|
इलाममा जापानी पर्यटक मितामुरा

इलाम : भ्रमण वर्ष २०२० को अघिल्लो दिन होटल व्यवसायी संघ इलामले सदरमुकामका ४ होटलमा पहिलो पर्यटकलाई एक रुपैयाँमा खानेबस्ने योजना ल्याएका छन्।

होटल व्यवसायीले ल्याएको एक रुपैयाँमै खाने बस्ने सुविधा पाउने भाग्यशाली ग्राहक बनेका छन् जापनाका युडिक मितामुरा। सदरमुकामस्थित ग्रीन भ्यु होटल, चियाबारी कटेज, हाम्रो पोखरेली होटल र ग्रीन सिटी गेष्ट हाउसले यस्तो योजना ल्याएका हुन्। 

सदरमुकामको चोकबजार भन्दा करिब ७-८ सय मिटरमाथि रहेको चियाबारी कटेज बुक गर्न पुगे मितामुरा। होटल व्यवसायी थेवा तामाङले चलाएको कटेजमा भाग्यशाली ग्राहक बन्न पुगेका मितामुराले मंगलबारको रात बिताउन र २ छाक खानासमेत १ रुपैयाँमै पाउने भए। 

'इलामको आतिथ्यता साँच्चिकै रमाइलो लाग्यो। यो सद्‍भाव कहिले भुल्ने छैन', मितुमाराले भने। न्यानो आतिथ्यता पाएपछि इलामको पर्यटन सदभाव दूतका रुपमा जापनामा नेपालको भ्रमण वर्षको प्रचार गर्ने प्रतिवद्धता उनले जनाएको होटल व्यवसायी संघका अध्यक्ष देवी पौडेलले बताए। 

होटल संचालक तामाङले भ्रमण वर्षको पूर्वसन्ध्यामा जापानी पर्यटकलाई आतिथ्यता दिने अवसर पाएकोमा खुशी व्यक्त गरे। 'भ्रमण वर्षलाई लक्षित गरेको योजनामा जापानी पर्यटकलाई स्वागत गर्न पाएँ', उनले भने, 'यो योजनाले पक्कै पनि इलाममा भ्रमण वर्ष सार्थक हुन्छ भन्ने लागेको छ।’

मितामुरासँगै अन्य ३ होटलमासमेत अतिथिले एक रुपैयाँमा खान बस्न पाएका छन्। 

जोरकलशबाट भ्रमण वर्ष शुरू

इलाम-झापा सिमानाको जोरकलशबाट भ्रमण वर्षको शुभारम्भ हुने भएको छ। बुधबार बिहान जिल्लास्तरीय पर्यटक प्रवर्द्धन मूल समारोह समिति, मेची क्षेत्र पर्यटन प्रवर्द्धन विकास समिति र रोङ गाउँपालिकाको संयुक्त आयोजना इलाममा भ्रमण वर्षको सुभारम्भ गरिने जिल्ला समन्वय समिति इलामका प्रमुख तथा मूल पर्यटन प्रवर्द्धन मूल समारोह समितिका संयोजक गणेश बरालले बताए। 

भ्रमण वर्षको उद्घाटन प्रदेश सांसदहरु धीरेन्द्र शर्मा र काजीमान कागतेले गर्नेछन्। भ्रमण वर्षको पहिलो दिन हाँसपोखरीदेखि सानो पाथीभरासम्म पदयात्रा गरिने रोङ गाउँपालिका अध्यक्ष शम्शेर राईले बताए।

 

नयाँ वर्षको स्वागतमा जोरकलशदेखि हर्कटेसम्मका विभिन्न स्थानमा स्वागतद्वार निर्माण गरिएको छ। भ्रमण वर्षकै अवसरमा नेपाल-भारत सीमाक्षेत्रको पर्यटकीय गन्तब्य गुफापातालमासमेत विभिन्न कार्यक्रम आयोजना गरिनेछ। 

भ्रमण वर्षको स्वागत गर्न इलामको पर्यटकीय गन्तव्य श्रीअन्तु, कन्याम, इलाम बजार लगायतका क्षेत्रका होटल एवम् होमस्टे पर्यटकले भरिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.