|

देहरादून : थाहादर्शन अध्ययन प्रतिष्ठानको आयोजनामा भारतको देहरादुन पुगेको राजनीतिज्ञ, व्यवसायी तथा पत्रकारहरुको टोलीले शनिबार नेपाली वीरताको प्रतीकका रुपमा प्रसिद्ध नालापानी क्षेत्रको अवलोकन भ्रमण गर्‍यो।

भ्रमणमा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय र भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोली समेत सहभागी थिए।  नेपालबाट गएको दश सदस्यीय टोलीको नेतृत्व प्रतिष्ठानका अध्यक्ष अजेयराज सुमार्गीले गरेका थिए।

वीर नेपाली योद्धा बलभद्र कुँवर र उनका सैनिकहरुले वीरता प्रदर्शन गरेको नालापानी किल्लाको अध्ययनका लागि गएको टोलीले स्थानीय खलंगा विकास समितिका पदाधिकारी र त्यहाँका बुद्धिजिवीहरुसँग अन्तर्क्रिया समेत गर्‍यो। अन्तर्क्रियामा खलंगा विकास समितिका पदाधिकारीहरुले बजेटको अभावका कारण चाहेर पनि नालापानी किल्लाको संरक्षण र नेपाली इतिहासको खोज–अनुसन्धानमा ठोस कार्य गर्न नसकिएको गुनासो गरे।

नालापानीको ऐतिहासिक पृष्ठभूमि

सन् १८१४ मा भएको नालापानीको युद्ध नेपालले ब्रिटिससँग लडेको साहसिक युद्धमध्ये एक थियो। नालापानीको सबैभन्दा उच्च स्थानमा पर्ने खलङ्गा किल्लामा बलभद्र कुँवरले आफ्ना नेपाली सिपाही, ग्रामीण महिला तथा केटाकेटी गरी करिब ६ सय जनाको साथमा विशाल अंग्रेज फौजको प्रतिकार गरेका थिए।

हतियारका नाममा केही तोप, भरुवा बन्दुक, ढुङ्गामुढा, खुकुरी, धनुष बाण, भालाजस्ता साधनहरु बोकेको गोर्खा फौजले आधुनिक हतियारले सुसङ्गठित ठूलो अंग्रेज फौजको डटेर सामना गरेको थियो। उक्त लडाईंमा ब्रिटिस सेनाप्रमुख जनरल जिलेस्पी मारिएका थिए।

पहिलो र दोस्रो आक्रमणमा असफल भएका अंग्रेज आफ्ना सेनापतिसमेत मारिएपछि रणनीतिक विकल्प अपनाउन बाध्य भए। उनीहरुले किल्लाभित्र जाने पानीको मुहान थुनिदिएपछि नेपाली फौजमाथि चर्को दबाब पर्‍यो। बाहिरबाट अंग्रेजका तोपहरूको अग्नि वर्षा भैरहँदाभित्र सारा फौज तिर्खाले तड्पिन बाध्य भए। त्यस्तो परिस्थितिमा जीवित रहेका बाँकी सेनाको हितका लागि बलभद्रले स्वतः किल्ला छोड्नुपरेको थियो।

सन् १८१४ नोभेम्बर ३० मा बलभद्रले किल्ला छोडेर जाँदा साथमा ७० जना जति मात्र बाँकी थिए। गोर्खालीहरुले स्वतः किल्लात्याग गरेपछि खलङ्गा किल्लामा अंग्रेजले नेपालीहरूको पराक्रम र बहादुरीको प्रशंसा गर्दै एक युद्ध स्मारकको स्थापना गरे। उक्त स्मारकको शिलालेखमा लेखिएको छ,‘हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोर्खालीहरूको स्मृतिमा सम्मानोपहार।’

यो स्मारकलाई विश्वभरिको एक मात्र त्यस्तो उदाहरणीय स्मारक मानिन्छ, जहाँ कुनै सेनाले आफ्नो शत्रु सेनाको वीरताको प्रशंसा गरेको छ। हालको देहरादूनस्थित सहस्त्रधार रोडमा पर्ने उक्त स्मारक भारतीय पुरातत्व विभागको संरक्षणमा छ। स्थानीय खलंगा विकास समितिको अगुवाईमा नालापानी किल्ला नजिकै एक स्मारक समेत बनाइएको छ। 

गोर्खालीको इतिहास दबाउन खोजियो 

नालापानी किल्ला परिसरमै भएको अन्तर्क्रियामा थाहा दर्शन अध्ययन प्रतिष्ठानका अध्यक्ष अजेयराज सुमार्गीले बलभद्र कुँवर तथा गोर्खाली सेनाले देखाएको वीरता र बफादारिता संसारभरका सेनाका लागि अनुकरणीय भएको बताए।

कुनै पनि सेनाले शत्रुसेनाको प्रशंशा गरेको इतिहास संसारमै नभएको उनले बताए। उनले नालापानीको कथा नेपाली वा नेपालीभाषीले मात्रै नभई सारा विश्वले नै जान्नुपर्ने बताए। त्यसका लागि नेपालका नेपाली र भारतका नेपालीभाषीबीच व्यक्तिगत तथा राज्यस्तरमा समेत सहकार्य हुनुपर्ने उनको विचार थियो। 

भाजपा नेता विजय जोलीले नालापानीको संरक्षणमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए। भारतका लागि नेपाली राजदूत उपाध्यायले राज्यस्तरकै कार्यक्रम बनाउन पहल गर्ने बताए। त्यस्तै सांसदद्वय कर्णबहादुर थापा र वीरबहादुर बलायरले पनि नालापानीमा नेपालीहरुले देखाएको विरता ओझेलमा पर्न नहुने धारणा राखे। 

नेपालीभाषीहरुको ठूलो उपस्थिति देखेर माओवादी केन्द्रका नेता लिलामणी पोख्रेलले भाजपा नेता विजय जोलीतर्फ लक्षित गर्दै ठट्टा गर्न भ्याए। उनले भने, ‘खासमा हामी यहाँका पाहुना हौं, तर मलाई भने विजयजी हाम्रो पाहुना र नालापानीचाहिँ हाम्रो घर जस्तो लागिरहेको छ।’ 

खलंगा विकास समितिका अध्यक्ष रामसिंह थापाले नालापानीबारे नेपाली टोलीले देखाएको चासो र चिन्ता देखेर आफूहरु उत्साहित भएको बताए।

नेपाली इतिहासको सुरक्षार्थ थाहा प्रतिष्ठानको सहयोग

उक्त ऐतिहासिकस्थलको संरक्षण तथा संवर्धनका लागि थाहा दर्शन अध्ययन प्रतिष्ठानकातर्फबाट अध्यक्ष अजेयराज सुमार्गीले १० लाख भारतीय रुपैयाँ सहयोगको घोषणा गरे। उक्त सहयोग प्रक्रिया पुरा गरी खलंगा विकास समितिलाई उपलब्ध गराइनेछ।

त्यसै थाहा प्रतिष्ठानले खलंगामा अर्को वर्षबाट आयोजना गरिने ‘खलंगा–म्याराथन’लाई आवश्यक पर्ने जिन्सी सामग्रीसमेत उपलब्ध गराउने भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • खलंगा नालापानी युद्ध स्थल मा आउनु भयेकोमा हामी देहरादुन भारतको तर्फबाट धेरै धेरै धन्यवाद अनि आभार ब्याक्त गर्दछौ।हजुरहरुको आगमन ले नयां हामिलाई धेरै बल मिलेको छ कति पटक अराजक तत्वले योड्फोड गरेका थिये हामिले रायपुरको थानामा रिपोर्ट पनि लेखायेको थियौ ।हाम्रो इतिहास गाथा विश्वभरी फैलाउनको आवस्यकता छ। हामिले बडा कठिन प्रस्थिती मा महानायक वीर बलभद्र कुवंर ज्यु को स्तुपा निर्माण गर्ना सक्यौं । त्यस बेला तत्कालिन मुख्य मन्त्री नारायण दत्त तिवारी ज्यु ठूलो सहयोग छ ।भुमी हस्ताहरण को अनि आर्थिक उपलब्ध गराउन मा तत्कालीन सांसद बिजय बहुगुणा ज्यु ले पनि सहयोग स्वोरुप पाँच लाख"रु 500000.00 दिनु भयेको थियो गोर्खा डेमोक्रेटिक फ्रन्ट सुर्य बिक्रम शाही को अनुरोध मा।खास गरेर प्रयास गर्ने हरु मा सुर्य बिक्रम शाही ,कर्नल बि के शर्मा बृगेडियर एन बि एस बिष्ट ,सि बि थापा ,स्व कैप्टन इन्द्रलाल गुरुङ ,गोविन्द थापा,पि एन शेर्पा देबिन शाही ,कै- आर डि शाही ,भिम बहादुर गुरुङ ,शारदा चन्द ,कौशल्या थापा,प्रमिला खत्री ,स्व लक्मी थापा,अ्रमर मुखिया ,समीर प्रधान ,आर बि नेपाली ,श्याम दर्शन राना,मधुर लिम्बू,बि पि शर्मा , शिवलाल आले,इन्द्रा उपाद्याय ,पुजा,पंकज कुकरेती सुभ्बन्ती पाध्याय,लिला सिंह छेत्री ,प्रेम सिह छेत्री आदि आदि थिए ।

  • यह एक बेहद सराहनीय पहल होगी. देहरादून में बने इस स्मारक को इकोटूरिज्म स्थल के रूप में विकसित करना होगा ! मैंने इस बारे में लिखा था - 20 जनवरी 2017 को नेपाल से 15 सदस्य शिष्टमंडल खलंगा स्मारक पहुंचा। शिष्टमंडल में शामिल भारत में नेपाल के राजदूत दीप कुमार उपाध्याय, नेपाली सांसद करन बहादुर थापा, बीर बहादुर बलायार, लीलीमणि पौखरेल, श्रीमती शशि श्रेष्ठ, दिल्ली के भाजपा नेता विजय जौली ने था सांस्कृतिक समिति के अध्यक्ष नेपाल के उद्योगपति अजय राज सुमार्गी, के साथ खलंगा स्मारक का भ्रमण किया और खलंगा के इतिहास को सम्पूर्ण विश्व में प्रचारित प्रसारित करने के लिए एकजुट होने की अपील की। इस अवसर पर खलंगा विकास समिति के अध्यक्ष राम सिंह थापा ने कहा कि खलंगा क्षेत्र को शीघ्र ही पर्यटक स्थल के रूप में विकसित किया जाएगा। गोरखा डेमोक्रेटिक फ्रंट की अध्यक्ष श्रीमती उमा उपाध्याय ने कहा कि संसाधनों की कमी वजह से इस स्थल का व्यापक संरक्षण नहीं किया गया है। रिटायर्ड ब्रिगेडियर सीएस थापा ने ऐतिहासिक दस्तावेज़ीकरण की बात कही। वहीं दूसरी ओर ले.जर्नल शक्ति गुरूंग ने हर वर्ष खलंगा मैराथन आयोजित करने का सुझाव रखा। इस अवसर पर राम प्रधान, गोर्खाली सुधार सभा के अध्यक्ष रिटायर कर्नल बीएस क्षेत्री, खलंगा विकास समिति के अध्यक्ष राम सिंह थापा, जीडीएफ के सूर्य विक्रम शाही, देवेन शाही, विशाल थापा, सबकी सहेली फाउंडेशन की पूजा सुब्बा, मधु गुरूंग, रिटायर्ड ब्रिगेडियर सी.एस. थापा, ले.कर्नल सीबी थापा, पूर्वा सिंह और एनबी शाही उपस्थित रहे। और अधिक जानकारी के लिए हमारे न्यूज़ पोर्टल पर पढ़िए----http://www.newslive24x7.com/khalanga-war-memorial/