|

इलाम : अम्लिसोको मूल्य आधा घटेपछि जिल्लाका किसानहरु समस्यामा परेका छन्। यसको फूल कुच्चोको रुपमा बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका किसान गत वर्ष भन्दा आधामात्र भाउ पाउँदा समस्यामा परेका हुन्।

गत वर्ष सिजनमा ९८ रुपैयाँ प्रति किलोमा बिक्री भएको अम्लिसोको मूल्य यस बर्ष घटेर प्रतिकिलो ४० देखि ४५ रुपैयाँमा झरेको छ। इलामको गाउँ गाउँमा उत्पादन भएको अम्लिसो झापाको धुलाबारी आसपासका व्यापारीहरुले खरिद गरी पुनः प्रशोधन गरेर भारत र बंगलादेशसम्म निर्यात गर्ने गरेका छन्।

अम्लिसो निर्यात नीति नै स्पष्ट नभएको मौका छोपेर गत वर्ष भारीभित्र राखेर सुपारी र अन्य वस्तुको व्यापार अवैध तरिकाले गरिएको पाइएपछि भारतको सिमाना र भन्सारमा कडाइ गरेको थियो। 

यस बर्ष हरेक स्थानमा कुच्चोको बण्डल खोलेर देखाउनुपर्ने र पुनः लोड गर्दा हुने खर्चको कारण यो वर्ष निर्यात खर्च बढेको व्यापारीहरु बताउँछन्। कुच्चोको व्यापार नीति स्पस्ट नभएको कारण यसअघि हुण्डीबाट कारोबार हुने भएपनि भारु नोटको प्रतिबन्ध, भारत सरकारले हुण्डीमा गरेको कडाइको कारण मुल्य र कारोबारमा गिरावट आएको हर्कटेका ब्यपारी दुर्गाराज निरौलाले बताए। कुच्चोको गुणस्तरमा सुधार नभएसम्म र राज्यले सहज व्यापार नीति नल्याए मुल्य अझ घट्न सक्ने निरौला बताए।

गत वर्ष पनि भारतको नाकाबन्दीका कारण तयारी कुच्चो निर्यातमा समस्या हुदा व्यापारीले गतवर्षको अम्लिसो गोदाममा नै थन्क्याएर राखेका थिए। इलामको दक्षिणी गाउँ समाल्बुङ, जिर्मले, इरौटार, कोल्बुङ, गोदक, दानाबारीमा अम्लिसो अत्याधिक उत्पादन हुने गरेको छ। 

इलाममा गत वर्ष ५१८९.४ हेक्टरमा गरिएको अम्लिसो खेतीबाट कूल ५१ हजार ६०३ मेट्रिक टन कुचो उत्पादन भएको तथ्याङ्क जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.