|

विराटनगर : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा उम्मेदवार बन्नका लागि २८ वर्षे उमेर हद तोकेसँगै बुढेसकाल लाग्दासम्म विद्यार्थी संगठन नछोड्ने नेताहरुको ओठमुख सुक्न थालेको छ। क्याम्पसको राजनीतिमा हाबी भएर बाहिर राजनीतिक क्षेत्र विस्तार गर्ने योजनामा बसेका धेरै विद्यार्थी नेताहरुलाई उमेर हदले ‘एक्स्पाएर' बनाइदिएको छ।

अध्ययन सकिएपनि स्ववियु सभापति हुने मनसायमा बारम्बार भर्ना हुँदै बस्ने नेतालाई त्रिविको यो नियमले पिरोलेको मात्र छैन कतिपय संगठनमा अबको उम्मेदवार कसलाई बनाउने भन्ने विकल्प समेत तयार भएको छैन। स्ववियु निर्वाचनको दृष्टिकोणले पूर्वमै सबैभन्दा महत्व मानिने महेन्द्र मोरङ क्याम्पसमा सभापति बन्ने मनसाय पालेका प्रमुख राजनीतिक दलसँग सम्वद्ध विद्यार्थी नेताहरु ‘के गरौं न कसो गरौं’ को अवस्थामा देखिन्छन्।

महेन्द्र मोरङमा क्रान्तिकारीलाई समस्या  

महेन्द्र मोरङ क्याम्पसका विद्यार्थी नेतामध्ये अखिल क्रान्तिकारीका जिसश न्यौपाने बाहेक अन्य सबै पुराना अनुहारलाई उमेर हदले रोकेको छ। सात वर्षदेखि अखिल क्रान्तिकारीमा सक्रिय न्यौपाने मात्र आगामी फागुन १४ गते स्ववियु निर्वाचन भए पुराना अनुहारमध्ये स्ववियुमा उम्मेदवार बन्न सक्नेछन्। उनलाई आफ्नो संगठनले निर्णय गरेर सभापति उम्मेदवारको रुपमा अगाडि सार्‍यो भने उनी क्याम्पस राजनीतिको एक्ला अनुभवी मानिने छन्। तर, संगठनले अहिले नै कसलाई सार्ने भन्ने गरि निर्णय गरिसकेको छैन। त्यही संगठन भित्रका देवा यादव, दिपेन्द्र मेहतालाई उमेर हदले छेकेको छ। क्याम्पस इकाई सभापतिको रुपमा रहेका अभिमन्यु यादव पनि सम्भावित उमेद्वारको रुपमा चिनिन्छन् ।

स्ववियू चुनावको दुई दिनअघि उमेर हद पार  

क्रान्तिकारी बाहेक अन्य संगठनलाई उमेर हदको पीडाले बढी पिरोलेको छ। २०६५ सालमा भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा सदस्यमा निर्वाचित एमाले निकट अखिलका नेता गोकर्ण घिमिरे मोरङ क्याम्पसका बलिया सभापतिका प्रत्यासी थिए। उनले पछिल्लो समय क्याम्पसमा आउजाउ बढाउँदै गएपनि उनका लागि उमेर हद बन्देज हुने देखिएपछि अहिले निराश बनेका छन्।

स्ववियु निर्वाचनको मिति फागुन १४ गते घिमिरे २८ वर्ष पुरा गरेर २९ वर्षमा लागेको विशेष अवसरको जन्मजयन्ती मनाउँदै हुनेछन्। तर, त्यो खुशीले उनलाई सभापतिको उम्मेदवार बन्ने अवसरमा बन्देज लगाइसकेको हुनेछ। स्ववियु निर्वाचनको घोषित मिति फागुन १४ गते भन्दा २ दिन अगाडि नै घिमिरेले २८ औं वसन्त पार गरिसक्नेछन्। घिमिरेको विकल्पमा अहिलेका क्याम्पस समितिका अध्यक्ष लक्ष्मण पोखरेल सभापतिका उम्मेदवार बन्न सक्नेछन्।

नेविसंघमा पनि त्यस्तै

यस्तै स्ववियु निर्वाचन २०६५ मा सदस्यमा निर्वाचित एवं नेपाल विद्यार्थी संघका क्याम्पस कार्यबाहक इकाई सभापति केशव गिरी पनि उमेर हदको पीडा छन्। ‘बोर लागि राखेको छ, के गर्नु यस्तै भयो’ गिरीले भने लामो समय खटियो अहिले आएर सभापति बन्न नपाइने भयो। दीपक नेपालपछि क्याम्पसमा जमेर बसिरहेका गिरीलाई २८ वर्षे हदको पीडाले निक्कै पिरोलेको छ। उमेर हद नलागेको भए गिरी पनि सभापतिका बलिया प्रतिस्प्रर्धी मानिने थिए। उमेर हदकै कारण विद्यार्थीबीच लोकप्रिय रहेका नेविसंघका नेपाल समयमै क्याम्पस रुग्न छोडेर बाहिर निस्केका थिए।

नेविसंघमा मोरङ क्याम्पसमा राजनीति गर्ने अर्का नेता दीनानाथ आचार्यका लागि भने त्यहाँको सभापति बन्ने सपना कल्पना मात्र भयो। सबै एक्स्पाएर भएपछि अहिले मोरङ क्याम्पसमा नेविसंघको तर्फबाट सभापतिका सम्भावित तीन उम्मेदवार देखिएका छन्। उमेश खत्री, अमर थापा र हेमराज डाँगी संभावित हुन्। यी तीनैजना राजनीतिक लाइनमा त्यति सक्रिय भने छैनन्।

सहकार्यको सम्भावना

यसअघि महेन्द्र मोरङ क्याम्पसमा एमाले निकट अनेरास्ववियु र माओवादी निकट क्रान्तिकारी विद्यार्थीसंगठनबीच भएको एलान्सका उम्मेदवार जयराम सुन्दास निर्वाचित भएका थिए। यस पटक भने सहकार्य हुने नहुने टुंगो नभएपनि सांगठनिक प्रभाव भन्दा व्यक्ति प्रभावले महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन प्रभावित हुने देखिन्छ। प्रायः सबै विद्यार्थी संगठनलाई आआफ्नो हिसाबले जोड घटाउ गर्नु त छँदैछ उमेर हदका कारण उम्मेदवार छनौटमा भने समस्या परेको छ।

मोरङ जिल्लामा ८ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ। त्यसमध्ये तीनवटा विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु र नेविसंघले अघिल्लो पटकको निर्वाचनमा आआफ्नो बर्चश्व समान हिसाबले देखाएका थिए।

२०६५ सालम भएङ्को स्ववियू निर्वाचनमा महेन्द्र मोरङ क्याम्पस र रमाइलो क्याम्पसमा अखिल क्रान्तिकारीले जितेको थियो भने डिग्री क्याम्पस र नर्सिङ क्याम्पसमा नेविसंघले जितेको थियो। यस्तै विराटचोकमा रहेको सुकुना क्याम्पसमा भने अनेरास्ववियुले जितेको थियो।

उर्लाबारी क्याम्पस, पथरी बहुमुखी क्याम्पस र लेटाङ क्याम्पसमा भने विवादका कारण निर्वाचन हुन सकेको थिएन। यस पटक सबै क्याम्पसमा चुनावी माहोल बनेको र निर्वाचन हुने अखिल क्रान्तिकारीका नेता सुमन कालिकोटेले जानकारी दिए।

पूर्वको राजनीतिको केन्द्र मानिने विराटनगर र सोही विराटनगरमा रहेको पूर्वको चर्चित महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचनले आगामी स्थानीय तहको हुने भनिएको निर्वाचनको परिणामलाई पनि आंकलन गर्न सकिने भएकोले सबै विद्यार्थी संगठन र पार्टीहरुले विशेष चासो राखेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.