|

धनकुटा : नेपाली फुटबल टिमका कप्तान सुजल श्रेष्ठ र उस्सु खेलाडी चित्रसिंह ठकुरीलाई गृहजिल्ला धनकुटामा अभिनन्दन गरिएको छ।

काठमाडौं र पोखरामा गत मंसिर १५ देखि २४ सम्म सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) नेपाललाई पदक दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले श्रेष्ठ र ठकुरीलाई धनकुटा नगरपालिकाको आयोजनामा अभिनन्दन गरिएको हो।

सागमा नेपाली फुटबल टीमले स्वर्ण पदक जितेको थियो र नेपाली फुटबल टीमका कप्तान श्रेष्ठले पदक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यस्तै, ठकुरीले उस्सुमा नेपालको प्रतिनिधित्व गर्दै कास्य पदक जितेका थिए।

नेपाली फुटबल टीमका कप्तान श्रेष्ठलाई नगद एक लाख र सम्मान पत्र तथा उस्सु खेलाडी ठकुरीलाई नगद ५० हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गरिएको थियो। यस्तै, अभिनन्दन कार्यक्रममा सागमा निर्णायको भूमिकामा रहेका धनकुटा निवासी उस्सुका अन्तर्राष्ट्रिय निर्णायक खेमराज थापालाई सम्मानपत्रले सम्मान गरिएको छ।

अभिनन्दित नेपाली फुटबल टीमका कप्तान श्रेष्ठले मन्तव्य दिँदै अहिले मातृभूमिको न्यानो माया र सबैको साथ पाएको बताए। उनले धनकुटाकै कारणले आफू यो स्थानमा पुगेको बताउँदै सबै धनकुटेलीलाई धन्यवाद दिँदै र यस्तो सम्मान आफूहरूलाई राज्यले गरेको भए पनि धनकुटाले गर्दा छुट्टै लागेको बताए। अर्का सम्मानित उस्सुका ठकुरीले धनकुटाले सम्मान गर्दा उत्साहित भएको बताए।

कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटेली खेलाडी श्रेष्ठ फुटबलमा र ठकुरीले उस्सुमा पदक जित्दै धनकुटा पहिचान दिलाएकाले अभिनन्दन गरिएको बताए।

धनकुटा बसपार्कबाट सुरु भएको अभिनन्दन र्‍यालीले श्रेष्ठ र ठकुरीलाई बजार परिक्रमा समेत गराएको थियो। श्रेष्ठ र ठकुरीलाई अभिनन्दन गर्दा विभिन्न जातीय समुदाय झाँकी प्रस्तुत गरिएको थियो। र्‍यालीमा जनप्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि र सयौँको संख्यामा स्थानीयको सहभागिता रहेको थियो।

काठमाडौं र पोखरामा गत मंसिर १५ देखि २४ सम्म सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) नेपालले २५ विधाका खेलमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य जितेको थियो।

को हुन सुजल

विस २०४९ साल माघ २२ गते धनकुटाको धनकुटा-७ मा आमा रोमा श्रेष्ठ र बुबा राजु श्रेष्ठको कोखबाट जन्मिएका सुजलले ८ कक्षासम्मको अध्ययन स्थानीय बालसंसार आवासीय माविबाट गरेका थिए। १३ वर्षको उमेरबाट धनकुटाकै स्थानीय क्लबबाट फुटबल खेल्न सुरु गरेका सुजलले काठमाडौंको जेवियरबाट १२ कक्षासम्म अध्ययन गरेका छन्। 

त्यसपछि धनकुटाबाट अन्डर १६ र १९ को राष्ट्रिय फुटबल खेलेका थिए। त्यसपछि ए डिभिजन क्लब मनाङ मस्र्यादी क्लबमा सहकप्तान र कप्तान हुँदै नेपाली राष्ट्रिय टीममा पर्न सफल भएका थिए। हाल उनी मछिन्द्र क्लब काठमाडौंबाट खेल्दै आएका छन्।

सुजलले नेपाललाई साफ च्याम्पियनसिप, बंगबन्धु कप, एएफसी सोलाडिरिटी र १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) नेपाललाई पदक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह भूमिका निवाह गरेका छन्। उनलाई एएफसी सोलाडिरिटी कपको उपाधि नेपालले जितेको बेला पनि धनकुटामा अभिनन्दन गरिएको थियो।

को हुन चित्रसिंह

धनकुटा नगरपालिका १ मा बुबा यज्ञसिंह ठकुरी र आमा ओमकुमारी ठकुरीका कोखबाट जन्मिएका चित्रसिंह ठकुरीले २०५७ सालबाट उस्सुको प्रशिक्षण लिन थालेका थिए। स्थानीय जनता आधारभूत विद्यालय र भाषा माध्यमिक विद्यालयमा अध्ययन गरेका ठकुरीले उस्सुमा विभिन्न क्षेत्रीय र राष्ट्रिय पदक जितिसकेका छन।

उनी २०६९ सालबाट नेपाल आर्मी क्लवबाट उस्सु प्रतियोगितामा भाग लिँदै आएका छन। उनले हालै सम्पन्न भएको सागमा नेपालको तर्फबाट उस्सुमा कास्य पदक जितेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.