|
Photo : celebritydentist.com

काठमाडौं : राणा प्रधानमन्त्री श्री ३ वीरशमशेरकालीन असनको ढल मर्मतसम्भार गर्न भन्दै जथाभाबी भत्काउँदा अहिले राजधानीको यो पुरानो बजार हिँडिनसक्नु गरी दुर्गन्धित भएको छ। यो बजारको मुख्य गल्ली सम्पदा मार्गमा जथाभाबी सात फिट गहिरो खाल्टो बनाइएको छ।

महानगरले ढल थुनिएको भन्दै बिनायोजना ४-५ ठाउँमा ठूल्ठूला खाल्टा खनेपछि पुरानो ढल भेटिएको छ। उक्त पुरानो ढलमा वीरशमशेरकालीन इँट भेटियो तर महानगर र स्थानीयले यो ऐतिहासिक पक्षको बेवास्ता गरे।

महानगरपालिका ३० असन बजारको ढल अहिले भताभुंग पार्दा यो ऐतिहासिक र पुरानो बजार सुनसान बन्न थालेको छ। करिब डेढ सय वर्षअघि निर्माण गरिएको ढल महानगर र राज्यका निकायले समयमा मर्मत नगर्दा अहिले ठप्पजस्तै भएको छ।

मर्मतसम्भार भन्दै पुरानो ढल जथाभाबी खन्दा असन नै दुर्गन्धित बनेको काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा पूर्वमन्त्री पीएल सिंहले बताए। ‘ढल बाहिर बगेपछि ऐतिहासिक असन बजार प्र्रभावित भयो तर नयाँ योजना ल्याउन नसक्दा, मर्मत र पुनर्निर्माण गर्न नसक्दा र स्थानीयले पुराना सम्पदालाई बेवास्ता गर्दा ढल अलपत्र बनेको छ’, सिंहले भने।

इन्जिनियरले ऐतिहासिक स्थलको संरक्षणमा चासो नदिई नयाँ योजना ल्याउनु विकासका नाममा विनास हुने उनको आरोप थियो। पुरातात्विक स्थल जोगाउन सोचेर काम गर्नुपर्ने तर पुर्खाले गरेको कामलाई भत्काउँदा इतिहास मेटिएको भन्दै उनले दुखेसो पोखे।

बन्द भएको भन्दै महानगरले एक महिनायता बिनायोजना जथाभाबी सडकसडकमा प्वाल पारेर ढल निकालेको छ। जम्मा एक लाख पचास हजार रुपैयाँको न्यून बजेटले असन बजारको पूरै ढल मर्मतसम्भारका नाममा खनिएपछि बजार पूरै दुर्गन्धित बनेको हो।

‘खन्न सुरु गरिएको थियो। पैसा सकिएको भन्दै बन्द गरे। हामी चकित पर्‍यौं’, ज्याठा ठमेल पर्यटन समितिका संयोजक योगेशकुमार खड्गीले भने  दुर्गन्धले बजारमा पर्यटकदेखि बटुवासमेतको आवतजावत महिना दिनदेखि पातलिँदै गएको खड्गीले बताए।

- अन्नपूर्ण पोस्टबाट

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.