|

पाल्पा : नेपाली चलचित्रका महानायक राजेश हमालले देशको विकास गर्न युवाको आवश्यकता रहेको बताएका छन्‌। गाउँमा युवा नहुँदा विकासले फड्को मार्न नसकेको उनको तर्क छ।  

पाल्पाको बगनासकाली गाउँपालिकाको समन्वय र सोही गाउँपालिकाको वडा नम्बर-५, दर्लमडाँडाको आयोजनामा दर्लममा भएको प्रथम दर्लम पर्यटन तथा सांस्कृतिक महोत्सवमा उनले यस्तो बताएका हुन्। यो उनको जन्मथलो हो। 

‘मुलुकको विकास गर्न युवा चाहिन्छ’ उनले भने, ‘विदेश पलायन हुनबाट राज्यले रोक्नुपर्छ।’ युवा गाउँमा नहुँदा विकृति मौलाएकोप्रति उनले चिन्ता व्यक्त गरे। ‘पछिल्लो समयमा गाउँ उराठ लाग्दो छ। घरहरुमा ताला लगाएका छन्। खेतबारीहरु बाँझिदै गएका छन्।’ महानायक हमालले भने ‘धेरै युवाको घरबार समेत बिग्रिएको छ।’ 

धन-पैसा कमाउन युवा देश छोडेर जानुपर्ने बाध्यताले परिवारमा विचलन आएको उनको ठम्याइ छ। लामो समय परिवारसँग टाढा रहँदा पारिवारिक समस्या उत्पन्न हुने गरेको उनले बताए। अधिकांश विदेश गएका युवाको घरबार समेत बिग्रिएको भन्दै उनले चिन्ता व्यक्त गरे। 

राज्यले उत्पादनमूलक कम्पनी सञ्चालन गरेर वा युवालाई कुनै व्यवसायमा जोड्ने खालका प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने उनको माग छ। तानसेनको अर्चलेमा घर भएका राजेशको मामाघर पनि रिब्दीकोट गाउँपालिका–४ भैरवस्थान पर्छ। सोही अवसरमा महानायक हमाललाई पाल्पामा जन्मिएर चलचित्र क्षेत्रबाट मुलुकमा योगदान पुर्‍याएको भन्दै सम्मान समेत गरियो।

महोत्सवमा पाल्पामा जन्मिएर मुलुकको उच्च ओहोदामा पुगेका व्यक्तिहरुको उपस्थिति रहेको थियो। मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व प्रहरी महानिरीक्षक कुवेर सिंह राना, राष्ट्रिय अनुसन्धान आयोगका निर्देशक गणेश अधिकारी, डा. भगवान कोइराला, नेपाल सरकारका सचिव गणेश बश्याल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा उनीहरुलाई पनि सम्मान गरियो। 

बगनासकाली गाउँपालिकाको विकासको अवस्थाबारे जानकारी दिन, मुलुकको जिम्मेवार निकायमा रहेर भूमिका निर्वाह गरेका व्यक्तिहरुलाई जमघट बनाउन यो कार्यक्रम आयोजना गरेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बश्यालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.