|

गुल्मी : जिल्लाको धुर्कोट गाउँपालिका १ नयाँगाउँका टीकाबहादुर हमाललाई यतिबेला सुन्तलाको स्याहार सुसार व्यस्त छन्। यो समय सुन्तला टिप्ने र बिक्री गर्ने भएकोले त झन उनी बगैँचामै ब्यस्त हुन्छन्।

बिहानैदेखि सुन्तलाकै चिन्तन गर्ने हमाल कोही पाहुना आए समय दिन समेत पाउदैँनन्। आजकल हमाललाई भेट्न परे सुन्तलाकै वगैंचामै पुग्नुपर्छ। ५२ वर्षीया हमालले विगत ३१ वर्षदेखि सुन्तला खेती गर्दै आएको बताएका छन्। सुन्तला खेतीबाटै उनले वार्षिक पाँचदेखि ६ लाखसम्म आम्दानी गर्दै आएको बताएका छन्। गत साल सात लाखको बिक्री गरेको बताउँदै यो वर्ष कम्तीमा पाँच लाख पर्ने अनुमान  उनले गरेका छन्।

घरमै आम्दामी विदेश किन जाने

सुन्तला लिन घरमै व्यापारी आउने गरेपछि बजारको चिन्ता नभएको उनी बताउँछन्। उनको सुन्तला स्थानीय बजारदेखि तम्घास, सन्धिखर्क हुँदै बुटबलसम्म पुग्छ।
अहिले प्रति किलो ५० देखि ६० रुपैयाँमा सुन्तला बिक्री गरिरहेका छन्। पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको प्रतिस्पर्धा छ। तर हमाल भने घरमै बसेर मनग्य आम्दानी गरिरहेका छन्। ‘यो पुर्ख्यौली पेशा हो। मैले व्यवसायीकरण गरेको मात्र हुँ’, उनले भने, ‘घरमै आम्दानी भएपछि विदेश जानुको औचित्य छैन।’ 

राज्यले सुन्तला खेतीमा चासो दिएन

कुल १२ रोपनी जग्गामा सुन्तला खेती गर्दै आएका छन्। अहिले २५० बोटमा सुन्तला उत्पादन भइरहेको छ। भने थप ४० हजार विरुवा नर्सरीमा छन्। तीमध्ये अधिकांश विरुवा बिक्री हुन्छन्। घरमा तीन छोरा, तीन छोरी र आफूहरू श्रीमान-श्रीमती गरी ६ जनाको परिवार छ। सुन्तलाको साथसाथै पशुपालनमा पनि रहेको उनी बताउँछन्। घरखर्चको लागि बाख्रा र मौरिबाट प्रशस्त पुग्छ। सुन्तलाको रकम बचत हुन्छ।

‘घरखर्च अन्य आम्दानीबाट चल्छ। सुन्तलाबाट कमाएको रकम बचत हुन्छ’, उनले भने, ‘तराइतिर घडेरी किनेर घर बनाउने हो।’ सुन्तलाबाट कम मिहिनेतमा बढी आम्दानी हुने भएपछि खाद्यान्न लगाउने ठाउँमा सुन्तला लगाएको उनको भनाई छ। तर राज्यले तरकारी खेतीलगायतका कृषिजन्य सामग्रीमा अनुदान दिँदा सुन्तला खेतीमा कुनै अनुदान नदिएको उनको गुनासो छ।

सोही गाउँकै चन्द्र विकले पनि गत वर्ष ६० हजारको सुन्तला बिक्री गरे। नौ वर्षदेखि ब्यवसायिक सुन्तला खेतीमा लागेका विकको बगैंचामा एक सय बोटले उत्पादन दिइरहेका छन् भने थप पाँच सय विरुवा नर्सरीमा छन्। ६० वटा विरुवाबाट सुरु गरेका विकले वर्षैपिच्छे आम्दानी बढाइरहेका छन्।

सुन्तला एकपटक लगाएपछि धेरै वर्षसम्म फल्ने र अन्य खेतीलाई झै स्याहार गर्न नपर्ने भएकोले सुन्तला खेतीतर्फ आकर्षित भएको उनको भनाई छ। पछिल्लो समय गुल्मीमा सुन्तला खेती गर्ने कृषकहरुको सङ्ख्या बढ्दै गएको छ।

जिल्लामा सुन्तला कृषकको यकिन तथ्यांक नभए पनि पछिल्लो समय कृषकको संख्या बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ। जसले गर्दा किसानलाई आत्मनिर्भर बन्न सहयोग पुगेको छ।

सुन्तलाको बास्तविक मूल्य कृषकले पाएन

गुल्मीमा  सुन्तला  भण्डारण गर्ने चिस्यान केन्द्र छैन। जसले गर्दा किसान बिचौलियाको मारमा पर्ने गरेका छन्। ‘टिपेर लामो समयसम्म राख्न पनि मिल्दैन। बोटमै राखे झरेर सकिन्छ।’ धुर्कोट गाउँपालिका १ नयाँगाउँकी माया जिसीले भनिन्, ‘आफूखुसि मूख्य राखेर ब्यापारीले लैजान्छन्।’ आफूहरूसँग ५० रुपैयाँ प्रतिकिलो लगेर बजारमा ८० देखि बढी मुख्यमा बेच्ने गरेको उनले बताइन्।

किसानले अझै पनि सुन्तलाको वास्तविक मुख्य नपाएको भन्दै उनले गुनासो समेत गरिन्। त्यस्तै किसानलाई भण्डारणको समस्याले गर्दा पनि सस्तैमा सुन्तला बिक्री गुर्न परेको गुनासो सुन्तला कृषकले गरेका छन् भने जिल्लाका अधिकांश ठाउँमा सिँचाइको अभाव, प्राविधिक ज्ञानको कमी लगायतका समस्याले पनि किसान मर्कामा परेका छन्। 

गत वर्ष गुल्मीमा २५ करोडको सुन्तला, यस वर्षको तथ्यांक छैन

गत वर्षभन्दा यसवर्ष सुन्तला उत्पादनमा बृद्धि भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ। राम्रो मौसम, अनुदान लगायतका कुराहरुको तालमेलले गर्दा गतवर्ष २५ करोडभन्दा बढीको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

‘उत्पादन भएको पूरै सुन्तला बजारमा आइपुगेको त छैन।’ केन्द्रका निमित्त कार्यालय प्रमुख सनबहादुर रानाले भने, 'गत साल २५ करोडको सुन्तला उत्पादन भयो, यस बर्षको तथ्यांक छैन।’ यस वर्ष पुस महिनाको अन्त्यतिर मात्रै तथ्यांक आउने उनले बताए। उत्पादन भएको सुन्तलामध्ये ४० प्रतिशत जिल्लामै खपत हुने बाँकी ६० प्रतिशत जिल्ला बाहिर निकासा हुने गरेको कृषि ज्ञान केन्द्रले जनाइएको छ। गुल्मीमा कुल एक हजार २९७ हेक्टर क्षेत्रफल सुन्तला उत्पादनयोग्य छ। 

यी हुन् सुन्तला उत्पादन हुने  गुल्मीका मुख्य क्षेत्र

जिल्लाको मुसिकोट नगरपालिका ९ अर्लाङ्ककोटमा ८० हेक्टर जमिन सुन्तला उत्पादन क्षेत्रमा पर्छ। तर त्यहाँ हाल ५० हेक्टरमा मात्र सुन्तला उत्पादन भएको छ। बाँकी ३० हेक्टर जमिनमा व्यवसायिक सुन्तला खेती गरिएको छैन। मुसिकोट नगरपालिका ८ वामिमा १५ हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ। जहाँ सम्भावित क्षेत्रफल ३० हेक्टर रहेको छ।

रुरु गाउँपालिकाको बलेटक्सारमा ३० हेक्टर क्षेत्रफल जमिन सुन्तला उत्पादनका लागि योग्य छ। तर त्यहाँ जम्मा १० हेक्टरमा मात्र सुन्तला खेती गरिदैँ आएको छ। छत्रकोट गाउँपालिकाको दिगाममा १२० हेक्टरमा सुन्तला उत्पादन गरिदैँ आएको छ। जहाँ २४० हेक्टर सुन्तला खेतीका लागि सम्भावित क्षेत्रफल हो।सोही गाउँपालिकाकै हर्दिनेटामा २०० हेक्टर सुन्तला खेतीयोग्य जमिनमध्ये १६१ हेक्टर र  हुँगामा ५० हेक्टर खेतीयोग्य जमिनमध्ये १५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ ।

गुल्मीदरबार गाउँपालिकाको गौडाकोटमा एक सय हेक्टर सम्भावित क्षेत्रफलमध्ये जम्मा ५० हेक्टरमा मात्र सुन्तला खेती गरिँदै आएको छ। गुल्मी दरवारको वीरबासमा ५० हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ। जहाँ ८५ हेक्टर सम्भावित क्षेत्रफल रहेको छ। त्यस्तै सोही गाउँपालिकाकै राजामा ६० हेक्टर सुन्तला खेतीयोग्य जमिनमध्ये ३० हेक्टरमा सुन्तला उत्पादन भइरहेको छ।

धुर्कोट गाउँपालिका ६ धुर्कोट रजस्थलमा १४० हेक्टर जमिनमा सुन्तलाको व्यवसायिक खेती गरिएको छ। जहाँको सम्भावित सुन्तला खेती क्षेत्र २३० हेक्टर हो। सोही गाउँपालिका १ नयाँगाउँमा २२५ हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ। जहाँ सम्भावित क्षेत्रफल ३०० हेक्टर रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ।

सोही गाउँपालिकाकै वडा नम्बर २ पीपलधारामा १३८ हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ। जहाँ सम्भावित क्षेत्रफल २ सय हेक्टर रहेको छ । त्यस्तै वडा नम्बर ३ हाडहाडेमा १२९ हेक्टरमा सुन्तला उत्पादन गरिएको छ। जहाँको सम्भावित क्षेत्रफल २२० हेक्टर हो। वडा नम्बर ४ जैसिथोकमा सम्भावित क्षेत्रफल २० हेक्टरमध्ये १० हेक्टरमा मात्रै उत्पादन गरिदैँ आएको छ। वडा नम्बर ७ वाग्लामा ३० हेक्टर सुन्तला खेतीयोग्य जमिनमध्ये १५ हेक्टरमा उत्पादन गरिदैँ आएको छ। 

मदाने गाउँपालिकाको भनभनेमा कुल ४० हेक्टर जमिन सुन्तला खेतीका लागि योग्य छ। तर त्यहाँ ३० हेक्टरमा मात्रै उत्पादन गरिदैँ आएको छ।सोही गाउँपालिकाको पुर्काेट दहमा ३० हेक्टर सुन्तला खेतीयोग्य जमिनमध्ये जम्मा १० हेक्टरमा मात्र खेती गरिएको छ।

कालीगण्डकी गाउँपालिकाको भुर्तङ्गमा कुल ३५ हेक्टर जमिन सुन्तला खेतीयोग्य छ। तर त्यसमध्ये जम्मा १० हेक्टरमा मात्र सुन्तला लगाइएको छ। सोही गाउँ पालिकाकै जयखानीमा १०० हेक्टर सुन्तला खेतीयोग्य जमिनमध्ये ७० हेक्टरमा मात्र लगाइएको छ। त्यस्तै अर्वेनीमा ६० हेक्टर सम्भावित क्षेत्रफलमध्ये २० हेक्टरमा सुन्तला उत्पादन भइरहेको छ।

रेसुङ्गा नगरपालिका ३ भाडगाउँ, ४ अर्खले, ५ को बालकाटे र ६ को गुरुङगाउँ लगायतका स्थानमा १९० हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ। जबकि त्यहाँको सम्भावित क्षेत्रफल ३०० हेक्टर रहेको छ। चन्द्रकोट गाउँपालिकाको हरेवामा ८५ हेक्टर सुन्तला खेतीयोग्य जमिनमध्ये जम्मा ४० हेक्टरमा मात्र लगाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.