किसानले भने : फेरि काठमाडौंमा आउनु नपरोस्

|
सहमति पत्र आदान प्रदान गरिँदै

काठमाडौं : चिनी मिल मालिकबाट एक अर्ब रुपैयाँ बढी रकम भुक्तानी माग गर्दै १५ महिनादेखिको आन्दोलनरत उखु किसान र सरकारबीच सहमति भएको छ। 

सरकारको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी मिलाबाट उखु किसानलाई भुक्तानीका लागि समन्वय र पहल गरिदिने लिखित प्रतिवद्धता जनाएपछि किसानहरुको आन्दोलन तत्काललाई स्थगित भएको हो।

उखु किसानहरुसँगको वार्तामा सरकारले आगामी माघ ७ गतेसम्ममा चिनी मिलहरुबाट करिब डेढ अर्ब वक्यौता रकम भुक्तानी गराइसक्ने लिखित प्रतिवद्धता उद्योगमन्त्री लेखराज भट्टले गरेका छन्। 

सरकारले पक्राउ गर्न खोजेपछि केही उद्योगीहरुले किसानको रकम भुक्तानी गर्न थालेका छन्। दुईवटा चिनी मिल मालिक राकेश अग्रवालले शुक्रबारै किसानको खातामा ५० लाख रुपैयाँ निकासा गरेको जनाएका छन्। 

सरकारसँग भएको वार्तापछि किसान संघर्ष समितिका सचिच हरिशरण रायले हस्ताक्षर गरेका छन्। सरकारकातर्फबाट उद्योग मन्त्रालयका सहसचिव दिनेश भट्टराईले हस्ताक्षर गरेका छन्। 

सहमति अनुसार नेपाल सरकारले तोकेको न्यूतनम् समर्थन मूल्यको सबै वक्यौता रकम  चिनी मिलहरुले माघ ७ गतेसम्म किसानलाई बुझाइसक्नुपर्ने छ। किसानहरुले अघि सारेको १२ बुँदे मागबारे विज्ञ, उद्योगी, किसानसहितको कार्यदलले निचोड निकाल्ने पनि सहमति भएको छ। 

वार्ताका क्रममा उद्योगमन्त्री लेखराज भट्टले सुगर मिलले दिनुपर्ने सबै रकम माघ ७ गतेभित्र उपलब्ध गराउने लिखित प्रतिवद्धता जनाएका छन्। तर उखु किसानहरुले भने यदि चिनी मिल मालिकहरुले भुक्तानी नदिएमा सरकारले अपनाउने विकल्पबारे प्रश्‍न गरेका छन्। 

उखु किसानहरुले आफूहरु ऋणमा डुबिसकेको बताउँदै चाँडो भन्दा चाँडो रकम भुक्तानी दिलाइदिन आग्रह गरेका थिए। किसानका तर्फबाट बोल्दै राकेश मिश्रले प्रधानमन्त्री राहत कोषबाट भए पनि भुक्तानी दिन आग्रह गरेका थिए।

वार्तामा बसेका एक किसानले बिलौना गर्दै मन्त्रीसँग बिन्ती नै गरेका थिए। 'बरु हामी बिहान-बेलुका उद्योग मन्त्रीको पूजा गर्छौँ', वार्तामा सहभागी एक किसानले भने, 'सक्नुहुन्छ भने प्रधानमन्त्री राहत कोषबाट रकम दिनुस्। हामीलाई अब नझुक्याउनुस्।'

उद्योग मन्त्रालयले उखु किसानहरुको एक अर्ब भन्दा धेरै रकम नतिर्ने सुगर मिल सञ्चालकलाई पक्राउ गरी बुझाइदिन गृहमन्त्रालयलाई यसअघि नै पत्राचार गरेको थियो। उद्योगको पत्रपछि गृहले प्रहरी प्रधान कार्यालय पत्र पठाउँदै उखु किसानको पैसा नतिर्नेहरुलाई पक्राउ गर्न निर्देशन दिएको थियो।

गृहले पक्राउ निर्देशन दिएपछि प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता वीरेन्द्र कनोडियासहितका सुगर मिल सञ्चालक निश्चित समय दिन भन्दै उद्योग मन्त्रालय पुगेका थिए। त्यहाँ पुगेका उनीहरुले एक सातादेखि १५ दिनसम्म उखु किसानको सबै रकम तिर्ने प्रतिवद्धता जनाएका थिए। 

शुक्रबारै करिब ५० करोड रुपैयाँ बक्यौता नतिरेको सर्लाहीको अन्‍नपूर्ण सुगर मिलले आज ५० लाख रकम उखुकिसानको खातामा हालिदिएको जनाएको छ। मिल सञ्चालक राकेश कुमार अग्रवालले माइतीघरमा आन्दोलनरत किसानलाई हिजो र आज गरेर ५० लाख रुपैयाँ उनीहरुको खातामा पठाइएको जानकारी दिएका थिए।

शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सञ्चालक अग्रवालले पुस २५ गतेभित्र ५ करोड रुपैयाँ किसानको खातामा पठाउने लिखित प्रतिबद्धता जनाएका थए। उनी इन्दिरा र अन्‍नपूर्ण सुगर मिलका मालिक हुन्। 

यस्तै उनले माघको पहिलो साताभित्र थप ७ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्ने र १८ गतेसम्म सबै रकम चुक्ता गर्ने प्रतिवद्धा अग्रवालले जनाएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव दिनेश भट्टराईले बताए।  उद्योग मन्त्रालयले पुस १३ गते गृह मन्त्रालयलाई उद्योगी पक्राउ गरेर सम्पर्कमा ल्याइदिन गरेको पत्राचारपछि अग्रवाल शुक्रवार मन्त्रालय आएर लिखित प्रतिबद्धता जनाएका हुन्।

गृह मन्त्रालयले पक्राउ निर्देशन दिएपछि प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता वीरेन्द्र कनोडियासहितका सुगर मिल सञ्चालक निश्चित समय दिन भन्दै उद्योग मन्त्रालय पुगेका थिए। त्यहाँ पुगेका उनीहरुले एक सातादेखि १५ दिनसम्म उखु किसानको सबै रकम तिर्ने प्रतिवद्धता जनाएका थिए। कनोडियाले उखु किसानको २१ करोड रुपैयाँ एकसातामा तिर्ने लिखित प्रतिवद्धता जनाएका थिए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.