइन्। नदी सफाइ गर्दै नेत्री यमीले बाल्यकालमा आफूले विष्णुमतीमा स्नान गरेको सुनाउँदै पुनः स्नानयोग्य हुने गरी सफाइ गरिनुपर्नेमा जोड दिइन्।

सफाइमा तारकेश्वर नगरपालिकाका कार्यकारी अधिकृत अग्नि अधिकारीले नगरमा क्रियाशील सबै संस्थालाई सहभागी गराएको अभियन्ता लामाले जानकारी दिए। यसैगरी गुह्येश्वरीमाथिको बागमती नदीमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाज लगायत संस्थाले सफाइ गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.