|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरा पुग्ने हिन्दू धर्मावलम्बीहरूका लागि ‘घटालथान’ आस्थाको धरोहरका रूपमा रहेको छ। यहाँ मनमोहक दृष्यावलोकन गर्ने तथा ऐतिहासिक अध्ययनस्थलका रूपमा रहेको छ।

सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठमध्येको एक हो ‘घटालथान’। घटालथाल पर्यटकीय दृष्टिकोणले पनि सम्भावना बोकेको क्षेत्र हो। अमरगढी नगरपालिका–३ घटाल क्षेत्रमा रहेको घटालथान बाबा मन्दिर बुढीघटालका नामले पनि प्रसिद्ध छ। यसलाई यस क्षेत्रको मुख्य धार्मिक शक्तिपीठका रूपमा लिइन्छ। 

सदरमुकाम बागबजारदेखि पश्चिम–दक्षिणतर्फ पाँच किलोमिटरको दूरीमा रहेको घटालथानसम्म सडक कालो पत्रे भएसँगै आन्तरिक तथा  बाह्य पर्यटक बढेका छन्।जिल्ला सदरमुकामबाट घटालथान पुग्न गाडीबाट १५–२० मिनेट र पैदल एक घण्टा समय लाग्छ। जिल्लाको सदरमुकामबाट यहाँ आउन प्रयोग गरिने मुख्य बाटो बागबजार–आइतबजार–घटाल मन्दिर हो।

यस स्थानमा आउन सकिने अन्य वैकल्पिक बाटो चिमिरिकोट–वीरखम्व–टुँडा–चम्साल हो। घटालथानसँगै पश्चिमतर्फ प्यागोडा शैलीमा बनेको असिग्राम मन्दिर पनि रहेको छ। 

चारैतिर डाँडाले घरेको डोटी घटाल क्षेत्र सम्म परेको घटाल गाड खोला क्षेत्रमा अवस्थित छ। घटाल गाडका बीचमा घटाल बाबाको मूर्ति अवस्थित रहेसँगै ऐतिहासिक ढुंगै नौला र ऐतिहासिक हिङलो पिङ पनि रहेकाले घटाल पुग्नेले पिङको आनन्द पनि लिन मिल्छ। 

घटालथानमा हरेक नयाँ वर्षको पहिलो दिन पूजा हुन्छ र बैशाख २ गते मेला लाग्छ। त्यहाँका धामीहरूले आ-आफ्ना समस्या समाधानका निम्ति गएकाहरूलाई म्याद दिएरै समस्या हल गरिदिने आश्वासन दिन्छन्।  

बिसु जातमा धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गर्दछन्। धामीहरूले पहिले पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भने अहिले पनि १०/१२ मुठी जति मुखभरीको बालुवा पानीसँगै घुटुघुटु खाने गरेको स्थानीयहरूले बताउने गरेका छन्। घटाल बाबासँग कसैले केही मागेमा मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ। यहाँ मनोकामना पूरा भएपछि बोकाको बलि दिने चलन अहिले पनि रहिआएको छ। 

रानीको दाइजो

किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ  नै घटालबाबा स्थापना गरिएको बताइन्छ। घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ।

पर्यटकीय गन्तव्य बन्दै 

यस क्षेत्रकै प्रसिद्ध धार्मिक शक्तिपीठ ‘घटालथान’ पर्यटकीय गन्तव्य बनिरहेको छ। विगतको तुलनामा पछिल्लो समय घटाल थानको अबलोकन तथा ‘घटालथान’मा पूजा–आजा गर्नेको संख्यामा वृद्धि भइरहेको हो। विगतको तुलनामा घटालथानको अवलोकन गर्ने पर्यटकहरुको संख्यामा वृद्धि भएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णराज बोहराले बताए। 

अहिले घटालथानमा सुदूरपश्चिमका विभिन्न जिल्लाका विद्यार्थीहरू अवलोकनका साथै यस क्षेत्रमा वनभोज खानका लागि आउने गरेका छन्। सुदूरपश्चिमका विभिन्न जिल्लाका विद्यार्थी तथा बाह्य जिल्लाका र विदेशबाट गरि दैनिक ३०÷४० जनाको संख्यामा घटालथानमा पर्यटकहरु आउने गरेका अध्यक्ष बोहराले बताए। 

‘भ्रमण वर्ष २०२० लाई मध्य नजर राख्दै घटाल क्षेत्रमा नियमित सरसफाई अभियान, आन्तरिक तथा बाहिय पर्यटकहरूको रेकर्ड राख्ने, यस क्षेत्रको विभिन्न माध्यमबाट प्रचारप्रसार गर्ने गरेका छौँ।’ उनले भने, ‘सुन्दर डोटी घटाल लेखेर घटाल बाबाको फोटो राखि टि–सर्ट बनाउने, मायाको चिनोलगायत कार्य गरिरहेको छौँ।’ विशेष गरेर मंगलबार र शनिबार घटाल थानमा पूजा–आजा गर्नेहरुको भीड लाग्ने गरेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.