|

  • अर्जुन आचार्य-

विराटनगर : मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले स्थानीय तहको निर्वाचन नगरी एकैपटक संसदीय निर्वाचन गर्नुपर्ने बताएका छन्।

विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ संरचना अनुसार स्थानीय तहको चुनाव गर्दा विवाद हुने र समय पनि कम रहेकाले एकै पटक संसदको चुनाव गर्नुपर्ने धारणा राखेका हुन्।

नयाँ संरचना (१६५ निर्वाचन क्षेत्र)मा संसदको चुनाव गराउँदा स्थानीय तह निर्धारण गरेजस्तो गाउँ नटुक्रिने र जिल्ला पनि नटुक्रिने भएकोले आयोग मार्फत तत्काल निर्वाचन क्षेत्रको पुनर्संरचना गरी संसदको निर्वाचन गर्नुपर्ने उनको भनाइ छ।

‘स्थानीय निर्वाचन गर्ने भए पुरानै संरचना अनुसार गर्दा मात्रै अब सम्भव हुन्छ,’ गच्छदारले भने, ‘तर नयाँ संरचना निर्माण गरेर संविधानले व्यवस्था गरेअनुसार २०७४ माघ ७ गतेभित्रै तीनै तहको निर्वाचन गर्न सकिने आधार समाप्त हुँदैछ।’

गच्छदारले पुनर्संरचना आयोगले तयार गरेको प्रतिवेदन अमान्य भएको भन्दै त्यसका आधारमा चुनाव हुन नसक्ने तर देशलाई जनप्रतिनिधि बिहीन हुनबाट जोगाउन संसदको निर्वाचन गर्ने पर्ने बाध्यात्मक अवस्था सिर्जना हुँदै गएको दाबी गरे।  

परिमार्जनसहित संविधान संशोधन

नेता गच्छदारले संविधान संसोधन विधेयक परिमार्जनसहित पारित हुनुपर्ने बताए। ‘झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरको समस्या समाधान हुने गरी प्रस्ताव परिमार्जन गर्न आवश्यक छ,’ उनले भने, ‘त्यसपछि मात्रै संविधान संशोधन पारित हुन्छ।’ प्रस्ताव पारित हुन नदिने एमालेको अडान र पारित गरेरै छोड्ने सत्तापक्षीय माओवादी केन्द्र र कांग्रेसको सोच अतिवादी भएको गच्छदारले दाबी गरे। त्यसखालको अतिवादी सोंचले पुनः ०७१ साल माघ ८ गते संसदमा भएको मुठभेट निम्तिन सक्ने गच्छदारको संकेत थियो।

सरकारमा जाने हल्ला मात्रै

फोरम लोकतान्त्रिक र राप्रपा नेपाल सरकारमा जाने हल्ला भइरहेका बेला गच्छदारले भने संविधान संशोधन विधेयक परिमार्जन सहित पारित हुने ठोस आधार नभई सरकारमा नजाने बताए।

आफूहरु सरकारमा जाने भन्नु हल्लामात्रै भएको बताउँदै उनले सरकारलाई समर्थन दिएको भएपनि मन्त्रीको रुपमा सरकारमा जाने विषयमा अहिले नसोचेको बताए। ‘संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुने निश्चित भएपछि मात्रै सरकारमा जाने विषयमा सोच्न सकिन्छ’ उनले भने।

वर्तमान शीर्ष नेताहरु असफल

अध्यक्ष गच्छदारले आफ्नो ४५/४६ वर्षे लामो राजनीतिक जीवनको अनुभवले वर्तमान तीन दलका शीर्ष नेता असफल हुँदै गएको दाबी गरे। ‘शीर्ष नेता तथा ठूला पार्टीले विशेष विशेष कालखण्डमा राजनीतिक उपलब्धी हासिल गर्न मुख्य भूमिका खेलेको सत्य हो,’ उनले भने, ‘तर, अहिलेको उपलब्धी गुम्न नदिन र समस्या समाधान गर्नका लागि दीर्घकालिन सोचका साथ अगाडि आउन नसकेको देख्छु।’

स्थानीय तहको निर्वाचन गर्ने कि प्रदेशको गर्ने कि संघीय संसदको गर्ने भन्ने विषयमा तीनै दल अन्यौलग्रस्त रहेको भन्दै गच्छदारले ठूला पार्टीको अन्यौलता र अदूरदर्शीताका कारण देशले दुःख पाइरहेको आरोप लगाए। अहिलेको समस्या समाधानको एकमात्र विकल्प तीनै पार्टीले सहमति गरेर मधेशी मोर्चालाई पनि साथै राखेर अघि बढ्नु रहेको गच्छदारको भनाइ छ।

सहमतिको बिन्दु ८ प्रदेश

अध्यक्ष गच्छदारले अहिलेको असहमति हल हुने एउटै विकल्प ८ प्रदेश रहेको बताए। ‘झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुर मिलाएर अर्को प्रदेश बनाउनुपर्छ,’ गच्छदारले भने ‘७ बाट ८ प्रदेश बनाउँदा आकाश खस्दैन।’ अहिले मधेशमा चलेको फ्रि मधेशको नारा निरुत्साहित गर्न सरकार असफल भएको भन्दै उनले राज्य विरुद्धको अपराध गर्ने छुट कसैलाई दिन नहुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • कुरो त सहि हो। तर प्रदेशको कुरामा चाहिं आठ होईन पाँच प्रदेश नै बनाउन सर्ब उत्तम होला र अर्को कुरा नेपालमा अहिले संघियता चाहिएकै छैन ा यदि नेपालमा संघियता भयो भने गरिबहरू अरु गरिब हुनेछन् ।