क्यालेण्डर पछ्याउने हो भने यो लेखाइ अलि ढिलो भयो। यी पंक्तिहरू लेख्न पनि अलि ढिलै थालिएको हो, सुत्ने समयको कटौतीको हो उत्पादन हो यो। प्रसंग अलिक अघिकै हो। ठूलो एकादशीपछि पञ्चमीसम्म तुलसीको विवाह हुन्छ।
त्यो समयमा बजारमा पनि व्यापक रूपमा विवाहकै चर्चा थियो त्यो अरू कसैको नभएर साझा ठूल्दाइको त्यो पनि दोस्रो विवाहको। चर्चा हुनुको खास कारण थियो, ठूल्दाइकै सासूले नै नयाँ दुलही खोजिदिएकी रे। पंक्तिकार विष्टको पसलमा बसेर चिया खाइरहेको थियो। त्यो पसलमा अन्तभन्दा चिया मीठो हुन्थ्यो। काठमाडौंका सामान्य पसलमा एक कप चिया आउने पैसाले अढाई कप चिया आउँथ्यो। कहिलेकाहीँ लेखी टोपल्ने पंक्तिकारलाई खुराक पनि मिल्थ्यो।
विवाहको चर्चा हुनुको पनि कारण थियो त्यो हो दुलाहाको उमेर ६० को वरिपरि। त्यहाँमाथि ठूल्दाइ शानका साथ ठूलीभाउजूलाई बाइकमा हालेर साँझको समय घर लग्दै थिए। पाण्डुकेश्वर महादेव मन्दिरमा नगरा लगाउनु अघि नै पुरुषहरू बजारबाट घर हिँड्दा हाँसीमजाक गर्छन्। त्यो दिनको चर्चाको पात्र पनि ठूल्दाइ नै भए।
अघिल्लो पटक पंक्तिकार घर पुग्दा पनि ठूल्दाइको चर्चा हुन्थ्यो। युवादेखि प्रौढसम्म ठूल्दाइलाई विवाह गर्नका लागि हौस्याउथे। केटी खोज्न हामी सघाउँछौं भन्थे। ठूल्दाइ आफैं खोज्न सक्छु भनेर लकार्थे। रमाइलो हुन्थ्यो गफ सुन्न। तर, ठूल्दाइले दोस्रो विवाह गर्नु पर्थ्यो, पर्दैनथ्यो त्यो बहस हुँदै गर्ला। यहाँ पनि ठूल्दाइलाई पात्र बनाइनु हुन्थ्यो हुँदैनथ्यो त्यो पनि प्रश्न उठ्ला।
तर, यहाँ कुरा गहिरो छ। उठाउँदा समस्या नहोला, यहाँ ठूल्दाइलाई हानि पुर्याउनका लागि यी पंक्तिहरू लेखिएको हैन। गम्भीर विषयको उठान गर्न खोजिएको हो। ठूल्दाइको पहिलो श्रीमतीको केही वर्ष अघि मृत्यु भयो। मृत्युको कारण पाठेघरको क्यान्सर रहेछ।
उपचार के भयो, कुन चरणमा अस्पताल पुगे त्यो विषयमा धेरै चर्चा पनि भएन। कताकता पंक्तिकारले सुन्दा निकै बिझ्यो, त्यो कुरा। उपचार गराउन अस्पताल पुगेकी ठूल्भाउजू टिकट काटेर पनि डाक्टरलाई नदेखाई फर्केकी थिइन रे। कारण उनलाई जाँच्ने डाक्टर पुरुष थिए। ती डाक्टर कम ‘पुरुष’ बढी थिए, भाउजूको नजरमा। परपुरुषलाई कसरी देखाउने आफ्नो सबैभन्दा गोप्य निजी कुरा?
सायद त्यहाँ महिलालाई जाँच्ने महिला नै डाक्टर भइदिएको भए, ती भाउजू केही समय बढी बाँच्थिन् कि। अनि ठूल्दाइले बुढेसकालमा दोस्रो विवाह गर्नुपर्ने थिएन कि? अनि यहाँ विवाहको चर्चा पनि गर्नुपर्ने थिएन।
हुन त सबैले बुझ्नुपर्ने कुरो रोगको कुनै लिंग हुँदैन। अनि पेशाको पनि लिंग हुँदैन। तर, समाजलाई पनि हेर्नुपर्यो। व्यवहारलाई पनि हेर्नुपर्यो। शिक्षण अस्पतालको आकस्मिक कक्षको एउटा शय्यामा कम्तीमा दुईजना बिरामी हुन्छन्। महिला–महिला वा पुरुष–पुरुष हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन।
अनि त्यहाँका डाक्टर भन्छन् बिरामीको कुनै लिंग हुँदैन, बिरामी भनेको बिरामी नै हो। सबै बिरामी बराबर। कुनै बिरामीका आफन्त अप्ठ्यारो मानीमानी विपरीत लिंगी भएको बेडमा आफ्ना बिरामी राख्छन्।
पछिल्लो समय क्यान्सरको बारेमा अलि बढी नै चर्चा हुन थालेको छ। तर, खुलेरै कुरा गर्नेगरी चर्चा अझै भइसकेको छैन। सकेसम्म भनिहाल्दैनन्, बिरामीका आफन्त। पाठेघरको क्यान्सर र स्तन क्यान्सर सकेसम्म लुकाउनै कोसिस भइरहेको देखिन्छ।
यी सबै पृष्ठभूमिको सार आज रोगकै बारेमा कुरा गरौं भन्ने नै हो, रोगमा पनि अरू रोगको हैन, एड्सको। क्यान्सर मात्रै हैन, सकेसम्म आफू बिरामी भएको अरूले थाहा नपाओस् भनेर सोच्ने समाजमा एड्सको बारेमा कुरा गर्ने कत्ति होलान्? म एड्स रोगी हुँ भनेर भन्ने कत्ति होलान्? अनि म त एआरटी सेन्टरमा गएर ढुक्कले औषधि खाइरहेछु भन्ने कत्ति होलान्?
नेपालमा कोजाग्रत पूर्णिमापछिको पहिलो शनिबार राष्ट्रिय कण्डम दिवस मनाइन्छ। त्यसको कारण छन्। त्यसको तीन महिनापछि एचआइभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचार, सहयोग तथा उपचार सेवाका लागि विश्वको ध्यानाकर्षण गराउन डिसेम्बर १ तारिखमा एड्स दिवस मनाइन्छ।
यसैअनुसार परम्परागत कार्यक्रम र शैलीमै नेपाल सरकारले विश्व एड्स दिवस मनाउन थालेको पनि तीन दशक भयो। तर, देशमा करिब ३० हजार एचआइभी सक्रमितमध्ये अहिले पनि १२ हजारभन्दा धेरै संक्रमित उपचारमा छैनन्।
करिब आधा संक्रमित उपचार बाहिर रहेको अवस्थामा सन् २०२० सम्म सबै संक्रमितलाई उपचारको पहुँचमा ल्याउने सरकारी लक्ष्य पूरा नहुनेमा ढुक्क हुन सकिन्छ। संक्रमितहरू अस्पतालसम्म नपुग्नुको पनि आफ्नै कारणहरू छन्।
अस्पताल पुगेपछि आफू सार्वजनिक हुन्छु, आफ्नो रोगबारे समाजलाई थाहा हुन्छ भन्ने डर एउटा कारण होला। अर्को कारण एचआइभी एड्स लागे पनि अलि लामो आयु बाँच्न सकिन्छ भन्ने थाहा नभएर पनि हुन्छ। अनि अझै यसको लागि धेरै पैसा खर्च हुन्छ भन्ने पनि लाग्दो हो।
अरू धेरै योजना र कार्यक्रमजस्तै सन् २०२० सम्ममा सबै संक्रमितलाई उपचारको पहुँचमा ल्याउने लक्ष्यबाट नेपाल सरकार धेरै टाढा छ। किनकि संक्रमित नै टाढा भएपछि कहाँबाट सरकारले लक्ष्य भेट्टाओस्।
सबै संक्रमितलाई उपचारको पहुँचमा ल्याउने सरकारको कार्यक्रम सोचेजस्तो प्रभावकारी भएको छैन, जसको पुष्टि सरकारी तथ्यांकबाटै हुन्छ। नेपालमा अहिले २९ हजार ९ सय ४४ एचआइभी संक्रमित छन्। तीमध्ये १७ हजार ९ सय ८७ संक्रमित मात्र उपचारमा छन्। १२ हजारभन्दा धेरै संक्रमित अझै उपचारमा जोडिएका छैनन्।
सरकारले अबको १३ महिनामा पहुँचबाहिर रहेका सबै संक्रमितलाई उपचारमा ल्याउने भनेको छ। तर, लामोसमय सरकारी पहुँचबाहिर रहेका १२ हजार जना सजिलै उपचारमा जोडिने सम्भावना कम छ किनभने अहिले पनि संक्रमितमा सामाजिक तिरस्कारको डर छ, जुन सरकारका लागि चुनौती बनेको छ। नेपाली समाज अहिले पनि रोगलाई हैन रोगीलाई घृणा गरिरहेको छ।
जुनसुकै यौन रोगलाई नेपाली समाजले राम्रो मान्दै मान्दैन, हुन पनि रोग भनेको नराम्रै हो। एचआइभी एड्स असुक्षित यौन सम्पर्कबाट मात्रै सर्छ भन्ने आम बुझाई छ। तर, सर्ने त अरू पनि कारणहरू हुन्छन् भन्ने कुरालाई नजरअन्दाज गरिन्छ।
एचआइभी एड्सको सन्दर्भमा मात्रै हैन, रोगका बारेमा नेपाली समाजको बुझाइ राम्रो छैन। परिपक्क बुझाइ छैन। रोगबारे बुझाउने गरी कुनै काम भएकै छैन, बुझाउनुपर्ने ठाउँमा कुरा पुगेकै छैन। बुझेको छु भन्नेहरूको पनि डेढअक्कले पारा छ।
सरकारले एचआइभी संक्रमितका लागि ६० जिल्लामा एआरटी सेन्टर खोलेर नि:शुल्क औषधि बाँड्दै आएको छ। तर, खुल्न नमान्ने संक्रमित एआरटीबाट टाढै छन्। यति हुँदाहुँदै पनि विश्वव्यापीरूपमा जस्तै नेपालमा पनि एचआइभीको नयाँ संक्रमण दर घटिरहेको छ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार सन् २०१० को तुलनामा सन् २०१८ सम्ममा ५८ प्रतिशतले नयाँ संक्रमण घटेको छ। तर, दिवस मनाउन उत्साही सरकारले एचआइभी रोकथाम, हेरचाह, सहयोग तथा उपचारसम्बन्धी कार्यक्रम किन प्रभावकारी भएन भनेर समीक्षा गरेकै छैन। यसको कारण खोजेको नै छैन।
तर, सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यको रटान छाडेको छैन। यही गतिले सरकार अघि बढिरहे खुल्ला दिसामुक्त देश भनेर घोषणा हुने व्यवहारमा खुला, नदी किनारमा मुख छोपेर बिहानै मुख मात्रै छोपेर राष्ट्रिय चिन्तनमा लाम बस्नेको लामो लाइन जस्तै अवस्थाबाट मुक्त नहुने खतरा रहन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।