|

पर्सा : नेपाल-भारत अन्तरदेशीय पाइपलाइनमा नेपालतर्फ क्षति भएको छ। सडक बनाउने क्रममा मुलुकमा पेट्रोलियम पदार्थ ल्याउने पाइपलाइनमा फेरि क्षति पुगेको हो। यसअघि पनि मंसिर २५ गते वीरगन्जको गण्डक चोकनजिक बाइपास सडकनिर बाटो बनाउने क्रममा पाइपमा हल्का क्षति पुगेको थियो।

मंगलबार पनि दिउसो पर्साको वीरगन्ज महानगरपालिका १४ को गण्डक चोकको उत्तरतर्फ बयोधा अस्पताल अगाडि सडक बनाउने क्रममा पाइपमा क्षति पुगेको छ। सो ठाउँमा दिवा सपना जेभि कन्ट्रक्सन प्रालिले सडक विस्तारको काम गर्दा पाइपमा क्षति भएको नेपाल आयल निगम अमलेखगञ्ज डिपो कार्यालयले जनाएको छ। सडक बनाउने क्रममा ना १ ख ७०२२ नम्बरको डोजरले क्षति पुर्‍याएको डिपो कार्यालय अमलेखगञ्जका प्रमुख प्रदिप यादवले बताए। 

‘डोजरले बाटो बनाउने क्रममा पाइपलाइन माथिको ढलान र इन्सुलेशन उप्काएको उनको भनाइ छ। पाइपको बाहिरी तहमा अलिअलि कोरिएको छ। भित्री तहसम्म भने क्षति नहुँदा संयोजले ठूलो क्षति भने यो पटक पनि टरेको उनले तर्क गरे।

सडक बनाउने क्रममा सडक निर्माण गरिरहेको निर्माण कम्पनी र श्रमिक तथा प्राविधिकको लापरवाहीले एक महिनाको अन्तरालमा फेरि पनि पाइपलाइनमा क्षति पुगेको डिपो प्रमुख यादवको तर्क छ। यसमा सडकका ठेकेदारको पनि चरम लापरवाही मान्न सकिन्छ उनले थपे। 

पाइपमा क्षति भएपछि नेपाली सेना र नेपाल प्रहरी र अमलेखगन्जबाट डिपो प्रमुख यादवसहित प्राविधिकको टोली घटनास्थलमा पुगेर निरीक्षण गरेको छ। पाइपलाइन माथिको इन्सुलेशन र ढलान, सडकका ठेकेदारबाट मर्मत गर्न लगाइने डिपो कार्यालयले जनाएको छ। निर्माणाधीन सडकमा बुधबारदेखि आयल निगमका इन्जिनियरसहित पाइपलाइनको दिशा बताउने व्यक्ति तथा इन्जिनियरसहित खट्ने र उनीहरूको सुझाव अनुसार सडकको काम अगाडि बढाउने आयल निगम डिपो कार्यालयले जनाएको छ। 

मंगलबार करिब २ मिटरजति पाइपमा बाहिरी भाग डोजरले कोरेको छ। यस्तै समस्या हुन सक्छ भनी पाइपभन्दामाथि १५ सेन्टिमिटर जति बालुवा र बालुवामाथि एक फिट चौडाइ वार्निङ टेप राखिएको प्राविधकको भनाइ छ। पाइपलाइनको हरेक ५० देखि एक सय मिटरको दूरीमा सूचना दिने इण्डिकेटर पनि राखिएको पाइप गाड्ने क्रममा नेपाल तर्फका एक्पर्ट रहेका शरदप्रसाद पौडेलले बताए।

गत भदौमा नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरी सञ्चालनमा आएको मोतिहारी रक्सौल हुँदै वीरगन्ज अमलेखगन्जको अन्तरदेशीय पाइपलाइनबाट डिजेल आउन थालेको छ। यो पाइपलाइनको बाटो मध्ये संवेदनशील मानिएका ठाउँमा २४ घण्टा नै सुरक्षा दिने व्यवस्था गरिएको छ।

नेपालतर्फ जमिनको सतहभन्दा आठ फिट तल पाइप गाड्ने भनिए पनि प्राविधिकसँगको पूर्व परामर्शविना कर्मचारीले इण्डियन आयल कर्पोरेशनसँग सहमति बढाउँदा पटक पटक यस्ता समस्या आउने प्राविधिकको भनाइ छ।

प्राविधिकको भनाइअनुसार संयोग भन्नुपर्छ एक महिनाको अन्तरमा दुईदुई पटक पाइपमा क्षति हुँदा अप्रिय दुर्घटना हुनबाट जोगिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.